काठमाडौँ । सरकारले माघ १६ गते सहिद दिवसको अवसरमा बुधबार काठमाडौँमा विशेष समारोह आयोजना गर्ने निर्णय गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले शहीद सप्ताहको अन्तिम शहीद दिवस नेपाल सरकारको तर्फबाट विशेष समारोह आयोजना गरेर मनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
सहिद दिवसका दिन पहिला सहिदगेट पुगेर माल्यार्पण गर्ने र त्यसपछि लैनचोर गएर श्रद्धाञ्जली अर्पण गर्ने उनले बताए । श्रद्धाञ्जली अर्पणपछि काठमाडौँको भृकुटीमण्डप वा अन्य कुनै खाली ठाउँमा विशेष समारोहको आयोजना गरिने प्रवक्ता गुरुङले बताए ।
त्यस्तै बैठकले सरकारले ल्याएका अध्यादेश सदनमा पेस गरेर फास्ट ट्र्याकमार्फत नियमावली बनाएर कार्यान्वयनमा जाने निर्णय गरेको उनले बताए । सरकारले अध्यादेश ल्याउन पाउनु संवैधानिक अधिकार भएको भन्दै उनले सुशासन प्रवर्द्धन र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्नको लागि अध्यादेश ल्याएको स्पष्ट पारे ।
सरकारका प्रवक्ता गुरुङले विपक्षीले भनेजस्तो संसद् छल्ने बदनियत सरकारको नरहेको र सदनमा नै खुला रूपमा अध्यादेशका बारेमा छलफल हुने बताए ।
प्रतिक्रिया