• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    भारतीय विदेश सचिव काठमाडौँमा, को-कोसँग हुँदै छ भेटघाट ?

    766
    SHARES



    काठमाडौँ । भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने भ्रमणका क्रममा आइतवार काठमाडौँ आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले उनलाई स्वागत गरिन्।

    नेपालमा रहँदा उनले समकक्षी लम्सालसँग द्विपक्षीय हितबारे कुराकानी गर्ने बताइएको छ। लम्सालको निम्तोमा नेपालको शिष्टाचार भ्रमणमा आएका मिस्रीले यहाँका विशिष्ट व्यक्तिहरूसँग भेटघाट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    दुवै देशहरूले मिस्रीको भ्रमणलाई काठमाडौँ र दिल्लीबीच भइरहेका नियमित “उच्चस्तरीय भ्रमणहरूको सिलसिला” भनेका छन्। यद्यपि नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनको सरकार बनेपछि भारतबाट भएको पहिलो उच्चस्तरीय भ्रमण भएकाले यसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईका अनुसार यो शिष्टाचार भ्रमण भएकाले छलफलका लागि “कुनै विशेष विषयहरू” तोकिएका छैनन्। यद्यपि दुई परराष्ट्र सचिवहरूले नेपाल र भारतका आपसी हितका विविध विषयमा चर्चा गर्नेछन्।

    उनका अनुसार यो भ्रमणका क्रममा नेपाल तथा भारतका कुनै पनि संयुक्त समितिहरूका बैठक राखिएको छैन। “भारतमा नयाँ विदेश सचिव नियुक्त हुनु भएपछि छिमेकी मुलुकहरूको भ्रमण गर्ने प्रचलन छ सोही चलन अनुसार उहाँ नेपालको शिष्टाचार भ्रमणमा आउनु भएको हो,” उनले भने।

    मिस्री गत महिना मात्र भारतका विदेश सचिव नियुक्त भएका हुन्। काठमाडौँस्थित भारतीय दूतावासले यो भ्रमणलाई नियमित द्विपक्षीय भ्रमण भनेको छ। सामाजिक सञ्जाल एक्समा उसले लेखेको छ, “यो भ्रमण नियमित उच्चस्तरीय द्विपक्षीय आदानप्रदानको परम्परा अनुरुप रहेको छ र यसले भारतको’छिमेकी पहिलो’ नीतिप्रतिको प्रतिबद्धतालाई जोड दिएको छ।”

    को-कोसँग हुँदैछ भेटघाट ?

    नेपालमा राजदूत समेत रहिसकेका विनयमोहन क्वात्राले विदेश सचिवबाट अवकाश पाएपछि मिस्री उक्त पदमा आएका हुन्। विदेश सचिवका रूपमा पहिलो विदेश भ्रमण भुटानको गरेका उनले नेपाललाई त्यसपछिको आफ्नो विदेश भ्रमणको गन्तव्य बनाएका हुन्।

    भारतीय विदेश सचिवले नेपालमा रहँदा गर्ने उच्चस्तरीय भेटघाटहरूमा द्विपक्षीय हितबारे कुराकानी भने हुनेछ। परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री आरजु देउवालाई भेट्ने तय भइसकेको छ।

    भारतको विदेश मन्त्रालयले गत शुक्रवार जारी गरेको विज्ञप्तिमा पनि नेपालकी परराष्ट्र सचिव सेवा लम्सालको निम्तोमा उनी नेपाल भ्रमणमा आउन लागेको जनाइएको थियो। मन्त्रालयले यो भ्रमण दुई देशबीचको “नियमित उच्चस्तरीय भ्रमणको परम्परालाई निरन्तरता दिने” खालको भएको विज्ञप्तिमा उल्लेख गरेको छ।

    त्यस्तै भ्रमणले भारतको “छिमेकी पहिलो” नीतिअन्तर्गत उसले नेपालसँगको सम्बन्धलाई प्राथमिकता दिन्छ भन्ने कुरालाई पनि झल्काउँने उसले जनाएको छ। भारतीय विदेश मन्त्रालयका अनुसार नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध र सहकार्य पछिल्ला दिनहरूमा अझ सुदृढ भएको छ। उसले विदेश सचिवको यो भ्रमणले सम्बन्धलाई थप विस्तार गर्ने, ताजा बलियो बनाउने ठानेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया