काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनेअनुसार समाजवाद निर्माण गर्न सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । शनिबाार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन् ।
जमिन उत्पादनको साधनको सबैभन्दा मूल यन्त्र भएकाले राज्यले उक्त जमिन आफूसँग नलिइकन समाजवाद स्थापना गर्न नसकिने उनको भनाइ छ ।
‘कमसेकम कम्युनिष्ट पार्टीले हामी एकता गर्छौं भनेर आफ्नो प्रस्ताव राख्नुपर्यो । हामी एकता गर्छौं । नेपालमा कम्युनिष्ट क्रान्तिकारीहरुको बीचमा एकता हुनैपर्छ । त्यही कम्युनिष्ट पार्टीको घोषणापत्रमा भनेको छ । समाजवाद निर्माण गर्न सबैभन्दा पहिला जमिनलाई राष्ट्रियकरण गर’, नेता गौतमले भने, ‘राष्ट्रियकरण किन गर्ने भन्दा जमिन उत्पादनको साधनको सबैभन्दा मूल यन्त्र हो, मूल शक्ति हो, मूल उत्पादक साधक हो । त्यो शक्ति आफूसँग नलिइकन समाजवाद स्थापना गर्न सकिँदैन । फेरि पनि कम्युनिष्टहरु बीचको एकता हुनैपर्छ ।’
उनले कम्युनिष्टहरुको एकताको लागि आफू पुनः सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया