• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विचार-ब्लग

    यथास्थितिमा निर्वाचनको सपना नदेख

    4.3K
    SHARES

    ओली र प्रचण्डबिचको नाटकीय द्वन्द्व नाटकीय रूपमा केही मत्थर भएपछि नेपालको राजनीतिक बजारमा आगामी निर्वाचनको कुरा उठाउन थालिएको छ । कार्य र कारण जे भए पनि सामाजिक जीवनको एउटा तहबाट कथित संसदीय चुनावको पैरवी गरिदिएपछि मुख्य विषय विषयान्तरण हुनेछ नै । हामीले विगतको निर्वाचन नै नेपालको संसदीय व्यवस्थाको अन्तिम चरण भनिसकेका छौँ । परिस्थिति पनि सोही दिशाअनुकूल बन्दै गएको पनि छ । नेपालमा वैज्ञानिक समाजवादी व्यवस्था अपरिहार्य बनिसकेको हैन र ? अवैज्ञानिक, असफल, असान्दर्भिक तथा ब्रह्मलुटमा आधारित पुँजीवादी संसदीय व्यवस्था र यसका घटिया एवम् लाचार शासकलाई बल पुर्याउने गरी सोच्नु, बोल्नु, लेख्नु भनेको राष्ट्रघातीहरूलाई देशभक्तिको प्रमाणपत्र बाँड्ने प्रपञ्च मिलाइदिनु हो । के नेपालमा अब पनि राष्ट्रघातीहरूलाई देशभक्तिको प्रमाणपत्र बाँड्ने छुट दिन सकिन्छ ? के नेपालमा अब पनि दलालहरूलाई लुटको लाइसेन्स दिन सकिन्छ ? अहँ, हामी यो कुरा कल्पना पनि गर्न सक्तैनौँ ।

    अग्रज पत्रकार एवम् बुद्धिजीवी निमकान्त पाण्डेयले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “अबको चुनावमा काङ्ग्रेसको बहुमत पक्का ! काङ्ग्रेसले राम्रो काम गरेकाले हैन, डबल नेकपाको सरकारले राम्रा काम गर्न नसकेकाले हो !” सामाजिक सञ्जालमा प्रस्तुत पाण्डेयको स्टाटसमाथि विभिन्न प्रतिक्रिया आएका छन् । पत्रकार एवम् राजनीतिक विश्लेषक समीर यात्रीले टिप्पणी गर्नुभएको छ, “अबको संसदीय चुनावमा पार्टी नामका बुख्याँचाहरूको कङ्काल मात्र बाँकी रहनेछ । तिनको जीवन (विचार, सिद्धान्त र राजनीतिक मूल्य) माफियाकरण र दलालीकरणको दलदलमा भासिएर समाप्त भइसकेको हुनेछ । तिनै कङ्कालको छहारीमा भ्रष्ट, दलाल, माफिया, ठेकेदार र तस्करहरूको रजगज चल्नेछ । चुनावी टिकटको बजार लाग्नेछ । त्यस्तो बजारबाट टिकट खरिद गर्नेहरूले नै उम्मेद्वार बन्ने हैसियत राख्नेछन् ।

    अनि भोट किनबेचको अर्को हाटबजार चल्नेछ । केही निश्चित पात्रहरू भने विदेशी शक्तिकेन्द्रको कोटामा पारिएर सुरक्षित निर्वाचित हुनेछन् । अब भन्नुस् कि यस्तो अवस्थाबाट जुनसुकै नामको दल चुनाव जितेर आए पनि फरक के भयो र ?” राजनीतिकर्मी एवम् सांस्कृतिक चिन्तक नारायण शर्माले पनि यसमाथि यस्तो टिप्पणी गर्नुभएको छ, “राम्रो काम गर्न नसकेकाले पनि अलि होइन कि ? चाहेको भए सक्थ्यो ! रामो नगरेर वा गर्न नचाहेर हो ! अझै स्पष्ट भन्ने हो भने नराम्रो गरेकाले हो ! कमसेकम राम्रो नगरे पनि नराम्रो अर्थात् भ्रष्टाचार मात्र पनि नगरेको भए पनि काङ्ग्रेसलाई त्यस्तो स्थिति आउने थिएन !”

    नेपाली काङ्ग्रेस महाधिवेशनको तयारीसँगै आगामी निर्वाचन र त्यसपछिको शक्तिसन्तुलन अनि नेताहरूको व्यवस्थापनबारे छलफलमा लागिसकेको बताइन्छ । उसले राष्ट्रपति को हुने, पार्टी सभापति को हुने, प्रधामन्त्री को हुने जस्ता कुरालाई सार्वजनिक बहसमा ल्याइसकेको छ । त्यसैगरी, जनता समाजवादी पार्टीले पनि एकताको प्रक्रियालाई टुङ्ग्याउँदै पार्टीको आन्तरिक जीवनलाई सदृढ बनाउँदै आगामी निर्वाचनमा लागको सङ्केत गरेको छ । उसले यही कुरालाई अब नेपालको वैकल्पिक राजनीतिक पार्टी हुने दाबी गरिरहेको छ । त्यस्तै, विवेकशील र साझा पार्टीहरूको एकताको चर्चालाई उनीहरू आगामी निर्वाचनमा केन्द्रित गर्न थालेको अर्थमा लिन सकिन्छ ।

    पञ्च पार्टी राप्रपाहरूको एकता प्रक्रियालाई पनि यही पृष्ठभूमिमा हुेर्नुपर्दछ । केही स–साना कम्युनिस्टलगायत अन्य पार्टीहरू पनि यो दौडमा हात खुट्टामा घिउतेल दल्न थालेका छन् । यी संसदीय पार्टी र तिनका नेताहरूमा नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक समस्या समाधानबारे कुनै चिन्ता देखिँदैन । उनीहरू नेपाल र नेपाली जनताको आधारभूत समस्याको समाधान गर्ने कुरामा बिल्कुल बेमतलवी बनेका छन् । नेपालका संसदीय शिविरका राजनीतिक दलहरूले यसरी आफूलाई देश र जनतका विरुद्ध आगामी संसदीय निर्वाचनको लागि केन्द्रित हुँदै गएको देखिन्छ । यो गम्भीर र आपत्तिजनक विषय हो ।

    डबल नेकपाको नेतृत्वमा रहेको सरकारको असफलता र पार्टीको लाचारीका कारण देश तीव्र रूपमा अधोगतिमा छ । ओली नेतृत्वको सरकारले आधाआधी समय पनि गुजारिसकेको छ । उसले अब आगामी निर्वाचनतर्फ आँखा लगाउन थालिसकेको छ । स्रोतका अनुसार उसले चैतमा महाधिवेशन गरेर आगामी निर्वाचनमा होमिने कार्ययोजना बनाउँदै छ । संसदीय धारका सबै पार्टी बुर्जुवा र पुँजीवादी हुन् र यिनको दार्शनिक भूमि एउटै हो । यिनीहरूमध्ये एउटाको ठाउँमा अर्को कुनै एक आउँदैमै नेपालको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक जीवनको अन्तरवस्तुमा कुनै फरक पर्दैन । तर कुरा यिनको होइन, यिनीहरूको मात्र पनि होइन । प्रश्न त यो लुट र शोषणमा आधारित संसदीय व्यवस्था जोगाइराख्ने कि त्यसको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने भन्ने हो । नेपालमा अब चुनाव सुनावको कुरा हैन, संसदीय व्यवस्थालार्ई चिहानमा गाड्ने कुरा हो । त्यसैको चिहानबाट वैज्ञानिक समाजवादी व्यवस्थाको फूल फुलाउने कुरा हो । संसदीय व्यवस्थाको ध्वस्त र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्ने क्रान्तिकारी कम्युनिस्टहरूको मूल कार्यभार हुन्छ । अब हाम्रो विशेष जोड यही दिशातिर हुनुपर्दछ ।

    पुँजीवादी पार्टी र कम्युनिस्ट पार्टीका बिच आकाश जमिनको फरक हुन्छ तर नेपालमा सोलोडोलो देखिन्छ । सुनिन्छ– नेपालका सबै पार्टी एकै ड्याङका मुला हुन् । यो टिप्पणीमा गहिरो मर्म लुकेको छ । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालले नेपाली कम्युनिस्ट आन्दोलनलाई एउटा विचार प्रणालीमा सङ्गठित गर्नुभएको थियो । उहाँले नेताको जादुगरीमा होइन, सामाजिक विकासको वास्तविकता सुहाउँदो नीतिको जीवनभर लडाइँ र वकालत गरिरहनुभयो । त्यसैको शृङ्खलामा जनयुद्धले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ र शीर्ष उचाइमा पु¥याइदियो । कम्युनिस्ट पार्टीमा नीति प्रधान हुन्छ, यसको सङ्गठन सामाजिक रूपान्तरणको मिसनप्रतिको निष्ठाले बन्दछ । कम्युनिस्ट पार्टी र उसको नेतृत्वमा हुने आन्दोलन भनेको दुर्बल शिरहरूलाई उँचो पार्ने अभियान पनि हो । सच्चा कम्युनिस्टहरूले समाजलाई कागती निचोरेझैँ निचोरेर खडा गरेको वैभवलाई तिरस्कार गर्नुपर्दछ । दलाल संसदीय व्यवस्था भनेको समाजलाई कागती निचोरेजस्तै निचोरेर वैयक्तिक वैभव थुपार्ने व्यवस्था हो । यस्तो क्रूर व्यवस्थाको साछी कम्युनिस्टहरू बन्नै सक्तैनन् । हामीले यस्तो क्रूकर्मी व्यवस्थाअन्तर्गत हुने निर्वाचनको कल्पना पनि गर्दैैनौँ ।

    संसदीय व्यवस्थाको मुख्य सार भनेको जनतालाई रित्याउनु र कम्युनिस्ट सिध्याउनु हो । गज्जब त के छ भने आफूलाई नै सिध्याउने व्यवस्थाका मतियार बनिरहेका छन् नेपालका केही कम्युनिस्ट पार्टीहरू । नेपालमा अनेक तवरबाट मालेमावादको गला रेट्ने कोसिस भइरहेको छ । नेपालमा प्रतिक्रियावादी र दुराग्रही तत्वका लामा लामा हात राजनीतिक, सामाजिक, वैचारिक तथा सांस्कृतिक क्षेत्रका कुना–कुनामा पुगेका छन् । संसदीय व्यवस्था मूर्दाघरमा परिणत भइसकेको यतिबेला फुटेको हाँडी, सुकेको रूख, चकनाचुर भएको सिसा जोड्न खोजेजस्तै नेपालका केही कम्युनिस्ट नाम गरेका पार्टीहरू त्यतापट्टि जोडबल लगाउँछन् । आज बुर्जुवाहरूले थोपरेको कम्युनिस्टमाथिको तमाम आरोप व्यवहारतः खारेज भइसकेको छ । खसोखास भन्ने हो भने कम्युनिस्ट आडभरोसामा आजको पुँजीवाद बाँचिरहेको छ । आफूभित्रको श्रेष्ठतालाई कम्युनिस्टहरूले आत्मसात् गर्न सकिरहेका छैनन् । आफ्नो शरीरमा रहेको वासना खोज्न दौडिरहेको कस्तुरीजस्ता भएका छन् नेपालका कम्युनिस्टहरू । त्यसकारण, कम्युनिस्टहरू संसदीय व्यवस्थाको खारेजीको अभियानमा लाग्नुपर्दछ । यो अभियानलाई कथित आगामी निर्वाचनविरुद्ध सङ्केन्द्रित गर्नुपर्दछ ।

    नेपालमा एकीकृत जनक्रान्ति अघि बढेपछि दलाल पुँजीवादीहरू छटपटाउन थालेका छन् । आज दलाल संसदीय व्यवस्थाका विरुद्ध युगका अग्निधर्मीहरू उठ्दै छन् । महान् आन्दोलन भनेको बहुलेखन परम्पराजस्तो पनि लाग्दछ मलाई । केही मान्छे नेपाली मौलिकताको कुरा गरिरहेका हुन्छन्, तर मौलिकताका पनि सीमा छन् । क्रान्ति र प्रतिक्रान्तिको मौलिकता पनि फरक फरक हुन्छ । रुस, चीन र नेपालको क्रान्ति र प्रतिक्रान्ति फरक फरक मौलिकतामा आधारित थिए । बिरालोले नुन चाटेजस्तो राजनीतिले कोही कसैलाई पनि हित गर्दैन । सत्ताको तावेदारी गर्नेहरूले क्रान्तिको र क्रान्तिकारीहरूको सही सम्मान गर्न सक्तैनन् ।

    क्रान्ति भनेको मुक्त मानव र मुक्त समाजको खोजी गर्ने अभियान हो । यो मुक्त मानव र मुक्त समाजको खोजीको अभियानमा विश्वमा ठुला–ठुला दार्शनिक भिडन्त हुँदै आएको छ, ठुला–ठुला वर्गसङ्घर्ष हुँदै आएका छन् । आदर्शवादसित भौतिकवादले लामो समयदेखि कडा सङ्घर्ष गर्दै आएको छ । सौन्दार्यात्मक चेतना दार्शनिकी कुरा हो । दर्शन नबुझेका मान्छेले सुन्दरताको अर्थ नै बुझ्दैन । हामीले ‘नेपालमा मााक्र्सवादी सौन्दर्यात्मक सेनाको आवश्यकता छ’ यसै भनेका होइनौँ, जसबाट सांस्कृतिक क्षेत्रका कमरेडहरूको मन–मस्तिष्कमा साम्यवादी फूल फुलोस् ।

    संसदीय व्यवस्थाले पूर्ण जीवन दिनै सक्तैन । माक्र्सले पूर्ण जीवन अर्थात् पूर्ण मुक्त जीवनको परिकल्पना गर्नुभएको थियो । मुक्त जीवन सौन्दर्यात्मक चेतना र वर्गीय सम्बन्धमा आधारित हुन्छ । अहिले जनयुद्धकालीन सौन्दर्य र सम्बन्धहरूमा व्यापक फेरबदल आएको छ । वर्गीय सम्बन्धहरू अहिले विशेष सम्बन्धमा फेरिएका छन् । माओवादी राजनीतिमा नमिठा नमिठा कुराहरू सार्वजनिक भइरहेका छन् । माओवादी नेता लोकेन्द्र बिस्ट मगरले ‘मेरो आदर्श स्खलित भएको दिन’ शीर्षकमा आफ्नो अनुभूति सामाजिक सञ्जालमा राख्नुभएको छ– ‘एक दिन पोखरा विमानस्थलमा क.प्रचण्ड र क.बाबुरामसँग थिएँ म भीआईपी कक्षमा । मैले लगाएको पुरानो थोत्रो जकेटले उहाँहरूलाई लज्जाबोध भएछ क्यारे ! मुन्टो निहु¥याएर कुरा गर्नु भो ! मैले सुनिरहेँ ! म अलि पर थिएँ । सारमा ‘लगाउन, खान र चल्न नजान्ने’ भनेर मेरो चर्को आलोचना भयो । मैले नसुनेझैँ गरेर सुनिरहेँ कान थापेर । मलाई नमीठो लाग्यो ! आफूसँग पैसा पनि थिएन । भर्खरजसो शान्ति प्रक्रियामा आएको थियो पार्टी । त्यस्तै तीन वर्ष जति भएको हुँदो हो । ‘आर्थिक मितव्ययिता, सादा जीवन उच्च विचार, कडा परिश्रम …’ हाम्रा आदर्श थिए । पार्टीको आदर्श र नीतिभन्दा बाहिर जानु मर्नुजस्तो लाग्थ्यो । आफ्नो आदर्श नेतृत्वले आदर्शकै खिलाफ खिसिटिउरी गरेको सुनेर–भोगेर भनन … चक्कर लाग्यो ! तर, सम्हालिएर बसेँ र अडिएँ । यस्ता चक्कर र घनचक्करहरू दर्जनौँ भोगियो, अनि लाग्यो मेरो पार्टी र आदर्श त उहिल्यै सकिएछ ! म उल्लु रहेछु, धत् मोरा भनेर आफैँलाई बेस्सरी सरापेर स्वेच्छिक अवकास लिएँ ।’

    यतिबेला नेपालमा डबल नेकपाले सामाजिक फासिवादी शासन लादिरहेको छ । बाहिरबाट देख्दा यो पार्टी धेरै पार्टी सदस्य भएको र सबैतिर सङ्गठनात्मक सञ्जाल भएको जस्तो पनि देखिन्छ तर उसको वास्तविक आन्तरिक अवस्था अर्कै छ । यो सैद्धान्तिक रूपमा च्यु्त भइसकेको, वैचारिक रूपमा स्लखित भइसकेको र राजनीतिक रूपमाा टाट पल्टिसकेको पार्टी हो । डबल नेकपा जलकुम्भीजस्तो भइसकेको छ, यो पिँध नभएको लोटाजस्तो भएको छ । हाम्रो भनाइ त के पनि छ भने डबल नेकपाभित्रका इमानदार तथा क्रान्तिकारी पङ्क्तिले अब संसदीय व्यवस्थाको अन्त्यका लागि सघाउनुपर्दछ, उनीहरू दलाल संसदीय व्यवस्थाको निर्वाचनमा बाँडिने मासु र पैसामा बिकेर देश र जनताका विरुद्ध लाग्नुहुँदैन । इतिहासको यस घडीमा सबैले साथ दिने हो नेपालमा आमूल परिवर्तनको परिस्थिति सर्वथा अनुकूल बन्दै गएको छ । जरासन्धजस्तो डबल नेकपाको सारा चरित्र छ्याङ्छ्याक्ति छ । महाभारतमा जरासन्धको शरीरलाई च्यातेर विपरीत दिशातिर फ्याँकेर उसको अन्त्य गरिदिएझैँ नेपाली जनताले माथिदेखि तलसम्म च्यातेर डबल नेकपाको राजनीतिक जीवनको अन्त्य गरिदिने समय नजिँदै छ । आफ्नै जीवनको अन्त्य गरिदिने व्यवस्थाको रक्षार्थ डबल नेकपाका नेता–कार्यकर्ताले महिरहत्ते गर्नुहुँदैन ।

    हाम्रो भनाइ त के छ भने एकपल्ट सबैले हाम्रो वैज्ञानिक समाजवादी अभियानलाई साथ दिनुपर्दछ । समकालीन नेपाली राजनीतिमा क्रियाशील नेता तथा राजनीतिक दलहरूले देश र जनतालाई केही पनि नयाँ कुरा दिनेवाला छैन, केवल एकाध मान्छेलाई जागिर र ढुकुटीको दोहनबाहेक । भ्रष्टचारीलाई भोट हालेर जिताउने अनि सडकमा ‘भ्रष्टाचारी मुर्दावाद’ को नारा लगाउनुको के अर्थ ! संसदीय व्यवस्था ‘विडो स्पाइडर’ को जीवनचक्रसित मेल खान्छ । विषालु ‘विडो स्पाइडर’ नामक प्रजातिको पोथी माकुराले भाले माकुराको जैविक प्रक्रियाको क्रममै टाउको खाइदिन्छे । भाले माकुराले थाहा नै नपाईकन क्षणिक स्वार्थको लोभमा उसले आफ्नो जीवन गुमाइसकेको हुन्छ । संसदीय व्यवस्था उही जातको पोथी माकुरा र राजनीतिक दल उही भाले माकुराजस्तै लाग्दछ मलाई, सर्वस्व गुमिसक्दा पनि आफ्नो पद–प्रतिष्ठाकै चाह भइराख्ने ! नेपालका संसदीय राजनीतिक दलहरूले आफ्ना टाउको गुमाइसकेका छन् ।

    केपी ओली अन्टसन्टका महारथि हुन् । उनी कहिले राष्ट्रघाती महाकाली सन्धिको पैरवी गर्छन् भने कहिले कोरोनाको अफवाह फैलाउँछन् । उनी एकातिर भक्तहरूलाई कमाउमौजा बेलगाम सुम्पिन्छन् भने अर्कोतिर कम्युनिस्ट जीवन, विचार, सिद्धान्त र दर्शनलाई धुजाधुजा पार्दछन् । उनी भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादका अभियन्ता बनिरहेछन् । संसदीय व्यवस्थाले कम्युनिस्टलाई कस्तो हालतमा पु¥याउँछ भन्ने कुरा ओली मण्डलीलाई हेरे पुग्छ । कोरोना कहरले विश्वजीवनमा सङ्कट मात्र ल्याएको छैन, नयाँ सम्भावना पनि ल्याएको छ । विश्वमा समकालीन राजनीतिक व्यवस्थाको विकल्प खोज्न सुरु भइसक्यो । त्यो विकल्प भनेको वैज्ञानिक समाजवादी व्यवस्था मात्र हो । वैज्ञानिक समाजवादले मात्र समकालीन विश्व–राजनीतिको समाधान दिन सक्दछ । दलाल संसदीय व्यवस्थाको विकल्पमा दलाल संसदीय व्यवस्था, ओलीको विकल्पमा ओली, प्रचण्डको विकल्पमा प्रचण्ड, देउवाको विकल्पमा देउवा हुनै सक्तैन । पुँजीवादको विकल्पमा पुँजीवाद खोज्नु सर्वथा विज्ञानविरोधी कुरा हो ! पुरातन विचार, पुरातन व्यवस्था र पुरातन नेतृत्वका विकल्पमा नूतन विचार, नूतन व्यवस्था र नूतन नेतृत्व मात्र हुन सक्तछ । त्यसैले आउनुस् समवेत स्वरमा भनौँ– यथास्थितिमा संसदीय निर्वाचनको सपना नदेख !

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ