काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालैको हिंसात्मक घटनाबारे सत्यतथ्य छानबिनको माग गरेका छन् ।
शनिबार भक्तपुरको गुन्डुमा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष अोलीले सो माग गरेका हुन् । ओलीले गोलीकाण्ड र त्यसपछिको घटनाक्रमबारे व्यक्त गरिएका चिन्ता र सरकारप्रति उठेका प्रश्नका सबालमा समेत प्रस्ट पारेका छन् ।
उनले भने– ‘ सुरुमा गोली कसरी चलेको हो भनी मैले स्वयं सोधखोज गरेको छु, पछि थाहा पाएँ १४ जनाको मृत्यु भएको छ । टाउकोमा गोली लागेको भन्ने जानकारी पनि आएको छ । यो कसरी भयो चिन्ता व्यक्त गरेको छु, त्यसबारेमा बुझ्न लगाएको छु ।’
उनले अगाडि भने– ‘म यो घटनापछि अत्यन्त दुःखी छु र ‘यो कसरी भयो’ भनी छानबिन गर्न पनि भनेको थिए ।’ अध्यक्ष ओलीले घटनाको सत्य तथ्य पत्ता लगाउन छुट्टै आयोग निर्माण गर्न पनि आफूले भनेको बताए । तर भोलिपल्ट आफ्नो हातमा केही नरहेको थाहा पाएर राजीनामा दिएको समेत उनले बताए ।
अध्यक्ष ओलीले आफूमाथि केही व्यक्तिले विभिन्न आरोप लगाएको टिप्पणी गर्दै जेनजी पुस्ताले उठाएको सुशासन र भ्रष्टाचारको विषयलाई गम्भीरतापूर्वक लिएको बताए ।
उनले त्यसको समाधान गर्नतिर लागेको तर त्यो दिन गर्न नपाएको भन्दै चिन्ता जाहेर गरे । उनले भने– ‘ममाथि आरोप लगाए भन्ने कुरा आयो, म ती आरोपप्रति जवाफदेही हुनेछु, तर देशमा शान्ति र सामाजिक मर्यादा कायम हुनु आवश्यक छ ।’
उनले समाजमा हतियारको स्थिति अन्त गर्न र शान्तिको सुनिश्चित गर्न पनि जोड दिए । उनले भने– ‘प्रहरीको हातबाट हतियार जसले खोसेको हो त्यसले तत्काल फिर्ता गरी दिनुपर्छ, ताकि समाजमा थिति बसोस् ।’
प्रतिक्रिया