काठमाडौं। बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बराहमा शुक्रबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार इम्बोस्ड नम्बर प्लेट एएए २०७० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा धनुषाधाम नगरपालिका–९ का ३९ वर्षीय लोबसाङ होइदेनको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका होइदेनलाई उद्धार गरी उपचारका लागि सुनकोशी सामुदायिक अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा आज बिहान साढे ६ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सिन्धुलीबाट काठमाडौंतर्फ आउँदै गरेको मोटरसाइकल सडकको डिभाइडरमा ठोक्किएर करिब १५ फिट तल भिरमा खसेको थियो। इलाका प्रहरी कार्यालय खुर्कोटको टोलीले उनलाई उद्धार गरी तत्काल अस्पताल पुर्याएको थियो।
प्रतिक्रिया