• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तर्वार्ता

    जेलभित्रबाट माइला लामाको अन्तर्वार्ता- आदर्शको शिखरबाट रछ्यानमा झरेकाहरूकाे बहादुरी के काम ?

    4.8K
    SHARES

    नेपालको परिवर्तनकारी आन्दोलनबाट स्थापित जनवादी गायक, संगीतकार तथा साहित्यकार माइला लामा आफैले लडेर ल्याएको गणतान्त्रिक सरकारको आदेशमा लामो समयदेखि जेलमा छन् ।

    लामालाई उनि आफैले रगत बगाएर निर्माण गरेको संविधानले दिएको कानुनी अधिकार प्रयोग गरेर सत्ताको बिपरित वा फरक विचार राखेकै आरोपमा प्रहरीले गिरफ्तार गरेर झुटा मुद्दा लगाई देशका विभिन्न जिल्लामा डुलाउदै प्रहरी हिरासतमा राख्ने गरेको थियो । जनयुद्धमा घाइते लामा बिरामी अबस्थामा जेलमै रहेका छन् । हाल पनि जेलमै रहेका लामासँग हामीले समसामयिक बिषयमा कुराकानी गरेका छौ ।

    राष्ट्रको पुँजीको सङ्ज्ञाबाट विभूषित कलाकार, त्यसमध्ये पनि तपाई त झन् जनकलाकार, गिरफ्तारीमा किन पर्नुभयो ?

    कलाकारलाई विशिष्ट र विभिन्न सङ्ज्ञाबाट विभूषित÷आभूषित गर्ने भनेको सबैले देखाएको र दुनियाँको आँखामा छारो हाल्ने कुरा हुन् भन्ने कुरा कला–साहित्यको क्षेत्रबाट आजीवन देश, जनता र पुरानै अवस्थाको सेवा गरेका सर्जकहरूको वृद्धवृद्धाहरूको कारुणिक मरणले पुष्टि गर्छ । जहाँसम्म मेरो गिरफ्तारीको कुरा छ, यसबारे मेरो पछिल्लो गीतका यी हरफहरूबाट प्रस्ट्याउनु नै सान्दर्भिक ठानेँ मैले ।
    फलामे ढोका पर्खालभित्र, साथी म बन्दी छु
    न्यायको गीत गाउँदै हिँड्दा, साथी म बन्दी छु… ।

    यहाँ अखिल नेपाल जनसांस्कृतिक महासंघको अध्यक्ष पनि हुनुहुन्छ । महासङ्घका त्यस्ता के कार्यक्रम थिए त्यतिबेला, जसले गर्दा तपाईंसित सरकार यति धेरै अत्तालियो ?

    समाज विज्ञानको मेरो अध्ययनमा शासकहरू जहिले पनि सत्यदेखि डराउँछन् । उज्यालोसँग भयभित हुन्छन् र न्यायसँग अत्तालिन्छन् । आज राष्ट्रको बर्बादी र जनताको बेहाल हामी सबैको आँखासामुन्ने छर्लङ्गै छ । म त्यही सत्य गाउने, न्याय बताउने अभियानमा थिएँ । यहाँबाट अँध्याराका हिमायतीहरू हतोत्साही भए र मलाई नेल, हत्कडीमा कैद गर्न पुगे ।

    सँगै दशवर्ष युद्ध लडेका, कुनै समयका आफ्नै नेता रही हाल गृहमन्त्री रहेका बेला गिरफ्तारीमा पर्नुभयो । अहिले जेल यातना भोगिरहनुभएको छ । यस परिघटनालाई कसरी लिनुभएको छ ?

    जब नायक मानिएका र सहयोद्धा रहेकाहरू सहिदको रगत बेचेर खाने पतनको पराकाष्ठामा पुग्छन्, क्रान्तिको कला रेट्ने प्रतिक्रान्तिका मतियार र गद्दार बन्छन् । इतिहासले यस्ता भद्दा र अँध्यारा परिघटनाको सामना बारम्बार गर्नुपर्दो रहेछ । मान्छे को थियो र छ भन्ने कुरासँग हैन, विचारबाट स्खलित पुँजीवादको स्वार्थी नालीमा मुन्टो गाड्न पुगेपछि यस्ता घटना अस्वाभाविक नहुँदा रहेछन् । आदर्शको शिखरबाट रछ्यानमा झरेकाहरूले गर्न सक्ने बहादुरी काम नै देश र जनताका सेवकहरूलाई सताउने र सिध्याउने त हो । दुनियाँमा यस्ता कैयाँै दृष्टान्तहरू हेर्न, पढ्न सक्छौँ हामी  ।

    भनिन्छ, जेल क्रान्तिकारीका लागि पाठशाला हो । तपाईंको हकमा त्यो भनाइ लागु हुन्छ ?

    मलाई जेल पाठशाला भन्ने भनाइ नै गलत लाग्छ । जेलमा सिक्न, अनुशरण गर्नलायक त्यस्तो के हुन्छ र यसलाई शिक्षालय भन्ने ? यहाँबाट अवश्य पनि वर्गबैरीप्रतिको घृणा र आफ्नो लक्ष्यप्रतिको अठोट भने उचाइमा उठ्छ । जेलमा जीवनका विगतको समीक्षा गर्ने फुर्सद हुन्छ र गहिरो गरी आफ्नो ज्ञान भण्डार विस्तार गर्ने अर्थात् सैद्धान्तिक अध्ययन गर्ने मौका हुन्छ ।

    किन लेख्नुहुन्छ गीत ? कस्तो अवस्थामा गीत लेख्नुहुन्छ ?

    म क्रान्तिको सेवा गर्न, मानवजातिको मुक्तिका लागि गीतहरू लेख्छु । किनकि, गीतमा संसार बदल्ने अदम्य साहस हुन्छ । त्यसैले शासकहरू गीतसँग डराउँछन् । म प्रायः तीव्र अनुभूतिको घनीभूत परिवेशमा गीत लेख्छु । कतिपय अवस्थामा आन्दोलन र परिस्थितिको माग पूरा गर्न पनि लेख्छु । तर, प्रायः जब मनको भित्रीपत्रमा ऊर्जाले सकसकाउँछ, पीडाले घोच्छ वा प्रतिरोधको तिखोपनाले घोच्छ, अनि जन्मिन्छ गीत ।

    गीतबाहेक अरू कुन कुन विधामा क्रियाशील हुनुहुन्छ ?

    म आफूलाई गीतकार, गायकभन्दा सङ्गीतकारको रूपमा बढी बुझ्छु र त्यसमा खुसी पनि छु । किनकि, मैले सङ्गीत गरेका गीतहरू आन्दोलनकारी कार्यकता, जनताले औधी मन पराइदिनुभयो । गीतबाहेक संस्मरण, निबन्ध पनि लेख्छु र कवितामा पनि कलम चलाउँदै छु । राजनीति त छँदै छ ।

    जेलको दैनिकी कसरी बितिरहेको छ ?

    पहिलो त यति छिट्टै जेल आइन्छ भन्ने लागेकै थिएन । यहाँको समय बिहान एक घन्टा शारीरिक व्यायाम । दूरदर्शनबाट खबरहरू सुन्ने, हेर्ने । दैनिक अबवार पढ्ने । सङ्गीत साधना गर्ने, गीत लेख्ने, सङ्गीत गर्ने । दैनिक चार–पाँच घन्टा दार्शनिक र सैद्धान्तिक पुस्तकहरू पढ्ने । अनि, आजभोलि चिसो बढेको छ । मौसमले साथ दिए ग्राउन्डमा घाम ताप्ने । अन्य बन्दीका पीडा र कथाव्यथा सुन्ने । जेलमा खुब फुर्सद हुन्छ भन्थे, समय नपुग्दो रहेछ । ‘जीवन झोलामा’ गीतिपुस्तक भर्खरै प्रकाशित भएको छ ।

    जेलभित्रको वातावरण कस्तो छ ? जेलसुधारका लागि के के गरिनुपर्दछ भन्ने लाग्छ ?

    वर्तमान सरकारले सिङ्गै मुलुकलाई जेलमा परिणत गरेको समयमा जेलभित्रको वातावरणबारे के भनौँ तपाईंलाई ? जेल हो, जेलजस्तै छ । नेपालको वर्तमान दलाल चरित्रको राज्यव्यवस्थाजस्तो छ, जेल पनि त्यस्तै छ । जहाँसम्म सुधारका कुरा छन्, मातृभूमिको अस्मिता छिमेकीले दिनदहाडै लुट्दा त नछोएको वर्तमान सरकारले जेलमा के सुधार गर्छ ? मलाई विश्वास छैन । तर राज्य साँच्चै जेलमा सुधार गर्न चाहन्छ भने मेरो कुरा के छ भने बिरामीलाई छाडेर नेपालको कारागारमा रहेका २४ हजारभन्दा बढी बन्दीलाई राज्यले विकास, निर्माणको काममा लगाउने हो भने जेलसुधारमा युगान्तकारी कदम हुन्छ । कैदीबन्दीलाई किन ज्वाइँ पालेझैँ पालेर राज्यलाई आर्थिक बोझ लिने ? साँच्चै जनताको सेवा गर्ने मानवसभ्यताको संस्कृति खडा गर्ने हो भने जेल नै चाहिँदैन, सुधारको त चिन्तै हुँदैन ।

    अहिलेसम्म तपाईलाई जेलमा भेट्न को को आउनुभयो ? उहाँहरूको तपाईको गिरफ्तारी र जेलबसाइप्रतिको प्रतिक्रिया कस्तो थियो ?

    भेटघाटमा त धेरै आउनुभयो । सबैको नाम उल्लेख गर्न गाह्रो छ । सबैले हौसला, ऐक्यबद्धता र साहस नै भर्नुभयो । प्रायः सबैले राज्यको यो कदमको भत्र्सना र प्रतिवाद नै गर्नुभयो । उहाँहरूमध्ये वरिष्ठ जनवादी गायक जेबी टुहुरे, जनवादी कला सङ्गीतका अथक यात्री जीवन शर्मा, जनकलाकारहरू प्रदीप देवान, लक्ष्मी गुरुङ, विद्रोही, प्रगति, प्रगतिवादी साहित्यकार मित्रलाल पङ्गेनी, कोरियाका पूर्व राजदूत कमानसिंह लामा, मानवअधिकारवादी सङ्गठनका विष्णु दाहाललगायत धेरै आउनुभयो । उहाँहरूले माया, प्रेम र प्रेरणा छाडेर जानुभयो । पछि वर्तमान सरकार भेट्न आउनेसँग आतङ्कित भयो र श्रीमतीबाहेक अरू कसैलाई भेट्न नदिने कुख्यात कदम चालियो । विभिन्न राजनीतिक पार्टी समर्थक, शुभचिन्तक, आफन्त सयौँजना जेलको मूलगेटबाट फर्किनुभयो । कतिपय पूर्व माओवादी, एमाले, नेपाली काङ्ग्रेसका साथीहरू पनि आउनुभएको थियो ।

    नेपाली क्रान्तिकारी साहित्य तथा कलाको वर्तमान अवस्थालाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

    सारमा नेपालको क्रान्तिकारी साहित्य र कलाको क्षेत्र उर्बर र हराभरा छ । तर, राज्यको फासिवादी चरित्र र बेजोडले बहेको दक्षिणपन्थी हावाका कारण यो क्षेत्र जति सशक्त प्रभावी हुनुपर्ने हो, त्यो हुन सकेको छैन । यो नेपाली श्रमजीवी र आन्दोलनकारी समुदायका लागि दुःखद् कुरा हो । तर, आशा र विश्वास छ, एक समय यो यसरी झाङ्गिनेछ, यसको सामुन्ने अरू सबै कमजोर र अर्थहीन हुनेछन् ।

    क्रान्तिकारी साहित्यिक–सांस्कृतिक आन्दोलनको हालका समस्याहरू के कस्ता छन् ?

    कुनै पनि साहित्यिक–सांस्कृतिक आन्दोलनको उभारको निम्ति क्रान्तिकारी राजनीतिक आन्दोलनमा उभार हुनुपर्छ । नेपालको वर्तमान समयको मूल समस्या नै यही हो । साझा विद्रोह र जनयुद्ध र वर्तमान यात्रासम्मका धुरन्धर क्रान्तिकारी महाशयहरू यसरी विचलित भएको, दलाल पुँजीवादी राजनीतिक सत्ताको फेर समातेर कथित समाजवादी यात्रा पार गर्ने भन्दै त्यता विचलित भएका छन् । अनि, त्यही यात्राबाट हुर्किएका प्रगतिवादी र क्रान्तिकारी स्रष्टाहरू पनि त्यतै पौडीमा खेल्न थाले । पछि बडेबडे नामहरू पनि कमाउन अभ्यस्त हुन थाले ।

    चिन्तन र भौतिकवादी दर्शनमा आएको यो विचलन नै सबैभन्दा प्रमुख र पहिलो कुरा हो । दोस्रो, आफू कमजोर भएपछि विभिन्न घटकमा राजनीतिक चौतारीमा बाँडिएकाहरूले आफूले एक युद्ध मोर्चामा गोलबन्द गर्न सकेका छैनन् । तेस्रो, व्यापक प्रभावकारी र सशक्त आन्दोलनको अभियानको रूपमा उठाउनुपर्नेछ, त्यो पनि भएको छैन । चौथो, कतिपय सङ्कीर्ण सोच र एकाङ्की, मनोगत विचार सिकार हुनबाट नेतृत्वहरू मुक्त हुन सकेका छैनन् । सङ्क्षिप्तमा यिनै वर्तमान नेपाली क्रान्तिकारी साहित्यिक–सांस्कृतिक आन्दोलनका कमजोर पक्ष हुन् ।

    क्रान्तिकारी साहित्यिक–सांस्कृतिक आन्दोलनमा संयुक्त मोर्चाको सम्भावना कत्तिको देख्नुहुन्छ ?

    – म एकदमै सम्भावना देख्छु, यो एकदमै अपरिहार्य छ र उत्तिकै आशावादी पनि छु । कम्तीमा सैद्धान्तिक र विचारधारात्मक रूपमा एक ठाउँमा या समानता हुने संस्था, व्यक्तिहरूले संयुक्त मोर्चाको पहलमा ढिलाइ गर्नुहुँदैन । नभए इतिहासले हामीलाई प्रश्न गर्नेछ– देश र जनताले यो सङ्कटका बेला क्रान्तिकारी भनिने स्रष्टाहरू के गरिरहेका थियौ ? मेरो अपेक्षा छ, त्यसको जवाफमा तपाई–हामी कसैले शिर निहु¥याउनु नपरोस् ।

    तपाई जेल परेपछि अखिल नेपाल जनसांस्कृतिक महासङ्घ कसरी अघि बढिरहेको छ ?

    महासङ्घका सहयोद्धा कामरेडहरू आ–आफ्नो कर्तव्यपथमा क्रियाशील रहनुभएको सूचना छ । सामना परिवारले पश्चिम नेपालमा सशक्त र भव्य साङ्गीतिक अभियान चलाएको छ । लेख, रचनामार्फत् स्रष्टाहरू आन्दोलनमा छन् ।

    जेलभित्र रहँदै गर्दा के चाहनुभएको छ ? देशमा के होस् भन्ने चाहनुहुन्छ ?

    म यहाँको बसाइ सार्थक र सफल बनाउन चाहन्छु, अध्ययन र सिर्जनाको पाटोबाट । रिहा भएर जनसमुदाय र शुभेच्छुक, सहयोद्धाकहाँ म अझ बलियो भएर आउनेछु । एउटा गीतिएल्बम बनाउने चाहना थियो । जेलमा रहँदाका भावना र सपनाहरू कैद गर्ने कोसिस हुन्छ, सुनेको थिएँ, भोगिरहेको छु । देशमा सम्पूर्ण देशभक्त, माटोका स्रष्टाहरू जुन पार्टी, पेसा, जिम्मेवारीमा भए पनि भारतीय अतिक्रमणबाट देशलाई मुक्त गराउन, कालापानीबाट भारतीय सेना फिर्ता गर्न, लिम्पियाधुरासम्मै नेपाली झन्डा फहराउन सधैँ एक ढिक्का भएको र सफल रहेको खबर सुन्न पाए जेल पनि खुसीमा नाच्ने थियो ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ