अञ्जना सुु्वेदी । ‘कसले बनायो दाजै उडिजाने बस, हाम्रो देशै उडायो, हाम्रो साखै उडायो , हरर उडेर नजाउन है, नबनाई कहाँ हुन्छ आफ्नै देशलाई’ राजनीतिज्ञ तथा गीतकार नेत्रविक्रम चन्दद्धारा लिखित र सुरिलो स्वरकी धनी निर्मला घिसिङको आवाजमा सजिएको यो मिठो गीतको हरफलाई सापटी लिएर विदेशी भूमीबाट केही भन्न मन लाग्यो । देशप्रतिको मायाले सताएर शब्दमार्फत केही कुरा ब्यक्त गर्न मन लायो । म भन्छु विदेशीनु नेपालीहरुको रहर नभइ बाध्यता हो ।
यही बाध्यताको परिधिभित्र रहेर म पनि कष्टप्रद जीवनसँग पौंठेजोरी खेल्दैछु । विदेशी भूमीमा रहँदाका अनुभवहरु धेरैका आ–आफ्नै होलान् । यसमा मेरापनि अरुका भन्दा फरक नै छन् । तरपनि साझा भोगाईका केही भावनारुपी वाक्यांश व्यक्त गर्ने प्रयास गर्ने जमर्कोमा छु । ‘जति टाढा, उति माया गाढा’ भने झैं परिवारको न्यानो माया, गाउँ–घर, नदीनाला, डाँडापाखामा फुल्ने लालीगुराँस, घरकै अगाडी टलक्क टल्कने धौलागिरी र गुर्जा हिमाल, लेकबेसीका फाँटहरु, आमाले पकाएको कोदोको ढिडो अनि गुन्द्रुकको झोल बिर्सनै नसकिने रहेछ ।
महिलाको जन्मभूमी एउटा कर्मभूमी अर्को । कर्मभूमी र परिवारप्रतिको जिम्मेवारी र मायाले पनि मान्छेलाई थप समवेदनशील बनाउँछ । सायद देशको माया भनेको यही त होला । धन कमाउने आशामा परदेशीदाको क्षणमा विमानस्थलबाट जन्मेको धर्ती चटक्कै छोडिन्छ तव माथिको गीतले भनेझैं साखै उडाएको जस्तो हुँदोरहेछ । आफूलाई देश सम्झिँदा देशै उडाएजस्तो लाग्दो रहेछ । अनि त मन थाम्न सकले पो सक्छ र ?
हावाको गतिमा उडेको जहाजकोबेगले सकप्प पार्दैगर्दा आँखाबाट टिलपिल–टिलपिल गर्दै झर्ने आँशुले बाटो छेक्दो रहेछ । अनि त घर–परिवारको यादले त्यसपछि पो सताउन थाल्दो रहेछ त । आकाशमा उड्दै गर्दा मनमा अनेक तर्क बितर्कहरु खेल्दा रहेछन् । एयर बसमा उड्दै गर्दा परदेशी भूमीमा बस्दा र पराईको आदेशमा चल्दाको अनुभूती कस्तो होला ? फर्केर आइन्छ की आइँदैन होला ? वा धन कमाउन परदेशीएको छोरी रित्तै हात फर्कने पो हुँ की त भनेर मनमा अनेक प्रसङ्गहरु तँछाड मछाड गर्दै आउँदा रहेछन् । तर मन सम्हाल्नु पर्दो रहेछ ।
भैगो कति पीडा मात्र पोख्नु र भन्यो अहँ मनले मान्दै मान्दैन । किन की मान्छेसित भावना छ । भावना र विचार छ र त मान्छे अरु प्राणीभन्दा फरक छ नी । अनि फेरि मनमा कल्पना आइहाल्छ । सम्झें, बुढेसकालका बाबाको काँधमा हलो र जुवा देख्दा साह्रै मन दुख्थ्यो । मन त अरु दाजू र भाईको पनि दुख्छ होला । तर मन दुख्यो भन्दैमा एकैछिनमा सबै पीडा चट् पार्ने औषधी पो कोसित छ र ! विवशता र बाध्यता त सबैका हुन्छन् । विदेशमा रहँदा धुलोमा खेल्दाको सानो भाईको तोतेबोलीको याद धेरै नै आउँदो रहेछ, अनि पल्लाघरे हजुरआमाले पकाएर दिएको फर्सीको याद त झन कति हो कति ।
घाँस र दाउरा गर्न वनमा जाँदा गर्दाको उकाली र ओराली गरेको याद कति हो कति । उकाली र ओराली गर्दै खेतबारीमा मलका डोका पछार्दाको स्मरण त अटेसमटेस भएर दौडिन्छन् मानसपटलमा । सम्झिँदा हिजोजस्तै लाग्छन् यी परिघटनाहरु । समय धेरै बितेछ तर मानसपटलमा भने ताजै छन् । ओहो समय कति गतिशील छ है, जन्मभूमी छोडेर विदेशिएको पनि ४ वर्ष भइसकेछ तर भर्खर जस्तो पो लाग्छ त ।
रोगी ती बुढी आमाको उपचार गरौंला अनि बुढेसकालमा पनि भारी बोक्न विवश मेरा जन्मदाता बाबालाई सुख दिउँला भनेर परदेशिएको मेरो मन भने सोंचेजस्तो नहुँदा त्यसै-त्यसै अमिलो भएर आउँछ । विदेशीदा लागेको लाखौं ऋणले बेला बेला सपनीमा झैं झस्काइ रहन्छ । यस्तो बेला त साहुको सावाँ भन्दा ब्याज र किस्ताले पो सताउँदो रहेछ । जेहोस कि आँटले खान्छ, कि ढाँटले खान्छ भन्छन् । तर कसैलाई ढाँटेर र ठगेर खाइन्न, धर्तीको जुन कुनामा रहेरपनि आँटेरै र मेहनत गरेरै खाइन्छ । घर, परिवार, साथी, भाई नातागोताको साथ, सहयोग र उनीहरुको मायाले यहाँसम्म आइयो । उनीहरु नै त मेरो अगाडी बढ्ने आड र भरोसा हुन् । ती मेरा सारथीहरुलाई सम्मान गर्छु अनि आदर गर्छु ।
किनकी उनीहरु नै मेरा प्रेरणाका श्रोत हुन् । परदेशीको पीडा यति लेख्दै गर्दा आफू टाढा हुँदा परिवारमा फाटो पारेर फाइदा लुट्न खोज्ने स्वार्थी तत्वपनि नहुने कहाँ रहेछ र ? थाहा छ मलाई, श्रीमान वा श्रीमती परदेशमा हुँदा कोही उतै बिग्रिन्छन्, कोही यतै बिग्रिन्छन् । तर घर परिवार विखण्डन ल्याउने काम कसैले गर्नु हुँदैन । हामी त्यसको अपवाद बन्नु पर्छ । रोजगारीका कारण २,४ वर्ष टाढा हुँदैमा जुनिभरको माया ममता कसले भुल्छ र ? भुल्न हुँदैन । परदेशीनुको पीडाले ‘४० कटेसी रमाउँला’ भन्ने गीतको पनि याद आउँदो रहेछ ।
यति मात्र होइन बेला बेलामा ‘यहीँ खनौंला गैंती र कोदाली’ गीतको पनि याद दिलाउँछ नी । यस्ता गीतहरु यस्तै बाध्यताका कारणले सिर्जना हुदाँ रहेछन् । तर संसारका गरिव देशलाई चुसेर खाने अनि गरिवलाई मान्छे होइन आफ्ना दास सम्झने बानी परेकाहरुकै कारण हामी परदेशीन बाध्य भएका हौं । यसको जवाफ त समयले दिने नै छ । परदेशीनु परेकै कारणले घरबार ध्वस्त भएको उदाहरणपनि धेरै छन् । सहयोग गरेजस्तो गर्ने अनि स्वार्थ पुरा नहुँदा घरबार बिगार्ने तत्व पनि समाजमा व्याप्त नै छ । यसबाट धेरै टाढा रहनु पर्छ ।
पैसाको लागि मान्छेको ज्यान लिने प्रवृति पनि यदाकदा देखिन्छ तर त्यस्तो तत्वलाई सधैं कमजोर पार्नुपर्छ । ओहो ! लेख्दै गर्दा कता हराउन पुगेछु म त । परदेशी भूमीमा पुगेर धन कमाउने सपना धेरै नेपालीले बोकेका छन् । त्यो उनीहरुको बाध्यता पनि त हो । स्वदेशमै रोजगारीको वातावरण भए किन अर्काको शरणमा पर्नु पथ्र्यो र ? रोजगारी राज्यले दिन नसकेको की हामीले सिर्जना गर्न नसकेको ? प्रश्न गम्भीर छ । अरु देशका सरकारले दुनियाँभरका मान्छेलाई समेत रोजगारी दिनेगरी उद्योग खोल्न सक्ने तर हाम्रो राज्य चाहीँ अर्कैको कम्पनीमा काम गर्ने कामदार मात्र उत्पादन गर्ने मानव मेसिन मात्र किन ? के अचम्म हो यस्तो ? के चुनाव जितेर माथी पुग्नेहरुलाई यो कुराको ख्याल छैन ? के सिंहदरबार पुगेपछि नेताको दिमागमा विवेकको बिर्को लाग्छ ? यस्ता हजारौं प्रश्न छन्, जसको जवाफ तत्काल कसैले दिन सक्नेवाला छैन ।
अँ मन त मेरो फेरि बरालिएछ । तर सम्हालिनु पर्छ । जो पनि साहुको ऋणको भारी बोकेर जहाज चढ्छ । कतिका सपना साकार हुन्छन् कतिका सपना अधुरै रहन्छन् । त्यसको ग्यारेन्टी कसैले लिँदैन । विचरा कति त धन कमाउने सपनामा परदेशीन्छन् तर संयोगवश घाइते र अपाङ्ग बनेर शरीरभरी घाउ बोकेर घर फर्किन्छन् । अझ भनौं, कोही त लास बनेर फर्किन्छन् । फर्किन्छन् के भनुँ र सडेर सिद्धिन्छन् । परदेशी भूमीबाट नेपालीहरुको यो विवशता लेख्दा र देख्दा कहाली लागेर आउँछ । कतै आफू पनि त्यही कुनै कोटामा त परिने होइन ? भनेर झसङ्ग हुन्छु । तर समयले बचाएको छ । देशको राजनीतिक ब्यवस्था ठीक नहुँदा लाखौं युवाले आज नर्कजस्तो जीवन व्यहोर्न परेको छ ।
विदेशको परिस्थिति सोँचेजस्तो कहाँ छ र ! समय र परिस्थितिले साथ नदिँदा कयौं निरास भएर घर फर्केका छन् भने कतिले त आत्महत्या समेत गरेका छन् । म त भन्छु आत्महत्याको बाटो सकभर कसैले नरोजौं । किन की यो विनासको बाटो हो । मौकाले पाएको यो मान्छेको जुनीमा निरास भएर सिद्धिनु भन्दा केही गरेरै मर्नुपर्छ । मर्न त पर्ने नै हो एकदिन तर कस्तो मराई गर्ने भन्ने कुरा ठूलो हो ।
अस्थायी जिन्दगीमा काम पनि अस्थायी गर्ने त हो नी । स्वदेश वा विदेश जहाँ भएपनि पौरख गर्न सके बाँच्नकोलागि समस्या नहोला । जे जति कमाइ गर्न सकिएला आफ्नै मेहनतमा हुने हो तर निरास भएर पलायन हुनु चाँही हुँदैन । त्यसकारण विदेशियका दाजू भाई वा विदेशिन खुट्टा उचालेर बस्नु भएका सबैलाई मेरो आग्रह छ की सकेसम्म विदेश नआउनुहाेस, आउने नै हो भनेपनि छोटो समयको लागि धेरै कुरा बुझेर मात्र आउनुस् । धन्यवाद ।
प्रतिक्रिया