• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    रोजगारीका लागि जापान जाने तयारीमा रहेका नेपालीहरुलाई आयो यस्तो खुशीको खबर, हेर्नुहोस् बिस्तृतमा

    67.4K
    SHARES



    काठमाडौं । नेपाली कामदार जापान पठाउने विषयमा दुई सरकारबीच गत चैत ११ गते ‘सहकार्यको समझदारीपत्र’ मा हस्ताक्षर भयो । तर, उक्त समझदारीको विस्तृत विवरण सरकारले अझैसम्म बाहिर ल्याउँदा जापान जान खुट्टा उचालेका युवाहरु अन्योलमा छन् ।

    अहिले जापान पठाउने भन्दै देशभित्र भाषा परिक्षाको नाममा ठगीधन्दा मौलाएको छ । कतिपय कन्सल्टेन्सीहरुले आफैंले विदेश पठाउने आश्वासन दिएर ठगी गरेका तथ्यहरु पनि बाहिर आएका छन् । सम्झौता भइसकेको विषयलाई पनि गुपचुप राख्दा जापान जाने आशामा बनेका धेरै युवा ठगिने क्रम बढेको हो ।

    सहकार्यको समझदारीमा जापान जाने नेपाली कामदारले जापानी नागरिक सरह वा बढी पारिश्रमिक तथा सुविधा पाउने भनिएको छ । विभिन्न १४ क्षेत्रमा कामदार लैजाने सहमति भएको छ ।

    ती क्षेत्रहरु हुन्ः कृषि, नर्सिङ केयर, सवारी साधान मर्मत सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पदार्थ र पेय पदार्थ उत्पादन, आवास उद्योग, मेसिनरी पार्ट उद्योग, माछा मार्ने र माछापालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्टिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योथ, विल्डिङ सरसफाइ व्यवसाय, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योग ।

    जापानले विशिष्टिकृत दक्ष कामदार (स्पेसिफाइड स्किल वर्कर) को पहिलो र दोस्रो वर्गका कामदार लिने भनेको छ । पहिलो वर्ग -एसएसडब्लूआई) का कामदारलाई जापान जान सम्बन्धित कार्यक्षेत्रमा अनुभव आवश्यक पर्छ र उनीहरु बढीमा ५ वर्षसम्म जापानमा बस्न पाउँछन् । दोस्रो वर्ग -एसएसडब्लू -आईआई)का कामदारका लागि भने उच्च तहको सिप आवश्यक पर्छ ।

    जापानले सहरी क्षेत्र बाहिर कामदारको अभाव पूर्तिका लागि विदेशी कामदार भित्र्याउने नीति लिएको हो। जापानले विदेशी कामदारको सहयोगका मुख्य सहर बाहिरका स्थानहरूमा एक सय वटा बुहसांस्कृतिक केन्द्र स्थापना गर्ने तयारी समेत गरेको छ।

    यस्ता केन्द्रहरूमा प्रहरी, इमरजेन्सी सेवासमेत उपलब्ध हुनेछन्। साथै बच्चा हेरचाह केन्द्रसमेत बनाउने तयारी जापानको छ। जापानले कामदार लिदाँ प्राविधिक कामदार लिने नीतिसमेत तय गरेको छ। १४ औद्योगिक क्षेत्रसहित नर्सिङ, निर्माण तथा सरसफाइमा विदेशी कामदार प्रयोग गर्ने जापानी तयारी छ।

    १८ वर्ष पुगेका व्यक्तिलाई रोजगारीमा लैजाने र त्यसका लागि कुनैपनि किसिमको दलालको सहारा तथा कुनै रकम डिपोजिट राख्न नपर्ने व्यवस्था गरिने जापान सरकारले स्पष्ट गरेको छ। जापानले नया नीतिसँगै पहिलो पाँच वर्षमा ६० हजार नर्स भित्र्याउने लक्ष्य राखेको जनाएको छ।

    त्यस्तै रेष्टुरेण्ट क्षेत्रमा ५३ हजार भित्र्याउने लक्ष्य राखेको छ। जापानले पहिलो पाँच वर्षमा ३ लाख ४५ हजार १ सय ५० कामदार लैजाने तयारी गरेको निक्कीले उल्लेख गरेको छ। यीमध्ये वर्षमा झन्डै चालिस हजार कामदार नेपालको भागमा पर्छन्। आउँदा वर्षहरूमा यो संख्या अझै बढ्ने बताइएको छ।

    नेपालसँगै भियतनाम, चीन, फिलिपिन्स, इण्डोनेसिया, थाइल्याण्ड, म्यानमार, कम्बोडिया र मंगोलियासँग कामदार लिने जनाएको छ। जापानका मुख्यसचिव योशोहिदा सुगाले कामदारका लागि नयाँ भिसा सिस्टम लागु हुने बताए।

    ‘यो प्रक्रियाले थोरै कामदार भएका कम्पनी तथा साना तथा मझौला कम्पनीलाई फाइदा हुनेछ। यो भिसा सिस्टम आउँदो अप्रिलबाट कार्यान्वयनमा ल्याउने तयारी छ’, सुगाले पत्रकार सम्मेलनमा भने।

    सुगाले आफूले प्रधानमन्त्री सिन्जो आबेलाई सन् २०१७ को हिउँदमा अस्पतालहरू नर्सविहीन भएको रिपोर्ट दिएलगत्तै विदेशी कामदारका लागि ढोका फराकिलो बनाउन निर्देशन पाएको समेत उल्लेख गरेका छन्।

    जापानमा पछिल्लो समय राजनीतिक अजेन्डासमेत कामदार अभाव बन्दै आएको थियो। प्रधानमन्त्री आबेको पार्टीले स्थानीय निर्वाचनअघि नै कामदार अभाव अन्त्य गर्ने चाहाना राखेकाले पनि प्रक्रिया छिटो बढ्नै बताइएको छ।

    यतिबेला  सबैलाई चासो छ, रोजगारीका लागि जापान कहिलेबाट खुल्छ ? यस विषयमा वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले पनि पहिलोपटक जापानले पहिलो लटमा नर्सहरुलाई मात्रै लैजानेछ ।

    शैक्षिक परामर्श केन्द्र र भाषा सिकाउने संस्थाहरुको नियमन शिक्षा मन्त्रालयले गर्ने समस्या देखिएपछि शिक्षा मन्त्रालयलाई यसबारे ध्यानाकर्षण सहित अनुगमनका लागि अनुरोध गरिरहेको उनले बताए ।

    जापान पठाउने नाममा बिभिन्न कन्सल्टेन्सीहरुले युवाहरुलाई ठग्न लागेको बिषयमा मुख खोल्दै उनले भने- ‘हामीले पनि कसैलाई जापानको नाममा ठगिन नदिन सचेतनामूलक जानकारी र सूचनाहरु दिइरहेका छौं । सरकारले कोही पनि युवाले त्यसरी ठगिन नपरोस् भनेर टुंगो लागेका सबै विषय पारदर्शी ढंगले बाहिर ल्याइरहेको छ । जापानसँग भएको ‘सहकार्यको समझदारी’ ले पनि धेरै हल्लालाई चिरेको छ ।’

    तर, जापानी भाषा परीक्षाबारे व्यापक अन्योल त छ कायमै छ नि ? भन्ने प्रश्नको जवाफ दिँदै उनले भने- ‘हिजो कति कुरा कुटनितिक महत्वको भएकाले तत्कालै बाहिर ल्याउन असजिलो भएको पनि हो । अब त्यस्तो अवस्था रहँदैन । हामीले जापानको भाषा परीक्षाबारे बजारमा रहेका अन्योल चिर्न सुरु गरिसकेका छौं । ‘

    अब कसैले भाषाकै अन्योलका कारण ठगिने अवस्था नआउने उनले दावी गरे । जापानी भाषा परीक्षाबारे जापान सरकारले आफुहरुलाई पनि भर्खरै स्पष्ट गरेको र अब यो सूचना र सन्देश सबैमाझ पुर्‍याइने उनले बताए ।

    जापानको भाषा परीक्षा कोरियन भाषा परीक्षा जस्तै सबै क्षेत्रको लागि एकैपटक हुन्छ कि हुँदैन ? भन्ने विषयमा उनले थपे- ‘जापानको हकमा कोरियाको भन्दा फरक हुन्छ । भाषा र सीप परीक्षा १४ ‘क्याटेगोरी’ का लागि अलग-अलग हुन्छन् । सबैको एकैपटक नहुने भनिएको छ ।’

    परीक्षा सञ्चालन गर्ने सन्दर्भमा जापान फाउन्डेसनले कामदारको आधारभूत भाषा परीक्षा लिनेछ । परीक्षा अहिलेको कोरियन जस्तो कागजमा हुँदैन, कम्प्यूटरमा आधारित हुन्छ । प्रोमेटि्रकले जाँचको व्यवस्था गर्छ । त्यसमा उत्तीर्ण हुने मात्रै जापान जाने अवसरको लागि योग्य हुन्छन् । र, जापान जान पाउने कामदारको रोस्टरमा नाम दर्ता हुन्छ ।

    सम्भवतः आगामी अक्टोबर (असोज १५ देखि कात्तिक १५) मा नर्सिङ क्षेत्रको लागि मात्र भाषा र सीप परीक्षा हुन्छ । यसलाई ‘नर्सिङ केयर जापाजिन ल्यांग्वेज इभ्यालुएसन टेस्ट’ भनिनेछ । साधारण जापानीमा लेख्न र बोल्न गर्न सक्नेले यो जाँचमा भाग लिन सक्छ ।

    २० मिनेटको भाषा परीक्षा र ६० मिनेटको सीप परीक्षा हुन्छ । पास भए-नभएको परीक्षार्थीले तत्कालै थाहा पाउँछन् । जाँच दिएको दुई हप्तामा जाँचको प्रमाणपत्र प्राप्त हुन्छ । काम गर्न पाउने अवधिबारे कार्यावधि बन्नेछ । विस्तृत विवरण जापानको श्रम मन्त्रालयको वेबसाइटमा हुन्छ । असल कामदारहरुले अर्को ५ वर्ष काम गर्न पाउँछन् ।

    भाषा र सीप परीक्षाको लागि जम्मा खर्च ४५०० जापानी येनको हाराहारीमा हुन्छ । त्यसबाहेकको खर्च रोजगारदाता र श्रमिकबीचको सम्झौतामा उल्लेख भएबमोजिम हुने हुँदा अहिले यकीन भन्न सकिने अवस्था छैन ।

    जापानले अबको ५ वर्षमा ६० हजार नर्स भित्र्याउने भनेको छ । नेपालबाट कति लैजाने भन्ने संख्या निश्चित छैन । समानुपातिक हिसाबले पनि बढीमा १३०० जना नर्स एक बर्षमा जान पाउँछन् कि भन्ने अपेक्षा छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ