काठमाडौं । नेपाली कांग्रेसले आगामी महाधिवेशनको मिति टुंगो लगाउने उद्देश्यले पदाधिकारी बैठक बोलाएको छ। पार्टीभित्र मिति र तयारीबारे देखिएको अन्यौलता र मतभेदका बीच आज बैठक बस्न लागेको हो। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार पदाधिकारी बैठक बोलाइएको र बैठक सुरु हुनै लागेको जानकारी दिएका छन्। बैठक पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने बताइएको छ।
यसअघि शुक्रबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पार्टी नेतृत्वले अन्तिम समयमा स्थगित गरेको थियो। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको तिथि–मितिबारे सहमति जुटाउन समय आवश्यक भएको भन्दै बैठक स्थगित गरेका थिए।
कांग्रेसभित्र हाल महाधिवेशन मिति, प्रतिनिधि चयन प्रक्रिया, र संगठन सुदृढीकरणका विषयमा विभिन्न धारणा देखिएका छन्। कतिपय नेताहरूले महाधिवेशन ढिला गर्न नहुने अडान लिएका छन् भने केहीले संगठन पुनःसंरचना नभएसम्म मिति घोषणा गर्न नहुने मत व्यक्त गरेका छन्।
पार्टी स्रोतका अनुसार आइतबार दिउँसो १ बजेका लागि पुनः बोलाइएको केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको ठोस मिति घोषणा गर्ने अपेक्षा गरिएको छ। आजको पदाधिकारी बैठकले त्यसअघिको एजेन्डा तय गर्ने र विवादित विषयमा सहमति खोज्ने तयारी गरेको कांग्रेस नेताहरूले बताएका छन्।
प्रतिक्रिया