 
 काठमाडौँ। बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र न्यूनचापीय प्रणालीको प्रभावका कारण पछिल्ला दिनहरूमा देशका अधिकांश भागमा वर्षा र बदली देखिएको थियो। तर मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार सुरु हुने अपेक्षा गरिएको छ।
काठमाडौँलगायत मध्य र पश्चिमका क्षेत्रहरू (बाग्मती, गण्डकी, लुम्बिनी प्रदेश र तराईका सर्लाहीदेखि चितवनसम्मका जिल्लाहरू)मा आज अपराह्नसम्म वर्षा रोकिने र साँझदेखि मौसम खुल्दै जाने उपाध्यायले जानकारी दिए। कोशी पूर्वका जिल्लाहरूमा भोलि बिहानसम्म वर्षा रोकिने र मध्यान्हदेखि मौसम खुल्ने अनुमान गरिएको छ।
आज दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा हुने देखिन्छ। केही स्थानमा भारी वर्षा पनि हुन सक्ने सम्भावना छ।
हिमाली क्षेत्रका लागि मौसमविद्ले चेतावनी दिएका छन् कि कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपात हुनसक्नेछ भने केही स्थानमा भारी हिमपातको सम्भावना पनि छ।
प्रतिक्रिया