• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विचार-ब्लग

    प्रतिबन्ध- २ !

    8K
    SHARES

    आरपी तिमिल्सिना । आजभन्दा बीस बर्ष पहिले राज्यको बर्बर आतंक नजिकबाट देखेको हिजो अस्तिझैं लाग्छ। फेरि अर्को हिसाबले हेर्दा यो बिचमा धेरै ठुला उथलपुथल पनि भए। नेपाली राजनीतिमा गएका ३ दशक निकै रोमाञ्चक पनि रहे । साथै परिबर्तनको हिसाबले भूँई मान्छेहरुको जीवन फेरि पनि उही पीडा र क्रन्दनले दिन प्रतिदिन कहालीलाग्दो हुँदै गइरहेको छ।

    समय निकै बदलिएको छ तीस बर्ष यता, उबेला कापी कलम थियो लेख्ने साधन। अहिले यी शब्दहरु लेख्न मोबाईलको पर्दामा बुढी औला कुदाउन पर्छ। यस्ता धेरै परिबर्तन हामी हाम्रै जीवनमा कति हो कहि पाउछौं।

    राजनीतिको कमानमा राज्य सयन्त्र चलाउने कयौं पात्रहरु पनि फेरिए र तिनीहरु आज पनि पुरानै भुत बंगलाजस्तो लाग्ने नेपालको आगनमा बसेर बासी गफ मात्र दिइरहेका छन् ।  ‘मैले भनेको मान नत्र ….जानेको छु’ भनेर फेरि राज्य आतंकको कालो बादलमा देश भाँसिदै छ ।

    ‘किलो सेरा टु’ नामको भयानक अप्रेशन चलेको थियो झन्डै बीस बर्ष अगाडि । मैले नजिकबाट त्यो अप्रेशन देखेको मात्र होइन, सायद मेरो नामको गोली कसै अरुको छातीमा झुक्किएर लागेको होला र पो त म बाचेको छु आज। म जस्ता भुक्तभोगी आज लाखौको सङ्ख्यामा छ्न।

    कोहि शरीरका संबेदनशील भागमा गोली पालेर बसेका छ्न, कैयन अरबको गर्मीमा नारकीय बधुवा जीवन बाँचिरहेका छ्न, कैयन खान लाउनदेखि स्वाभिमान बिहीन पट्यार लाग्दो जीवन घर्सी रहेका छ्न।

    भनिन्थ्यो, १२ बर्षपछि खोला फर्किन्छ। देखियो २० बर्षपछि प्रतिबन्ध फर्कियो। ताजुब लाग्ने कुरा के छ भने त्यो बेला प्रतिबन्धको खरो प्रतिबाद गर्नेहरु आज प्रतिबन्धका मालिक भएका छ्न। रातो पहिरनका राता बहिखाता राख्नेहरु अहिले पहेलो गेरु बस्त्रधारी भएका छन र मार्क्सवादी दर्सन बदलिएको छ हनुमानचालिसामा।

    बीस बर्षपछिको प्रतिबन्ध एक यथार्थ हो भने १२ बर्सपछि खोला फर्किने कुरा मात्र एक मिथक हो। यसबिचका कैयन परिदृश्य हेर्दा मान्छेका गिद्धी हल्लिनेजस्ता अरु नया मिथकहरुको आविष्कार भएकोझैं लाग्छ। पहिलेका क्रान्तिका नायक आज खलनायकमा बदलिएका छ्न।

    अहिलेका राम बहादुर थापा उहिलेका कमरेड बादल थिए । उहाँसँग बिक्रम सम्बत २०५५ मा सिमाबर्ती उत्तर प्रदेशको पलीयाको कुनै होइनमा एक प्रशिक्षणमा मेरो ब्यक्तिगत रूपमा भेट भएको थियो। खाइलाग्दो उमेर अनि उत्प्रेरक प्रशिक्षण कला त्यतिबेला अद्भूत नै लागेको थियो।

    उहाँको आदेश सिरोपर गरेर त्यसबेला सहभागीमध्ये यज्ञश्वर शर्मा र जोखन चौधरी लगायत कति त सहिद भए। मेरो जीवनको पहिलो अनि उच्चस्तरको प्रशिक्षण भएकोले निकै प्रभावशाली साबित भएको छ। साथै बादल कमरेडले ‘आत्मसंघर्ष अनि अन्तरसंघर्षमा खरो उत्रेर मात्र वर्गसंघर्ष जित्न सकिन्छ’ भन्ने उद्धरणले दिमागको एउटा कुनामा आज सम्म पनि ठाँउ बनाएर बसेको छ।

    कसैको बर्ग नै फेरिएपछि उसकाे दृष्टिकोण पनि फेरिनु सामाजिक जीवनको सामान्य नियन भित्र नै पर्छ सायद। तर २० बर्ष पहिलेको नेपालीहरुका सपनामा सु-सु गर्न पाइने नियम सायदै कतै होला । बरु शाश्वत नियम चाहिँ के हो भने सामाजिक भेदभाव रहेसम्म बिद्रोह कतै रुकेको पनि छैन र विजय पनि निश्चित रुपले हुन्छ नै।

    दुई दशकअघि प्रत्येक नेपालीको थाप्लाेमा १३ हजार बिदेसी ऋण थियो भने आज ३३ हजार पुगेको छ। नेपालको यो बर्षको झन्डै आधा बजेट ७८ अर्बजति एक्लै एनसेलले कर समेत नतिरेर रातारात बिदेस लैजान्छ। एक हवाइजहाज खरिदमा ५ अर्ब बढीको खुलेआम कमिसनको खेल हुन्छ। बाँदर लडने भीरको करको दाम्लोले कसिएर आम किसान मर्नु न बाँच्नुको दोसाँधमा हुन्छ।

    दैनिक पाँच जना दौतरीको शबसँगै २९ प्रतिशत रेमिटान्स नेपाल पठाउन बाध्य नेपाली युबाहरु आज बिदेशी गल्लीमा आधुनिक दास सरह बाँचिरहेका छ्न। देशका प्राकृतिक साधन स्रोतलाई बिदेसीहरुले बन्धक बनाएका छ्न, अनि शासनमा बस्नेहरु बिल्कुलै कठपुतली प्रतित हुन्छन। भ्रष्टाचारको नालीबेली यति पारदर्शी छ कि सामान्य मान्छेहरुलाई समेत यस विषयमा उदेक लागेर कुरासम्म गर्ने जागर देखाउदैनन। सबै बेथेतिहरुको मुहान नै सरकार अनि राज्य नै भएपछि न्याय र मुक्ति चाहानेहरुले बिद्रोहको आगो ताप्न खोज्नु कुनै आठौ आश्चर्य हुँदै होइन।

    यतिबेला अग्रगमन बिरोधी अनेक तानाबाना बुनिदै छ्न। रोचक र नँया कुरा के पनि सुनिदैछ भने यही पुस्ताले भर्खरै क्रान्तिमा भाग लियो र एक पुस्तामा दुई क्रान्ति असम्भव हुन्छ। दया लागेर आउँछ स्वघोषित राजनैतिक ज्योतिषहरुप्रति । यतिदेखि यति समयसम्मको फरकमा हुन्छ र गरिन्छ भन्नलाई क्रान्ति कुनै पशुपतिमा लाग्ने महाशिबरात्रीको मेला होइन।

    न त क्रान्तिमा फलानोले मात्रै भुमिका खेल्नुपर्छ भनेर जन्मजात जिम्मेवारी बोकेर नै आउने हो ।नेपालको बर्तमान पुस्ता यस्तो गजबको सङ्क्रमणको बिन्दुमा छ जसको अनुभव न त अघिल्लो पुस्ताले गर्यो न त पछिल्लो पुस्ताले गर्न पाउनेछ। हुलाकबाट चिट्ठी लेखेर खबर पठाउने हिजोको चलन थियो तर आज छैन । भोलिको पुस्ताले `ए.. हो र..?´ भन्ने दिन आउँन सक्छ।

    हुलाक र अनलाइनबाट खबरहरु आदान प्रदान गरेको बिरलै पुस्ता यहि हो। अनि यहि पुस्ताले सुरु गरेको क्रान्ति केही त्मसमर्पणकारीहरुका कारण एक पुस्तामा दुई क्रान्ति हुदैन भन्ने कुरा क्रान्ति बिरुद्धको अर्को भयानक षड्यन्त्र हो। यहि पुस्ताले सुरु गरेको बिद्रोहका नायक नै प्रतिबिद्रोहको खलनायक बनेको मात्र होइन जनक्रान्तीको नवजात शिशुलाई नै कुल्चनने प्रक्रियामा न्वारन देखिको बल लगाइरहेको परिदृश्य भने अलि नयाँ र चुनौतीपूर्ण हो। स्मरणीय रहोस नेपालमा क्रान्तिको पुर्णता अहिलेसम्म भएकै छैन, जसकारणले देशको दयनीय अवस्था हामी भोग्दैछौ ।

    अन्याय र अत्याचारले सीमा नाघ्दै जाँदा इतिहासका बिरलै मोडमा जनक्रान्ती भएका छ्न, नेपालमा पनि जनक्रान्तिको नयाँ पहल एकदम अनिबार्य बन्दै गएको छ। २० बर्ष अगाडि पनि यहि त थियो। राणाहरुदेखि राजासम्मको जमाना गयो, जनताका आधारभुत समस्या झन बढी अत्यासलाग्दो स्थितीमा छन। पछिल्लो समयको सत्ता पुरै बाहिरी शक्तिबाट परिचालन भैरहेकोले राष्ट्रघातका पुराना र नँया घाउहरु झनै बल्झिरहेका छन। जनता अनि राष्ट्रको जीवन नै बेहाल भएको बेला आम नागरिकको दायित्व पछिल्लो पटक बढेर गएको छ ।

    (लेखक तिमिल्सिना विद्रोही नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा महाकाली ब्युरो इन्चार्ज हुन् ।)

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ