• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एमाले बैठकमा नेताको सम्पत्ति छानबिनको माग

    741
    SHARES



    काठमाडौँ । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको १०औं बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ। हालसम्मको बहसमा अधिकांश सदस्यहरूले पार्टीले जनताको समस्याको तत्काल सम्बोधन गर्नुपर्ने, जेनजी आन्दोलनपछि बदलिएको जनमानस बुझ्न सक्ने रणनीति अपनाउनुपर्ने र नेतृत्व परिवर्तनको मुद्दा महाधिवेशनमा उठाउनुपर्ने धारणा राखेका छन्।

    बैठकमा केन्द्रीय सदस्य मोहम्मद हारुनले जेनजी आन्दोलनका नाममा एमालेलाई कमजोर देखाउने प्रयास भइरहेको भन्दै त्यसलाई गलत प्रचार भनेका छन्। ‘देशमा एमाले, प्रदेशमा एमाले, जिल्लामा एमाले, पालिकामा एमाले, टोलमा एमाले छ,’ उनले भने, ‘तर कसरी एमाले कमजोर छ भन्ने भाष्य फैलाइँदैछ। यो गलत प्रचार हो, यसलाई चिर्न सबै पार्टी पंक्ति परिचालित हुनुपर्छ।’

    हारुनले नेतृत्व परिवर्तनको बहस अहिले उपयुक्त नभएको उल्लेख गर्दै अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्व अहिले पनि देशका लागि आवश्यक रहेको बताएका छन्। त्यस्तै, केन्द्रीय सदस्य मेनुका काफ्लेले २०४८ सालयताका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेकी छन्। उनले भनिन्, ‘यदि पार्टीले छुट्टै आयोग बनाएर नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने निर्णय गर्छ भने, जेनजी पुस्ताका मागहरू पनि सम्बोधन हुनेछन् र पार्टीभित्र शुद्धीकरणको प्रक्रिया अघि बढ्नेछ।’

    अर्का केन्द्रीय सदस्य रमेश बडालले भने मङ्सिरमा महाधिवेशन गर्न सकिने सम्भावना राजनीतिक परिस्थितिले कम देखिएको बताएका छन्। उनले विद्यालयहरूलाई शान्ति क्षेत्र बनाउने नीतिका कारण विद्यार्थी राजनीतिबाट टाढिएकाे भन्दै त्यसले राजनीतिक रिक्तता सिर्जना गरेको बताए। ‘विद्यालयमा राजनीति नगर्ने नाममा रिक्तता बनाइयो, त्यसको फाइदा अरूले उठाए,’ उनले भने, ‘अब पार्टीले यसबारे पुनर्विचार गर्नुपर्छ।’

    केन्द्रीय सदस्य मोहनमाया ढकालले नेतृत्व परिवर्तनको बहसलाई ‘बेमौसमी बाजा’ को संज्ञा दिँदै अहिलेको प्राथमिकता संगठन सुदृढीकरण हुनुपर्ने बताइन्। महम्मद समिरले अध्यक्ष ओलीकै विकल्प खोज्ने कुरा अहिलेको आवश्यकता नभएको उल्लेख गर्दै भने, ‘ना केपी ओली गिरे, ना केपी ओली के उमिदो मिनार गिरे।’

    केन्द्रीय सदस्य यज्ञबहादुर सुनुवारले पार्टीभित्र आन्तरिक एकता बलियो बनाउनु अहिलेको पहिलो आवश्यकता रहेकोमा जोड दिए। अर्का सदस्य महेश बर्तौलाले संसद् पुनर्स्थापना र राष्ट्रिय सरकार गठनमा एमालेले अग्रणी भूमिका लिनुपर्ने सुझाव दिए।

    पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार, दोस्रो दिनको खाना–ब्रेकअघि सम्म ६७ जना केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन्। बैठकमा कम्तीमा १०० सदस्यले बोल्ने कार्यसूची रहेको र हिजोदेखि सुरु भएको बैठक भोलि समापन गर्ने तयारी रहेको उनले जानकारी दिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ