• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    शहीद वासु र वैरागीको बलिदानले जनयुद्धलाई नयाँ उचाइ दिएको थियो : प्रचण्ड

    392
    SHARES



    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद सुरेश वाग्ले ‘वासु’ र भीमसेन पोखरेल ‘वैरागी’को बलिदानले तत्कालीन राज्यसत्ताविरुद्धको आन्दोलनलाई नयाँ ऊर्जा प्रदान गर्दै जनयुद्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

    काठमाडौँमा आयोजित शहीद सुरेश वाग्ले र भीमसेन पोखरेलको २७औँ स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले २०५६ सालमा गोरखामा वाग्ले र पोखरेलले सहादत प्राप्त गरेको दिन नेपाली क्रान्तिकारी आन्दोलनका लागि अत्यन्त महत्त्वपूर्ण दिन भएको बताए ।

    उनले भने, “२०५६ सालमा सुरेश वाग्ले र भीमसेन पोखरेलले गोरखामा सहादत प्राप्त गर्नुभयो । पार्टीको पोलिटब्युरो तहको सबैभन्दा उच्च नेतृत्व पंक्तिबाट भएको त्यो सहादतले तत्कालीन राज्यसत्ताविरुद्ध जनता र क्रान्तिकारी पङ्क्तिमा आक्रोश र ऊर्जा पैदा गर्‍यो तथा जनयुद्धलाई नयाँ उचाइमा पुर्‍यायो।”

    अध्यक्ष प्रचण्डले शहीदहरूको बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध अहिले पनि प्रतिक्रियावादी चलखेल भइरहेको भन्दै त्यसका विरुद्ध सचेत र दृढतापूर्वक उभिनु नै शहीदहरूप्रतिको सच्चा सम्मान हुने बताए।

    “सुरेश वाग्लेको निष्ठा, आदर्श र राजनीतिक उचाइ निकै उच्च थियो। उहाँको बलिदानपछि पैदा भएको नयाँ संकल्प र ऊर्जाले जनयुद्धलाई नयाँ उचाइमा लैजान र त्यसलाई राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न महत्त्वपूर्ण योगदान गर्‍यो,” उनले भने।

    उनले जनमुक्ति सेनाका कुशल कमान्डर भीमसेन पोखरेलको योगदान र आदर्श पनि उत्तिकै महत्त्वपूर्ण रहेको उल्लेख गरे । प्रचण्डले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास भइरहेको उल्लेख गर्दै त्यस्ता प्रवृत्तिका विरुद्ध नयाँ संकल्प र ऊर्जाका साथ अघि बढ्नुपर्नेमा जोड दिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ