• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    आग्रह–पूर्वाग्रहमा अल्झिने होइन, साझा संकल्प गरौं, विपत्तिमा कोही एक्लो नहोस् : प्रचण्ड

    77
    SHARES



    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साझा संकल्प गर्नुपर्ने र विपत्तिमा कोही एक्लो नहुने अवस्था बनाउनुपर्ने बताएका छन् ।

    सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा उनले यस्तो बताएका हुन् । ‘राष्ट्रिय संकटको सामना गर्न एकजुट बनौँ’ उनले भनेका छन्, ‘अहिले देश एउटा गम्भीर प्राकृतिक विपत्तिको सामना गरिरहेको छ। यस्तो अवस्थामा लामो बहस वा राजनीतिक आग्रह–पूर्वाग्रहमा अल्झिने होइन, सबै राजनीतिक शक्ति एक ठाउँमा उभिएर खोजी, उद्दार, राहतमा जुट्ने समय हो ।’

    रसुवाको विनाशकारी बाढी यो सामान्य प्राकृतिक बिपत्ति मात्र नभएको उनले बताए । नेपालको भौगोलिक अवस्थाका कारण वर्षौँदेखि बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपत्ति भोग्दै आएका उल्लेख गर्दै उनले भनेका छन्, ‘तर पछिल्ला केही घटनाको प्रकृति, तीव्रता र प्रभाव हेर्दा यी नियमित रूपमा भइरहने प्राकृतिक विपत्ति मात्र होइनन्स जलवायु परिवर्तन, हिमाली क्षेत्रमा बढ्दो जोखिम र बदलिँदो प्राकृतिक अवस्थासँग जोडिएका गम्भीर संकेतहरू हुन् ।’

    त्यसैले तत्कालीन खोजी, उद्धार र राहतसँगै यस्ता विपत्तिको दीर्घकालीन जोखिम न्यूनीकरण र रोकथामका लागि वैज्ञानिक, प्राविधिक र नीतिगत अध्ययन गरी राष्ट्रिय रणनीति बनाउनुपर्ने उनको आग्रह छ ।

    तर अहिले पहिलो दायित्व भनेको मानिसको जीवन बचाउनु भएको भन्दै उनले थपेका छन्, ‘खोज, उद्धार, उपचार, राहत र पुन:स्थापनाका लागि सरकार, राजनीतिक दल तथा सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वयका साथ साझा कार्ययोजना बनाएर अघि बढ्नुपर्छ ।’

    यसका लागि सम्बन्धित छिमेकी मुलुकसँग तत्काल समन्वय गरी उपलब्ध सूचना तथा पूर्वसूचना संयन्त्रलाई प्रभावकारी रूपमा सक्रिय बनाउनुपर्ने उनले बताएका छन् ।

    ‘विशेषगरी हिमाली क्षेत्रमा यस्ता विपत्तिको जोखिम र पूर्वसूचना प्रणालीलाई दीर्घकालीन रूपमा बलियो बनाउन नेपालले छिमेकी मुलुक र अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्नुपर्छ’ उनले भनेका छन् ।

    साथै, यो घटना नेपालले मात्र भोगिरहेको समस्या होइन भन्ने कुरा अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट रूपमा राख्दै जलवायु परिवर्तनको असर भोगिरहेका हिमाली मुलुकका लागि जलवायु न्याय, क्षतिपूर्ति र अन्तर्राष्ट्रिय सहयोगको प्रश्नलाई सशक्त रूपमा उठाउनुपर्ने उनको आग्रह छ ।

    विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिने भन्दै उनले कोशी बाढी, सिन्धुपाल्चोकको जुरे पहिरो, २०७२ सालको भूकम्प र जाजरकोट भूकम्पलगायतका विपत्तिमा नेपाली समाज र राजनीतिक शक्तिहरूले संकटका बेला एकताबद्ध भएर सामना गरेको इतिहास रहेको स्मरण गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ