काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवं सांसद विपिनकुमार आचार्यले बाराकी ३ वर्षीया बालिका गरिमा चौधरी र शंखमूलस्थित होस्टेलमा मृत भेटिएका वसन्त कालाखेतीको प्रकरणलाई लिएर सरकारको कडा आलोचना गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा महामन्त्री आचार्यले गृह मन्त्रालयको कार्यशैली र अनुसन्धानका क्रममा अपनाइएका प्रचारमुखी प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएका हुन् ।
साउन ३१ गते घरबाटै हराएकी र तीन दिनपछि मृत फेला परेकी ३ वर्षीया गरिमा चौधरीका आमा–बुबालाई काठमाडौँ बोलाएर गृह मन्त्रालयमा भिडियो खिचिएको प्रति आचार्यले आक्रोश पोखे । ‘हामीले कस्तो समाज बनाइरहेका छौँ ? जहाँ मृतकका बुबाआमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ,’ उनले प्रश्न गरे, ‘के एउटा विक्षिप्त परिवारलाई मन्त्रालयमा राखेर भिडियो बनाउनु सरकारको काम हो रु यस्तो कार्य तत्काल बन्द गरिनुपर्छ ।’
उनले गरिमाका बुवा मनोज र आमा मानमती चौधरीको पीडालाई सरकारले विज्ञापनको माध्यम बनाएको भन्दै यस्तो प्रवृत्तिले न्यायको उपहास गर्ने बताए ।
गरिमा हत्या प्रकरणका आरोपितको बयान र अस्पतालमा सोधपुछ गरिएको भिडियो सार्वजनिक भएको विषयमा पनि महामन्त्री आचार्यले सरकार र प्रहरी प्रशासनको आलोचना गरे । हातमा हतकडी लगाएका आरोपितसँग अस्पतालमा गरिएको सोधपुछको भिडियो सामाजिक सञ्जालमा देखिनुले कानुनी राज्यको उपहास गरेको उनको तर्क छ । ‘एउटा आरोपितले बोलेका कुराहरूलाई सार्वजनिक तरिकाले पब्लिकमा राखिन्छ, यसले समाजलाई कहाँ पुर्याउँछ ?,’ उनले भने ।
आचार्यले काठमाडौँको शंखमूलस्थित होस्टेलमा मृत भेटिएका वसन्त कालाखेतीको घटनालाई पनि सदनमा उठाएका छन् । वसन्तको मृत्युको खबर सुनेर दाङमा रहेकी उनकी आमाको पनि मृत्यु भएको र बुवा वैदेशिक रोजगारीका कारण घर फर्कन नसकेको हृदयविदारक अवस्था सुनाउँदै उनले सरकारको ध्यानाकर्षण गराए ।
‘होस्टेलमा बस्ने युवाहरूको सुरक्षामा गम्भीर प्रश्न उब्जिएको छ । वसन्तका बुवा विदेशबाट फर्कन खोज्दा पनि वातावरण बनेको छैन,’ उनले भने, ‘यस्ता आपतकालीन अवस्थामा नागरिकलाई स्वदेश फर्काउने संयन्त्र खोइ ?’ महामन्त्री आचार्यले सरकारलाई केवल प्रचारमा नभई वास्तविक न्याय र सुरक्षामा केन्द्रित हुन आग्रह गरे ।



प्रतिक्रिया