काठमाडौं। मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्रै म्याद गुज्रिएको दही बिक्री भइरहेको फेला परेपछि सम्बन्धित व्यवसायीलाई कडा कारबाही गरिएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार गरेको आकस्मिक अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमाथि प्रत्यक्ष खेलबाड गर्दै म्याद नाघेको दही बिक्री गरेको पाइएपछि ‘हाम्रो खाजा घर’ नामक चमेनागृहलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराइएको हो।
विभागका अनुसार प्राप्त उजुरीको आधारमा खटिएको अनुगमन टोलीले काठमाडौं महानगरपालिका–११ स्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण परिसरभित्र सञ्चालित उक्त चमेनागृहमा अनुगमन गर्दा कैफियत फेला पारेको थियो।
अनुगमनका क्रममा बिक्रीका लागि राखिएको दहीको उपभोग्य मिति सकिएको स्पष्ट देखिएपछि तत्कालै कानुनी प्रक्रिया अघि बढाउँदै कारबाही गरिएको विभागले जनाएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ङ) अनुसार कसुर ठहर गर्दै सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम जरिबाना गरिएको विभागले स्पष्ट पारेको छ।
विभागले खुद्रा विक्रेतामात्र होइन, म्याद गुज्रिएको दही उत्पादन गर्ने श्रीकृष्ण डेरी फर्मलाई समेत अनुसन्धानको दायरामा ल्याएको जनाएको छ। उक्त डेरीका सञ्चालकलाई तीन दिनभित्र व्यवसाय दर्ता प्रमाणपत्र र सम्बन्धित बिक्री बिलसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।
विभागले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित खाद्य सामग्रीमा लापरबाही नगर्न व्यवसायीहरूलाई चेतावनी दिँदै यस्ता गतिविधि दोहोरिए कडा कारबाही गरिने जनाएको छ।
प्रतिक्रिया