एजेन्सी । बंगलादेश सरकारले आफ्नो देशमा सन् २०२६ को इन्डियन प्रिमियर लिग (आइपिएल) को प्रसारणमा रोक लगाएको छ।
भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले बंगलादेशी तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई प्रतियोगिताबाट हटाउने निर्णय गरेपछि बंगलादेशले यस्तो कडा कदम चालेको हो।
बंगलादेशको सूचना तथा प्रसारण मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ— ‘मुस्ताफिजुर रहमानलाई कुन आधारमा प्रतियोगिताबाट हटाइयो भन्नेबारे कुनै स्पष्ट कारण जानकारी गराइएको छैन। यसले बंगलादेशी जनताको भावनामा चोट पुर्याएको छ।’ मन्त्रालयका अनुसार यो निर्णय ‘जनहित’ लाई ध्यानमा राखेर लिइएको हो।
मन्त्रालयका सहायक सचिव फिरोज खानले हस्ताक्षर गरेको यस निर्णयसँगै बंगलादेशमा पहिलो पटक कुनै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रसारण रोकिएको छ। सन् २००८ मा आइपिएल सुरु भएदेखि नै बंगलादेशका टेलिभिजन र अनलाइन प्लेटफर्महरूले यसको प्रत्यक्ष प्रसारण गर्दै आएका थिए।
डिसेम्बरमा भएको आइपिएलको अक्सनमा मुस्ताफिजुर रहमानलाई कोलकाता नाइट राइडर्स (केकेआर) ले किनेको थियो। तर, शनिबार बिसिसिआईको निर्देशनपछि केकेआरले मुस्ताफिजुरलाई टिमबाट निकाल्यो। बिसिसिआईका सचिव देवजित सैकीयाले यसको पछाडि ‘हालैका केही घटनाक्रमहरू’ जिम्मेवार रहेको बताए पनि विस्तृतमा केही खुलाएका छैनन्।
पछिल्ला केही दिनयता भारतका केही धार्मिक र राजनीतिक नेताहरूले केकेआर र त्यसका मालिक शाहरुख खानको आलोचना गरिरहेका थिए। बंगलादेशमा हिन्दू अल्पसंख्यकहरूमाथि हमला भइरहेको रिपोर्टहरू आइरहेका बेला बंगलादेशी खेलाडीलाई टिममा राखेको भन्दै उनीहरू आक्रोशित थिए। यही कारणले गर्दा दुई देशबीचको सम्बन्ध बिग्रिएको छ।
यति मात्र होइन, बंगलादेशले भारतमा हुने टी–२० विश्वकपका आफ्ना खेलहरू अन्य देशमा सार्न अन्तर्राष्ट्रिय क्रिकेट परिषदसँग माग गरेको छ। साविकको तालिका अनुसार फेब्रुअरी ७ मा बंगलादेशले कोलकाताको इडेन गार्डेन्समा वेस्ट इन्डिजसँग पहिलो खेल खेल्ने कार्यक्रम थियो। तर, अहिले बंगलादेशले ती खेलहरू श्रीलंकामा सार्न पत्र लेखेको छ।
आइपिएलमा पाकिस्तानी खेलाडीहरूलाई पहिलेदेखि नै अघोषित प्रतिबन्ध लगाइएको भए पनि बंगलादेशी खेलाडीहरूले भने खेल्दै आएका थिए। मुस्ताफिजुर रहमान सन् २०१६ देखि आइपिएलमा नियमित खेल्दै आएका छन्। उनीसँगै शकिब अल हसन पनि आइपिएलका चर्चित खेलाडी हुन्।
यसअघि बंगलादेशबाट अब्दुर रज्जाक, मोहम्मद आश्रफुल, मशरफे मोर्तजा, तमिम इकबाल र लिटन दास जस्ता खेलाडीहरूले पनि विभिन्न समयमा आइपिएल खेलिसकेका छन्। मुस्ताफिजुर अहिले बंगलादेशमै भइरहेको ‘बंगलादेश प्रिमियर लिग’ मा रंगपुर राइडर्सबाट खेलिरहेका छन्।
प्रतिक्रिया