कुवेत। “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन क्षेत्रमा दोस्रो चरणको सरसफाइ अभियान सफलतापूर्वक सम्पन्न गरेको छ।
अभियानमा संस्थाका पदाधिकारी, सदस्यहरूका साथै कुवेती, इजिप्टेली, भारतीय तथा अन्य समुदायका स्थानीय बासिन्दाको समेत सक्रिय सहभागिता रहेको थियो।
यसअघि रक्तदान कार्यक्रम र समुद्री तट (सी–साइड) सफाइ सम्पन्न गरिसकेको संस्थाले यस पटक निरन्तरताका रूपमा सार्वजनिक पार्क सरसफाइ अभियान सञ्चालन गरेको हो। कार्यक्रम बिहान ७ बजे सुरू भई १० बजेसम्म सञ्चालन भयो।
सरसफाइसँगै सन्देश
कार्यक्रमका क्रममा सहभागीहरूले स्वच्छता, सामाजिक जिम्मेवारी र नागरिक चेतना विषयमा सन्देशमूलक अभिव्यक्ति राखे।
सफाइपछि सहभागीहरूका लागि चियापान तथा नास्ताको व्यवस्था गरिएको थियो, जसमा रानीमल नेपाली रेस्टुरेन्टका सञ्चालक कविराज थापाले विशेष सहयोग गरेका थिए।
त्यस्तै इन्डियन, कुवेती र इजिप्सियन नागरिकहरूले पनि कार्यक्रमप्रति चासो देखाउँदै फोटो र भिडियो खिचिरहेका थिए।
समुदाय सजग हुँदा मात्रै स्वच्छता सम्भव
युवा शक्ति कुवेतका अध्यक्ष विशाल डल्लाकोटीले स्थानीय प्रशासनको स्वीकृतिसाथ कार्यक्रम गरिएको बताए।
उनले भने—“समुदाय सजग भए मात्र स्वच्छ वातावरण सम्भव हुन्छ। सार्वजनिक पार्क, समुद्री किनारा र भीडभाड हुने स्थानको सरसफाइ सबैको जिम्मेवारी हो। यो अभियान निरन्तर चलाइनेछ, सबैको साथ–सहयोग आवश्यक छ।”
के पाउँछौं होइन — के दिन सक्छौं
संस्थाका सल्लाहकार विजय खत्रीले स्वच्छ वातावरण र सकारात्मक समाज एक–अर्कासँग जोडिएको बताए।
उनका अनुसार, “समाजमा बस्छौं भने समाजप्रतिको दायित्व पूरा गर्नुपर्छ। ‘के पाउँछौं?’ भन्दा ‘के दिन सक्छौं?’ भन्ने सोच अपनाउँदा मात्रै सामाजिक परिवर्तन सम्भव हुन्छ।”
युवा शक्ति कुवेतले सरसफाइ, सामाजिक सेवा, जनचेतना तथा जिम्मेवार नागरिक अभियानलाई निरन्तर अघि बढाइने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया