काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भावी प्रधानमन्त्रीका रूपमा बालेन शाहलाई अघि सार्न तयार देखिएका छन् । साथै रास्वपाले ६०/४० को भागबन्डासहित त्रिपक्षीय प्रस्ताव अघि सारेको स्रोतले जनाएको छ ।
काठमाडौँको ललितपुरस्थित ज्वागलमा बिहीबार राति अबेरसम्म बसेको बैठकमा रास्वपाले पार्टी एकताका लागि संरचनागत र चुनावी भागबन्डाको प्रस्ताव अघि सारेको हो । प्रस्तावअनुसार केन्द्रीय समिति र आगामी निर्वाचनमा रास्वपाले ४० प्रतिशत हिस्सा राख्ने, बालेन शाह र कुलमान घिसिङलाई २५/२५ प्रतिशत दिने तथा बाँकी १० प्रतिशत जेनजी (Gen Z) समूहलाई दिने उल्लेख छ ।
स्रोतका अनुसार भावी नेतृत्वको विषयमा रास्वपा सभापति लामिछाने बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि बढाउन सकारात्मक देखिएका छन् । यद्यपि पदाधिकारीको बाँडफाँडबारे अन्तिम टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ ।
‘रास्वपाको तर्फबाट ४०, २५/२५ र १० प्रतिशतको भागबन्डा गर्न सकिने प्रस्ताव गरिएको हो । भावी प्रधानमन्त्री बनाउने विषयमा रविजी सकारात्मक हुनुहुन्छ,’ स्रोतले भन्यो, ‘पदाधिकारी पछि टुङ्गो लगाउने भनिए पनि बालेनजीले त्यसमा सहमति जनाइसक्नुभएको छैन । कुलमानजीको विषयमा भने हिजो राति १० बजेसम्म टुङ्गो लागिसकेको छ ।’
एकता सहमतिमा ‘फाइनल टच’ दिन रास्वपाको राजनीतिक संवाद समितिका सहसंयोजक शिशिर खनाल र बालेनको तर्फबाट कुमार बेन सक्रिय गृहकार्यमा जुटिरहेका छन् । उनीहरूबीच छलफल भइरहेको स्थान दुवै पक्षले गोप्य राखेका छन् ।
तीनै पक्षबीच निर्णायक सहमतिको प्रयासस्वरूप पुनः बैठक बस्ने तयारी रहेको बुझिएको छ । रवि, बालेन र कुलमानबीचको प्रत्यक्ष बैठकमा सहमति जुटे आजै रातिसम्म हस्ताक्षर हुन सक्ने स्रोतको दाबी छ ।
तर बालेन पक्षले शक्ति सन्तुलन (पावर ब्यालेन्स) स्पष्ट नहुन्जेल सहमति गर्न नसकिने अडान लिएको छ । रास्वपाको प्रस्तावलाई सकारात्मक रूपमा लिइए पनि ठुलो दल भएकाले शक्ति सन्तुलन कसरी कायम रहने भन्नेमा ठोस खाका नआएको बालेन पक्षको भनाइ छ ।
यता कुलमान घिसिङले भने रविसँग एकताको विषयमा कुनै औपचारिक संवाद नभएको दाबी गरेका छन् । उज्यालो नेपालका संरक्षकसमेत रहेका घिसिङले आफूलाई यसबारे जानकारी नभएको बताएका छन् ।
प्रतिक्रिया