• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    उज्यालो नेपाल पार्टीको बैठकमा कुलमान सहभागी, बालेनसँगको भेटबारे ब्रिफिङ

    614
    SHARES



    काठमाडौं । उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा शनिबार दिउँसोदेखि जारी छ। बैठकमा हालको राजनीतिक परिस्थिति, संगठनात्मक विस्तार र आगामी रणनीतिबारे समीक्षा भइरहेको पार्टी नेताहरूले जानकारी दिएका छन्। बैठकमा पार्टीका संरक्षक तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ पनि सहभागी छन्।

    बालेनसँगको भेटपछि बैठकमा ब्रिफिङ

    बैठकमा आउँदै गर्दा घिसिङले बिहानै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग भेटवार्ता गरेका थिए। उक्त भेटमा भएका कुराकानीबारे अहिले पार्टी बैठकमा उनले ब्रिफिङ गरिरहेको एक नेताले बताए। उनका शब्दमा, “उहाँ बैठकमा सहभागी हुनुहुन्छ।

    विशेषगरी बालेनसँग भएका कुराकानीबारे ब्रिफिङ हुने जानकारी छ।” मेयर शाहले पछिल्ला दिनहरूमा विभिन्न राजनीतिक व्यक्तित्वसँग भेटवार्ता तीव्र पारेका छन्।

    यस्तै शनिबार नै काठमाडौंको बौद्धमा उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री घिसिङले राजनीतिक एकताबारे आफ्नो धारणा स्पष्ट पारे।

    उनले भने, “एकताको अर्थ अरुलाई समाप्त गर्नु होइन। सबैको अस्तित्व स्वीकार गर्दै, सबैलाई सम्मान हुनेगरी अगाडि बढ्नु नै साँचो एकता हो।”

    राष्ट्रिय स्वतन्त्र पार्टी, मेयर बालेन शाह र आफ्नो पार्टीबीच ‘एकताको सम्भावना’ बारे चर्चा भइरहेको सन्दर्भमा उनले अहंकार त्यागेर साझा उद्देश्यका लागि एकजुट हुनुपर्ने बताए।

    परिवर्तन अपरिहार्य, नयाँ नेतृत्वको खोजी

    देशमा राजनीतिक परिवर्तन अपरिहार्य भइसकेको उल्लेख गर्दै घिसिङले जनताले इमानदार र जनउत्तरदायी नेतृत्व छान्नुपर्नेमा जोड दिए। उनका अनुसार आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन देशको भविष्य बदल्ने अवसरका रूपमा लिनुपर्छ। “अब देश पुरानै ढर्राबाट अघि बढ्न सक्दैन,” उनले भने, “देशलाई नयाँ शिराबाट अघि बढाउन सक्ने नेतृत्व आवश्यक छ।”

    उज्यालो नेपाल पार्टीको पहिचान जनजीवनसँग जोडिएको बताउँदै उनले भने, “घरमा बत्ती बल्यो भने उज्यालो हुन्छ — त्यही उज्यालोबाट उज्यालो नेपाल चिनिनुपर्छ।” उनका अनुसार सानो अभियानबाट सुरु भएको पार्टी अब राष्ट्रिय स्तरमा फैलिँदै गएको छ।

    “एउटा सानो उज्यालोको झिल्को अब देशैभर फैलिँदैछ,” घिसिङले भने, “यसले नेतृत्व परिवर्तनको आधार बनाउँदैछ।” बैठकमा भएका छलफल र निष्कर्षबारे पछि आधिकारिक रूपमा जानकारी दिने तयारी गरिएको पार्टीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ