काठमाडौँ । नेपाल शिक्षक महासंघका अधिकारीहरू सरकारसँग वार्ता गर्न गएको भनिएपनि मन्त्रालय प्रवेश नगरी फर्किएका छन् । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विशेष कारणवश आज आफूहरू मन्त्रालय प्रवेश नगरी फर्किएको जानकारी दिए ।
उनले नवनियुक्त शिक्षामन्त्रीलाई बधाई दिने प्रयोजनका लागि मात्रै आफूहरू सिंहदरबार गएको पनि दाबी गरे । ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ । तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौँ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।
उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय नामावली नेपाल शिक्षक महासङ्घले तयार नगरेको पनि बताए । यसअघि शिक्षा मन्त्रालयले शिक्षकहरुलाई वार्ताका लागि आह्वान गरेको थियो । यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शिक्षकहरूलाई मागमा लचिलो भएर वार्तामा बस्न र समस्या समाधानको उपाय खोज्न आग्रह गरेका थिए ।
शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पन्तले भनेका थिए, ‘सरकार शिक्षकहरूसँग वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न प्रतिबद्ध छ । शिक्षक साथीहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह गर्दछु ।’ उनले संविधान, कानुन र बजेटको सीमाभित्र रहेर समस्याको समाधान खोजिने बताएका थिए ।
सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सरकार वार्ताका लागि दबाबमा रहेको छ। तर, तीन सातादेखिको आन्दोलन जारी रहँदा वार्ता अझै हुन सकेको छैन। शिक्षकहरू विद्यालय शिक्षा ऐनको माग गर्दै आन्दोलनरत छन्।
प्रतिक्रिया