काठमाडौँ । प्रतिनिधि सभा सदस्य समेत रहेका राप्रपा नेता दीपकबहादुर सिंहले सरकार नसुध्रिए बंगलादेश र श्रीलंकाको अवस्था आउने चेतावनी दिएका छन् ।
मंगलबार काठमाडौंको बल्खुमा जारी प्रदर्शनको सभालाई सम्बोधन गर्दै उनले अहिले देशमा राजतन्त्रबाहेकको कुनै विकल्प नभएको जिकिर गरे ।
‘अहिले पनि यो सरकार सुध्रिएन भने बंगलादेश र श्रीलंकाको अवस्था जनताले ल्याउनेछ,’ उनले भने, ‘राजा बाहेक अरु विकल्प हामीसँग छैन । देश बचाउनका लागि जनतालाई यहीँ रोजगारी दिनका लागि राजाबाहेक अरु विकल्प छैन ।’
नेता सिंहले वर्तमान सरकार नालायक र भ्रष्टाचारीको संरक्षणमा लागेको भन्दै राजासहितको प्रजातन्त्रका लागि तयार रहन आग्रह गरे ।
‘देश समाप्त हुने तरखरमा पुगेको छ । भ्रष्टाचारले चुर्लुम्म डुबेको छ’, सिंहले भने, ‘एक महिनाअघि राष्ट्र बैंकको गभर्नर नियुक्त गर्नुपर्नेमा गर्न सकेका छैनन्, यो नालायक सरकार हो भन्ने यसैबाट प्रमाणित भएको छ ।’
प्रतिक्रिया