काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादी वितण्डाको विरोध गर्दा सरकारलाई राहत मिलेको जस्तो देखिए पनि त्यसमा सत्यता नभएको बताएका छन् ।
नेवा राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले सरकारकै कारण प्रतिगामीहरूले टाउको उठाउन खोजेको बताए ।
‘अहिले प्रतिगामीहरूले टाउको उठाउन खोजिरहेका छन्, यसको एउटा मुख्य कारण हो–एमाले नेतृत्वको कांग्रेस समेतको गठबन्धन सरकारले भ्रष्टाचारीहरूको पक्षमा लिएका गतिविधि, कामकारबाही र निर्णयहरू हुन् । राम्रो काम गर्ने जतिलाई लखेट्ने, नराम्रो काम गर्नेलाईं पुरस्कृत गर्ने । आफ्ना जतिसुकै भ्रष्ट भए पनि तिनको रक्षा गर्ने, अरूको जतिसुकै राम्रा भएपनि लखेट्ने अपनाएको छ यो सरकारले,’ उनले भने ।
सुशासन, समाजानिक न्याय र आर्थिक समृद्धिको पक्षमा काम गर्दागर्दै दलाल, बिचौलिया र नोकरशाहीतन्त्रको भरमा आफू नेतृत्वको सरकारलाई विस्थापित गरेको उनको भनाइ थियो ।
गैरलोकतान्त्रिक, असंवैधानिक, अपारदर्शी गतिविधि गरेकै कारण वर्तमान सरकारप्रति जनतामा निकै ठूलो आक्रोश रहेको उनले बताए ।जनतामा आक्रोश देखिएकै बेला धमिलो पानीमा माछामार्ने ढंगले तथाकथित राजावादीहरूले प्रतिगमनकारी क्रियाकलाप बढाएको उनको भनाइ छ ।
‘हामी केपी ओलीविरुद्धको संघर्ष केन्द्रित गर्दै थियौं । त्यो दिन राजावादीहरूको वितण्डाको विरोध गर्नेपर्ने भयो । त्यो वितण्डाको विरोध गर्दा सरकारलाई राहत मिलेको जस्तो देखिएको छ । जनविरोधी सरकारकै कारण प्रतिगमीले टाउको उठाउने मौका पाएको हो । त्यसका कारण सरकारप्रति नरम हुने कुरै भएन,’ प्रचण्डले भने ।
प्रतिक्रिया