• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आजदेखि त्रिभुवन विमानस्थल १८ घण्टा सञ्चालनमा, रात्रीकालीन उडान सीमित

    1.3K
    SHARES



    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) आज (मंगलबार)देखि दैनिक १८ घण्टा सञ्चालनमा आउने भएको छ। सोमबारसम्म १४ घण्टामा सीमित रहेको सञ्चालन अवधि थप गर्दै नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नयाँ उडान तालिका सार्वजनिक गरेको छ।

    विमानस्थलको स्तरोन्नति कार्य आंशिक रूपमा सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) को मापदण्डअनुसार सञ्चालन अवधि लम्ब्याइएको हो। अब विमानस्थल बिहान ६ बजे खुल्ने र राति १२ बजे बन्द हुनेछ। यसअघि बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म मात्र सञ्चालनमा थियो।

    तर, अहिले तोकिएको सञ्चालन अवधि कात्तिक २३ अघिको भन्दा कम हो । विमानस्थलको स्तरोन्नति सुरु हुनुअघि विमानस्थल राति साढे २ बजेसम्म सञ्चालन हुन्थ्यो भने बिहान ६ नबज्दै नै खुलिसक्थ्यो । अहिले सञ्चालन अवधिलाई रातमा २ घण्टा तथा बिहानको १ घण्टा घटाइएको छ । अब यो नै विमानस्थलको पूर्णकालीन सञ्चालन अवधि नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारी बताउँछन् ।

    विमानस्थलमा रात्रीकालीन उडान सीमित गर्नुको पछाडि लागत कटौती प्रमुख कारण रहेको छ। राति साढे २ बजेसम्म सञ्चालन गर्दा केही मध्यपूर्वीय एयरलाइन्स मात्र आवतजावत गरिरहेका थिए, जसका लागि थप खर्च आवश्यक हुने भएकाले समय सीमित गरिएको नागरिक उड्डयन अधिकारीहरूले बताएका छन्।

    “कम उडानका लागि रातभर विमानस्थल सञ्चालन गर्दा अतिरिक्त खर्च अनावश्यक रूपमा बढ्ने भएकाले राति १२ बजे नै बन्द गर्ने निर्णय लिइएको हो। यसले विमानस्थलका उपकरणहरूलाई आवश्यक विश्राम दिने र करोडौं रुपैयाँ बचत गर्न सहयोग गर्छ,” एक उच्च अधिकारीले बताए।

    यसबाहेक, विमानस्थल वरपरका बासिन्दाहरूको शान्ति सुरक्षालाई ध्यानमा राख्दै रातभरीका उडानलाई सीमित गरिएको हो। साथै, यो निर्णयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानलाई प्रवर्द्धन गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

    ईयूको कालोसूची र नयाँ रणनीति
    नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरूका अनुसार केही मध्यपूर्वीय एयरलाइन्सहरूले नेपाललाई ईयूको कालोसूचीमा राखिराख्न भूमिका खेलेको आशंका गरिएको छ। नेपाल ईयूको सेफ्टी लिस्टबाट हट्न प्रयासरत छ, तर कतिपय विदेशी एयरलाइन्सले महँगो भाडा उठाउने उद्देश्यले नेपाललाई सूचीबाट हट्न नदिन दबाब दिइरहेको बताइन्छ। नेपाल सन् २०१४ देखि ईयूको कालोसूचीमा रहँदै आएको छ। यद्यपि, नेपालले आईकाओका मापदण्ड पुरा गरे पनि ईयूले थप नयाँ शर्तहरू राख्दै आएको छ।

    कर्मचारीको आन्दोलन जारी
    यसैबीच, नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने सरकारी विधेयकविरुद्ध प्राधिकरणका कर्मचारीहरू ११ दिनदेखि आन्दोलनरत छन्। ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक–2081’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक–२०८१’ को विरोधमा कर्मचारीहरूले पेन डाउन आन्दोलन गर्दै आएका छन्।

    विधेयक हाल प्रतिनिधिसभामा पेश भइसकेको छ तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको विदेश भ्रमणका कारण यसलाई हाल कार्यसूचीमा राखिएको छैन। संसद्को बर्खे अधिवेशनमा मात्र छलफल अघि बढ्ने सम्भावना देखिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ