काठमाडौं । नेकपा (एमाले)ले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनचेतना फैलाउन देशभर व्यापक अभियान सञ्चालन गर्ने भएको छ। राजावादी शक्तिहरूले फैलाएको भ्रम चिर्न र नागरिकलाई सचेत बनाउन एमालेले विभिन्न कार्यक्रम गर्ने जनाएको छ।
सोमबार देशभरका ६,७४३ वडामा एकैसाथ सचेतना कार्यक्रम आयोजना गरिने एमाले सचिव योगेश भट्टराईले जानकारी दिएका छन्। उनका अनुसार सचिवालय बैठकको निर्णयअनुसार वडास्तरीय सभा, गोष्ठी र प्रदर्शन लगायतका विविध सचेतनामूलक कार्यक्रमहरू संचालन गरिनेछ।
एमालेले चैत १८ गते धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्याली गर्ने घोषणा गरिसकेको छ। त्यस्तै, सोही दिन ७७ वटै जिल्लामा जिल्लास्तरीय जागरण सभा आयोजना गर्ने तयारी गरिएको छ।
चैत २४ देखि ३० गतेसम्म बागमती बाहेकका सबै प्रदेशमा विशेष प्रदर्शन र जनसभा आयोजना गरिनेछ। बागमती प्रदेशका लागि भने कार्यक्रम पछि तोकिने एमालेले जनाएको छ।
प्रतिक्रिया