काठमाडौं । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूबीच आज (सोमबार) बैठक बस्दैछ। सिंहदरबारमा अपराह्न ४ बजे बस्ने बैठकमा संक्रमणकालीन न्याय (टीआरसी) लगायतका विषयमा छलफल हुने बताइएको छ।
प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानमा रहेका कारण काठमाडौँ बाहिर थिए। उनी आइतबार नै फर्कने भनिए पनि विशेष कारणबस सोमबार फर्किन लागेका छन्, जसअनुसार बैठकको समय तय गरिएको हो।
बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) र बेपत्ता छानबिन आयोगका पदाधिकारी नियुक्ति प्रक्रियाबारे छलफल केन्द्रित हुने बताइएको छ।
चैत ६ गते प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रकी सांसद विमला सुवेदीले सोधेको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डसँग सम्पर्क भइरहेको बताएका थिए। ओलीले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सरकार प्रतिबद्ध रहेको समेत स्पष्ट पारेका थिए।
यसअघि, टीआरसीको विषयमा छलफल गर्न प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल चैत ४ गते खुमलटार पुगेका थिए। तर, प्रचण्डको स्वास्थ्यका कारण सो दिन छलफल हुन सकेन। आज बस्ने बैठकमा तीन दलबीच संक्रमणकालीन न्याय टुंग्याउने विषयमा सहमति खोजिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया