काठमाडौं । काठमाडौं महानगरपालिका संगको सहकार्यमा नेपाल एकायन कराते संघद्वारा आयोजित दुई दिने प्रथम काठमाडौं महानगरपालिका उपमेयर कप उपत्यकाव्यापी अन्तरपालिका एकायन कराते प्रतियोगिता सम्पन्न भएको छ।
राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा संचालन भएको खेल प्रतियोगिता काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल, इमेज च्यानलका महाप्रबन्धक रघुवर भक्त मानन्धर, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइ कृष्ण बलामी, एन आर एन उपाध्यक्ष रोजिना प्रधान राई लगायतले बिजयी खेलाडीहरुलाई पदक तथा पुरस्कार प्रदान गरे ।
पदक तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै उपमेयर डंगोलले काठमाडौं महानगरपालिकासंगको सहकार्यमा नेपाल एकायन कराते संघद्वारा आयोजित यस प्रतियोगितालाई सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् ।
साथै प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा आयोजक तथा सहभागी खेलाडीहरुलाई बधाई दिइन् । आगामी दिनहरुमा पनि एकायन करातेलाई आफु तथा महानगरपालिकाका तर्फबाट अझ बढी सहयोग गर्ने समेत उनको प्रतिबद्धता थियो ।
यसैगरि काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाईकृष्ण बलामीले नेपालमा सिर्जित एकायन करातेलाई अझ बढी परिष्कृत र विकास गर्न समितिका तर्फबाट आफुले सक्दो सहयोगन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
समापन समारोहका अवसरमा कार्यक्रम संयोजक तथा नेपाल एकायन कराते संघका सल्लाहकार एवं साउथ एसियन एकायन करातेफेडरेसेनका प्रथम उपाध्यक्ष शशी कपालीले संघका आगामी प्रतियोगिता तथा कार्यक्रमहरुको बारेमा प्रकाश पारे।
प्रतियोगितामा महिलातर्फ ६ तथा पुरुषतर्फ ८ गरी कूल १४ तौल समूह रहेका र १ सय ९४ खेलाडीको सहभागिता रहेको थियो ।
प्रतिक्रिया