काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रीय समितिको दोस्रो दिनको बैठक जारी रहेको छ ।
बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले जसपाका अध्यक्ष अशोक राईले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा आफ्नो धारणा राखिरहेका छन् । राजनीतिक प्रतिवेदनमाथि आआफ्नो धारणा राखिसकेपछि संशोधनसहित त्यो प्रतिवेदन पास हुने सो पार्टीका उपमहासचिव एवं स्वास्थ्य मन्त्री प्रदीप यादवले बताए ।
उनले भने, ‘केन्द्रीय सदस्यले राखेको जिज्ञासाको जवाफ पार्टी नेतृत्वले दिन्छ । त्यसपछि संगठन निर्माणका रणनीतिबारे छलफल भई बैठक सकिन्छ ।’
उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग भएर अशोक राईसहित सात जना सांसदले जसपा गठन गरेका छन् । पार्टी विभाजनको विरुद्धमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । उक्त मुद्दामा सर्वोच्च अदालतले अल्पकालिन आदेश जारी गरेको छ ।
प्रतिक्रिया