• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    सभामुख र प्रमुख सचेतकहरूबीचको बैठक बिना निष्कर्ष टुंगियो

    464
    SHARES



    काठमाडौँ । सभामुख देवराज घिमिरेसँग राष्ट्रिय दलको मान्यता प्राप्त दलका प्रमुख सचेतक र सचेतकहरूको छलफल बिना निष्कर्ष टुंगिएको छ ।

    कांग्रसले संघीय संसद्को बजेट अधिवेशनका बैठक उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नगरेसम्म अवरोध गर्ने जानकारी गराएको छ । सभामुखको कार्यकक्ष सिंहदरबारमा बिहीबार भएको बैठकमा शुक्रबारबाट सुरु हुने बजेट अधिवेशन व्यवस्थित बनाएर लैजाने बारेमा छलफल भएको हो ।

    बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम हिनामिनाको आरोप लगेको भन्दै संसदीय छानबिन समिति बनाउनैपर्ने अडान राखेको थियो । कांग्रेसले संसद् अवरोध गर्ने पुरानो अडान राखेसँगै सभामुखले बोलाएको बैठक सकिएको थियो । बैठक पुनः शुक्रबार बोलाइएको छ ।

    बैठकबारे एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधिसभाको बैठकमा शिर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची तय भएको र शिर्ष नेताहरूको सम्बोधनमा प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहजतापूर्वक सभा सञ्चालन गर्न दिनुपर्ने बारेमा छलफल भएको बताए ।

    नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले शुक्रबारको प्रतिनिधिसभा बैठक सञ्चालनका लागि प्रमुख प्रतिपक्ष र प्रतिपक्ष सबैले सहयोग गर्नुपर्ने बताए । बजेट अधिवेशन भएकाले सुरु हुने र राम्रोसँग व्यवस्थित हुनेमा आशावादी रहेको उनको भनाइ छ ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस र एमालेको संसदीय दलको बैठक शुक्रबार नै बस्ने भएकाले थप निर्णय नभएपनि संसद् सामान्य हिसाबमा नै अघि बढ्ने बताए । उनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने बताए ।

    उनले संसद्प्रति सबै राजनीतिक दल गम्भीर बन्नुपर्ने धारणा राखे । राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले संसद् बैठक सञ्चालनमा अझै कुरा नमिलेको र कांग्रेसको संसदीय दलको बैठकपछि थप निर्णय हुने जानकारी दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ