काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्षका उम्मेदवार बनेका नारायण दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भाई भएर जिम्मेवारी पाएको भनेर सुन्दासुन्दा कान पाकेको बताएका छन्।
सोमबार उम्मेदवारी दिएलगत्तै उनले यस्तो टिप्पणी गरेको हुन्। उनी सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय सभामा अध्यक्षको उम्मेदवार बनेका छन्। नेकपा (एमाले), जनता समाजवादी पार्टी दल उनको समर्थक छन्।
‘यी कुरा सुन्दासुन्दा मेरा कान पाकिसके। मुख थाकिसके। अहिले होइन, अन्तरिम व्यवस्थापिकामा जब म प्रवेश गरेँ, त्यो बेलादेखि नै यस्तो सुन्दै आएको छु। पार्टीको सामान्य जिम्मेवारी प्रदेशको सहइन्चार्जको रूपमा जाँदा पनि त्यसखालको आरोप व्यहोर्नुपर्यो,’ उनले भने।
उनले प्रधानमन्त्री प्रचण्डले भाइलाई उम्मेदवार बनायो भनेर प्रश्न गर्नेहरूलाई आफू २०३६ सालमै पार्टीमा लाग्दा तिनीहरू कति वर्षका थिए? भनेर प्रश्न गर्न मन रहेको बताए।
‘त्यसो भन्नेहरूलाई म २०३६ सालमा यो पार्टीमा प्रवेश गर्दा तपाईं कति वर्षको हुनुहुन्थ्यो भनेर सोध्न चाहन्छु। जसलाई म कुन बेला कसरी लागेँ भन्ने कुरा, युद्धमा कहाँ कसरी खटेँ भनेर थाहै छैन, उसैले यो प्रश्न गर्दा कत्तिको न्यायसंगत होला? मलाई आफैंलाई ताज्जुब लाग्छ। अहिले दाजुभाइको नाता पर्ने हिसाबकिताबले हुन्न भन्ने हो भने दाइ युद्धमा हिँडेको छ, तँ हिँड्न पाउँदैनस् किन नभनेको? अहिले पाउँदैनस् भन्नेले दाइ युद्धमा हिँडेको छ तँ किन हिँडेको? मिल्दैन भनेर कसैले किन भनेन,’ उनले भने।
‘जनयुद्ध’ का बेला युद्धमा जान एक दिन ढिला भयो भने आफ्नो मानिस बचाउन खोज्यो भनेर आरोप लाग्ने गरेको पनि उनले सुनाए। पार्टीभित्रै पनि नेताहरुले प्रचण्डको भाइ भएका कारण अवसर पाएको भनी टिप्पणी गरेको भन्दै उनले रोष प्रकट गरे ।
१६ फागुनमा बसेको पार्टीको स्थायी समिति बैठकले दाहाललाई बागमती प्रदेशको सहइन्चार्जको जिम्मेवारी दिने प्रस्ताव आएको थियो । उक्त प्रस्तावको उपमहासचिव जनार्दन शर्माले विरोध गरेका थिए । त्यसपछि यो विषयमा निर्णय भएन ।
सत्ता गठबन्धनका उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् । आफू अध्यक्ष निर्वाचित भएमा निष्पक्ष भूमिका निर्वाह गर्ने दाहालको प्रतिवद्धता छ । उनी भन्छन्, ‘म राष्ट्रपतिबाट मनोनित भएर राष्ट्रिय सभामा आएको हुँ । म कुनै पार्टी विशेषबाट आएको छैन । दुई वर्ष सभामा बस्दा म अलग्गै बसेँ । पार्टीको बीचमा बसेको छैन ।’
राष्ट्रियसभामा तत्काल केही विधेयकहरु पास गर्नुपर्ने भएकाले त्यसलाई प्राथमिकता दिने उनले बताए । राष्ट्रिय सभाको गरिमा बढाउन आवश्यक रहेको भन्दै दाहालले त्यसमा ध्यान दिने बताए ।
‘संविधानमा लेखिएको र राष्ट्रिय सभालाई बुझ्ने कुरामा जुन खालको अन्तर जस्तो देखिएको छ । त्यसलाई चिर्दै संविधानतः राष्ट्रिय सभालाई जुन मान्यता दिइएको छ जुन रुपमा राख्न खोजिएको छ त्यो स्तरमा पुर्याउनुपर्छ भन्ने लागेको छ’, उनले भने ।
प्रतिक्रिया