काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनको तयारी र पार्टीका सांगठनिक विषयमा छलफल गर्न आज केन्द्रीय समिति बैठक बोलाएको छ।
पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बैठक दिउँसो ३ बजे काठमाडौंको वनस्थलीस्थित घन्टीघरमा बस्ने तय भएको छ।
रास्वपाका अनुसार बैठकमा स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य मनोनयन गर्ने विषयमा छलफल हुनेछ। साथै, पार्टीका विभागीय प्रमुख तथा उपप्रमुख नियुक्तिका विषयले पनि बैठकमा स्थान पाउनेछन्।
त्यसैगरी, केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यहरूको नेतृत्वमा सञ्चालन गर्ने तयारी गरिएको ‘हामी आउँदै छौं’ अभियानबारे छलफल गरिने कार्यसूची छ।
बैठकमा मधेस प्रदेश संगठनको अडिट प्रतिवेदनमाथि पनि छलफल हुनेछ। यसबाहेक अन्य विविध विषयसमेत बैठकको कार्यसूचीमा समावेश गरिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
प्रतिक्रिया