• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी समाचार

    एनआरएनएमा फेरि भाँडभैलोपछि सोल्टी होटलमा नारा : शेष-विनोद आउ, एनआरएनए बचाउँ

    4.7K
    SHARES



    काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएन) बद्री समूहको चुनावी लफडा साइबर ब्यूरोमा पुगेको छ । काठमाडौँको पाँचतारे होटल सोल्टीमा निकै तामझामका साथ उद्घाटन गरिएको ११ औं विश्व सम्मेलन तथा महाधिवेशन अन्ततः बिथोलिएको छ । नयाँ नेतृत्व चयनको लागि भएको मतदानमा धाँधली भएको छ । अध्यक्षका प्रत्यासीले चुनाव परिणामलाई स्वीकार नगरेपछि नैतिक संकटमा पुगेको बद्री समूह अन्ततः पूर्वनिर्धारित कार्यक्रम स्थगित बाध्य भएको छ ।

    गएराति सार्वजनिक गरिएको परिणाम अनुसार वर्तमान कार्यकारी अध्यक्ष बद्री केसीलाई जितको घोषणा गरिएको थियो । त्यसलाई चुनौती दिँदै अध्यक्षको प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठ शुक्रबार संयुक्त रुपमा साइबर ब्यूरोमा पुगेका थिए । उनीहरुले अनलाइन भोटिङ सिस्टम नै ह्याक गरेर परिणाम आफ्नो पक्षमा ल्याएको दाबी गरेका छन् ।

    पराजित मात्रै होइन निर्वाचित पदाधिकारीले पनि चुनाव निष्पक्ष नभएको बताएका छन् । उनिहरुले परिणाम स्वीकार गर्न नसकिने बताएका छन् । विवाद प्रहरीकोमा पुगेपछि आज हुने भनिएको घोषणा तथा समापन समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएनन् । निर्वाचनको निष्पक्षमाथि नै प्रश्न उठेपछि र महाधिवेशन नै विवादित बनेपछि प्रधानमन्त्री कार्यक्रममा सहभागी नभएका हुन् ।

    उपेन्द्र–जिबालाई शर्मा र श्रेष्ठको दिए यस्तो जवाफ

    चुनावको परिणाम स्वीकार गर्न संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो र पूर्वअध्यक्ष जिवा लामिछानेले अध्यक्षका प्रत्यासी आरके शर्मा र महेश श्रेष्ठलाई दवाव दिएका थिए । परिणाम सार्वजनिक गरेलगत्तै विरोधमा उत्रिएका शर्मा र श्रेष्ठलाई शुक्रबार उपेन्द्र र जिबाले बोलाएर केसीलाई स्वीकार गरेर जान दवाव दिएका थिए ।

    शर्मा र श्रेष्ठले केसीलाई कुनैपनि हालतमा अध्यक्ष स्वीकार नगर्ने बरु विनोद कुँवरलाई अध्यक्ष मानेर अगाडि बढ्ने बताएका थिए । “धाँधली गरेर आफूले जितेको घोषणा गरिएृको छ, केसीलाई कुनैपनि हालतमा अध्यक्ष मान्न सकिँदै बरु विनोद कुँवरको टीममा गएर अध्यक्ष मान्न तयार छौं । शेष–विनोदले घोषणा गरेको महाधिवेशनको तयारीमा लाग्छौं” शर्मा र श्रेष्ठको भनाई उदृत गर्दै स्रोतले भन्यो ।

    उपेन्द्र र जिवालाई समेत चुनौती दिँदै शर्मा र श्रेष्ठ निष्पक्ष छानविनको लागि माग गर्दै साइबर ब्यूरो पुगे । विवाद समाधान नभएसम्म समापन समाराेहमा सहभागी नहुने संकेत प्रधानमन्त्रीले सन्देश पठाएपछि तीनवटै अध्यक्षले संयुक्त रुपमा विज्ञप्ति जारी गरेर घोषणासभा तथा समापनलगायत सम्पूर्ण स्थगित गरिएको जनाए ।

    सोल्टीमा शेष र विनोदको माग र खत्रिको चर्चाः

    आज हुने भनिएको समापन समारोहको लागि होटल सोल्टीमा पुगेका गैरआवसीय नेपालीहरु आज दिनभर अन्यौलमा र तनावपूर्ण अवस्थामा रहे । उनीहरुले १० औं महाधिवेशनमा विवाद र अहिलेको अवस्था आउनुमा केसी समूह बढी जिम्मेवार रहेको बताइरहेका थिए ।

    सहभागीहरुले शेष घले र विनोद कुँवरको टीमलाई सम्झिए । गैरआवसीय नेपालीको लागि शेष–विनोद टीमको विकल्प नभएको भन्दै सोल्टीमा सहभागी केहीले उनीहरुको माग गर्दै नारा समेत लगाएका थिए । “शेष–विनोद आउ, एनआरएनए बचाऊ, अबसरवादी केसी बाइबाइ” जस्ता नारा पनि लगाएका थिए ।

    शेष घले र विनाेद कुँवर अहिले नेपालमा छैनन् । उक्त टीमको तर्फबाट नेपालमै आफ्नो धारणा राखिरहेका दिपेश खत्रीलाई जिउँदो एनआरएनए भन्दै अधिकांशले प्रशंसा गरे । खत्रिले निर्वाचन स्थगित गर्न माग गर्दै अदालत समेत गएका थिए । उनले केसीको लगानी रहेको अनलाइन भोटिङ कम्पनीले निष्पक्ष चुनाव गर्न नसक्ने सार्वजनिक रुपमा बताउँदै आएका थिए ।

    शेष–विनोद पक्षले आगामी मार्च २ र ३ मा विश्व सम्मेलन गर्ने निर्णय गरेको छ । केसी समूहको बद्मासीका कारण अधिकांश गैरआवसीय नेपालीहरु उक्त सम्मेलनमा सहभागी दाबी गरिएको छ । “एनआरएनएको अब मुल धारा विनोद कुँवरले नेतृत्व गरेको पक्ष हो । अब त्यसको विकल्प छैन” एक सहभागीले भने । उनले आफू मार्चमा हुने विश्व सम्मेलनमा सहभागी हुने समेत बताए । उनले महताे- जिवा, भवन कोही पनि गैरआवसीयको लागि जिम्मेवार नभएको समेत बताए ।

    उनले शेष घलेको भिजन २०२० अहिले आएर बल्ल बुझिएको बताए । “शेष दाईको भिजन २०२० बल्ल २०२३ मा आएर बुझियो, उहाँ मात्रै एनआरएनएको अभिभावक रहेको भन्दै संकटको बेला सबैलाई एक जुटाउन शेष दाईले मात्रै सक्नुहुन्छ” अर्का सहभागीले भने । उनले एनआरएनएमा जबरजस्त विवाद सिर्जना गरी विभाजित बनाउनेहरु महताे-बद्रीलाई नेता मान्न नसक्ने समेत बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया