• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    Uncategorized कभर स्टोरी

    शनिबारे स्वास्थकर्मी बली सर !

    10.5K
    SHARES



    हिक्मत रावल । शनिबारको दिन घरमै बसेर दिन बिताउन अत्यन्तै कठिन लाग्ने । आफू शिक्षक भएर पनि होला शनिबार प्राय अभिभावक र बालबालिकासँगै बिताउन रमाइलो लाग्छ । शनिबार आएपछि झोलामा थर्मस , थर्मसमा तातो पानी बोकेर हिँडि हालिन्थ्यो । मलाई एउटा कौतुहलताले कुत्यकुत्याएको थियो । कार्मारोङाका डाक्टर बलि ! नाम धेरै पटक सुनेको थिए उहाँलाई भेट्ने तीब्र इच्छा थियो ।

    उहाँको अर्को नाम पनि थियो शनिबारे डाक्टर !

    मुगु जिल्लाको उतर पुर्वतिर पर्ने मकार्मारोङ गाउँपालिका ऐतिहासिक पर्यटकीय स्थल रारा छाँयानाथको काखमा छ । करिब नब्बे प्रतिशत जनजाती समुदायको बसोबास रहेको स्थान मुगुम कार्मारोङ गाउँपालिका चिनसँग सिमाना जोडिएको छ । मुगु जिल्लाकै सबैभन्दा ठूलो भूगोल रहेको उक्त गाउँपालिका भौगोलिक हिसाबले अत्यन्तै विकट छ । सोह्र ओटा गाउँ रहेको त्यस गाउँपालिकामा प्रत्येक महिनाको दुई शनिबार नि:शुल्क उपचार दिदै हिँडिरहन्छ्न कार्मारोङका बली !

    यो पटकको शनिबार मलाई कर्मारोङका बली भेट्नु थियो । विद्यालयमाबाट पालिका पुग्नै झन्डै तीन घन्टा लाग्ने गर्छ । उहाँलाई भेट्ने इच्छाले होला म पुस महिनाको कठ्याँग्रिदो  जाडोमा ६ बजे नै उठेर मुगु कर्णाली तिरैतिर पालिकाको कार्यलय भएको ठाउँ पुगे । पालिका पुग्दा उहाँ बिहानै सात बजे नै झोलामा स्वास्थ सामाग्री बोकेर किम्री हिँडिसकेको जानकारी पाएँ । सातु र भोटेचिया खाएर म पनि हिडे कार्मारोङका बली भेट्न मुगु कर्णालिको तिरैतिर । मुगु खोला र डोल्फु खोलाको दोभान पुगेपछि झुलुङ्गे पुल तरेर तिहार गुम्बा हुँदै डेढ घण्टाको उकालोपछि एउटा गाउँ भेटियो । भोक र थकाइले लखतरान परेको ज्यान केही समय गुम्बामा बिसाएँ । गुम्बामै अचानक एक जना विद्यार्थीसँग भेट भयो, खाना उनकै घरमा खाएँ । मेराे बली सरसँग भेट्नु नै लक्ष्य भएकाले म थकाइ नमेटी उहाँ भएको ठाउँमा गएँ ।

    बली सर भेट्नु पहिलेको मेरो प्रतिबिम्ब अलि फरक थियो । अग्लो खाइलाग्दो ज्यान होला भन्ने लागेको थियो तर प्रत्यक्ष भेट्दा उहाँ त्यो भन्दा भिन्न पाएँ । सामान्य पहिरन होचो कद ,मुस्कान सहितको नम्र बोली ,बिरामीहरुको भिडमा स्वास्थ सामाग्रीको झोला, बिरामीहरुको लाइन लाइन । शहरका नाम चलेका अस्पतालभन्दा कम थिएन । गाउँ घरतिर हुने सानोतिनो स्वास्थ शिबिर नै भनौं । बिरामीहरु हात भाँच्चिएका, पेटको रोग भएका लगायत विशेष गरि दाँतको समस्या भएका सानो काखे बालक देखि वृद्ध बा आमासम्म हुनुहुन्थ्यो । मैले नमस्ते गर्दा पनि उहाँलाई नमस्ते फर्काउने फुर्सद थिएन । सायद उहाँले पनि मलाई चिन्नु नै भएको थिएन त्यसैले हामीबीच औपचारिक कुराकानी भएन । म दिनभर उहाँको काम नियालेर बसे ! साँच्चिकै उहाँको काम देखेर मलाई मनदेखि खुसी लाग्यो । कामप्रतिको लगावलाई सल्युट गर्न लाएको थियो । दिनभर काम गर्दै गर्दा न उहाँलाई भोक लायो न प्यास लाग्यो । कुनै पनि कुरा मनबाटै गर्यो भने निन्द्रा, भोक ,थकाइ सबै मेटिन्छ भन्थे हो रहेछ । साँझ पाँच बजेसम्म निरन्तर सेवा खट्नु भयो । बोकेको स्वास्थ सामाग्री सकिएपछि स्वास्थ औजार झोलामा प्याक गर्नुभयो । बल्ल उहाँले राहतको स्वास फेर्नु भयो । मैले फुर्सदको मौका छोपीहाले । उहाँ नजिकै गएर आफ्नो परिचय सुरु गरेँ । म पनि त्यहीँ पालिकाकै उच्च्मा बिको शिक्षक भएकाले नाम सुन्नु भएको रहेछ । सातु र भोटे चिया खाएर आइतबार हामी दुबैजनाको अफिस भएकाले पुलु गाउँपालिका भएको ठाउँमा उहाँकै कोठामा बस्ने सल्लाह गरेर साढे पाँच बजे किम्रीबाट ओरालो लाग्यौ । आउँदा आउदै बाटोमै झमक साँझ पर्यो । मोबाइलको उज्यालोको सहाराले पुलु पग्यौँ ।

    बाटोमा हिड्दा खास सामान्य कुराकानी भयो । कोठामा पुग्दा अँध्यारो भैसकेको थियो । हतार हतार खाना बनाउनु भयो । रातो चामलको भातसँग सिमीकाे दाल क्या मिठ्ठो लाग्यो । मैले त्यतिबेलासम्म उहाँलाई भेट्नुको उद्देश्य नै जानकारी गराएको थिएन । उहाँलाई भेट्नुको उद्देश्य नै जानकारी नगरी उहाँको जीवनको बाल्यकाल कोट्याउन थाले । बुवा गाेरे बुढा र आमा हजारी बुढाको कोखबाट जन्मिनु भएका बल सर स्कुलको भर्ना मितिलाई आधार मान्दा वि स २०३९ साल मुगु जिल्लाको माग्री गाविस अन्तर्गत चिमाथमा भएको हो । सानैदेखि हुर्काएर पढ्न लगाउने फुवाजु गाेरबहादुर राेकाया फुपु काली राेकाया। उहाँहरु निसन्तान हुनु भयो उहाँहरुले अर्काे एक जना दाई सहित बुवा आमाकाे माया दिनु भयो । बाल्यकाल त्यति सुखद बितेन । जन्मनु भन्दा करिव छ महिना अगाडि नै बुबाले यो संसारबाट बिदा लिनु भयो । हिमाली जिल्लाको कष्टकर जीवन र फुपूको घरमा बस्दाका कथा सुनाउँदै गर्दा आँखाभरी आँसु टिल्पिल हुँदै थिए । आँखामा भएको आँसु लुकाउन हरेक प्रयत्न गर्नु भयो । हाँस्न सजिलै सकिन्छ रुन सबैले सक्दैन ।

    ‘हिक्मत जि मैले जिन्दगी अभाव, भोक र दुख के हो भन्ने मज्जाले बुझेको छु । पुफूको घरबाटै माद्यामिक तह पार गरे । वि.स. २०५८ सालमा कर्णाली प्राविधिक शिक्षालयमा सि .एम . ए कोर्स लिएर अध्ययन गर्दै थिएँ । मेरो प्राणभन्दा प्यारी फुपूको झाडापखालाका कारण मृत्यु भएको खबर अठार दिनपछि मात्रै पाएँ । दैव नै निष्ठुरी भए कसैको केही नलाग्ने रहेछ, अब मलाई गुमाउन केही बाँकी थिएन । फुपूको मृत्युको खबले बिछिप्तिएको मन सम्हालिन अलि समय लाग्यो सम्हालिनुको विकल्प पनि थिएन । बरु एउटा प्रण गरेँ की स्वास्थकर्मी भएर त्यहीँ क्षेत्रमा काम गर्ने अनि बिरामीहरुको सेवा गर्ने । मेरी फुपू नै मेरो जिन्दगीको रियल हिरो थिइन । वि स २०६२ असार १२ गते लोकसेवा आयोग पासगरी कान्छो अहेवको रुपमा सरकारी सेवा प्रवेश गरेँ । माओवादी जनयुद्धको आधार इलाका कालिकोटबाट सुरु भएको जागिरको अबधि झन्डै दुई दशक पुग्यो । राज्यले कर्णालीलाई हेर्ने नजर अहिले पनि यति हेपाह छ भने त्यो बेला कस्तो थियो होला ? कर्णालीको अभाव रोगसोग बुझ्न नसकेको सिंहदरबार हामी स्वास्थकर्मीलाई बुझ्न सक्ने कुरै भएन । अहिले गाडीमा बोकेको औषधि पुगाउन नसक्ने अवस्थामा त्यतिबेला झोलामा बोकेको औषधि कति दिन पुग्थ्यो होला ? मुगु जिल्लाको मुगु कार्मारोङ गाउँपालिका अन्तर्गतको मुगु स्वास्थ चौकी पुग्न मुगुको सदरमुकामबाट झन्डै तीन दिन लाग्ने गर्छ । झोलामा स्वास्थ सामाग्री र औषधि बोकेर मुगु कर्णालीको तिरैतिर हिँड्दा ज्यान नै जोखिममा राखेर हिँडियो । साँघुरो बाटोमा माथिबाट खस्ने ढुङ्गा, ज्यान जोगाउँदै दौडिनु पर्ने ! कुनै कर्मचारी कार्वाहीमा परे कार्वाहीका लागि पुर्याउने ठाउँ नै कर्णाली रहेछ । उत्प्रेरित गरे पठाएको कर्मचारीले काम नगेको अहिलेको अवस्थामा कार्वाहीमा परेको कर्मचारीले दुर्गममा सेवा प्रबाह कसरी गर्न सक्छ ? जिल्ला अस्पतालमै डाक्टर टिकाउन धौधौ परेको अवस्थामा स्थानीय स्तरमा भरपर्दो सेवा सुबिधा दिन कति हम्मे छ त्यो मज्जाले बुझेको छु ।’ उहाँले सुनाउनु भयो ।

    मलाई उहाँको सबैभन्दा उपयोगी लागेको पछिल्लो सेवा प्रत्येक महिनाको दुई दिन शनिबारे स्वास्थ शिबिर थियो । अनि सोधिहाले तपाईंको शनिबारे स्वास्थ शिबिर नि ? उहाँले अगाडी सुनाउनु भयो- ‘मैले पछिल्लो दुई वर्षदेखि यो सेवा निरन्तर दिदै आएको छु । त्यो पनि निशुल्क ! अहिले पनि सबै नागरिक स्वास्थ सेवाको सहज पहुँचमा छैनन् । वृद्ध आमाबुबा र बालबालिकाहरु यसको चरम मारमा छ्न । पालिका नजिकै सामुदायिक अस्पतालमा डाक्टर सहितको व्यवस्था भएपनि सबै रोगको उपचार त्यही सम्भव छैन । यस पालिकामा केही यस्ता गाउँ छ्न जो पालिका आउन दुई दिन कठिन पैदल यात्रा गर्नुपर्छ । उहाँहरुको सहजताका लागि मैले यो सेवा प्रत्येक महिनाको दुई शनिबार बिदाका दिन उहाँहरुकै घर दैलोमा निशुल्क दिने गरेको छु । विशेषगरि दन्तसेवा मेरो प्राथमिकतामा परे पनि सबै किसिमका रोगको सामान्य उपचार गर्नुका साथै काउन्सिलिङ् गर्ने र रेफर गर्ने समेत गरेको छु । यहाँका मानिसहरुमा जनचेतनाको कमिका कारण धामी झाक्री र लामा नै पहिलो प्राथमिकतामा पर्छ्न । स्वास्थकर्मी प्रतिको जनविश्वास दिलाउन पनि यो सेवा आवश्यक परेको छ । जब बिरामीहरुको उपचार भएपछि ती ओठमा खुसी पाउँछु अनि मेरा आँखा खुसीका आँसु बग्छ्न । आफू र आफ्नो कामप्रति गर्व लाग्छ । यो संसारमा आफ्नो पेशाप्रति कोहि सन्तुष्ट छ भने म पहिलो नम्बरमा पर्छु । यार्चागुम्बु टिप्ने समयमा यार्सा टिप्नेहरुसँगै पाटमै पुगेर स्वास्थ सेव दिन दौडिरहेको हुन्छु । सुत्केरीहरुलाई जिल्ला हस्पिटल रेफर गर्नु पर्ने अवस्था आए स्टेचरमा सुत्केरी बोकेर कयौं रात जिल्ला अस्पताल दौडिएको छु । हरेक बिरामीको अनुहारमा मेरै बुबा पाउँछु मेरी प्राणभन्दा प्यारी फुपू पाउँछु । जिन्दगी अन्तिम घडीमा पनि बिरामीको सेवा गर्न पाइयोस् ।’

    सायद अझै उहाँसँग धेरै कथा थिए रात छिपिएछ, घडीले झन्डै एक बजाइ सकेको थियो । भोलि नै काममा फर्किनु पर्ने भएकोले हामी निदायौँ । बेलुका ढिलो सुतेपनि बिहानै छ बजे निन्द्रा खुल्यो । म दस बजे विद्यालय पुग्नु पर्ने भएकाले चिया पिएर बली सरसँग बिदा मागे। उहाँको अफिस पालिकासँगै जोडिएकाले उहाँ त्यतै बस्नु हुने भयो । मलाई तलसम्म पुर्याउन आउन भयो । बिदाइको पल अत्यन्तै नमिठो लाग्यो । एकदिनको भेटले पनि उहाँसँग छुट्टिदै गर्दा मनमनै नमिठो लागिरहेको थियो । उहाँको अनुहारमा पनि छुट्टिनुको पीडा प्रष्ट देखिन्थ्यो । अर्को पटक भेट्ने बाचा गर्दै गर्दा मेरो मुखबाट एउटा वाक्य फुत्कियो ! बलीसर ! शनिबारे स्वाथ्यकर्मीको कथा लेख्छु नि ? उहाँले स्वीकृति स्वरुप टाउको हल्लाउनु भयो । म विद्यालय पुग्नसम्म बाटोभरी उहाँको कथाको शीर्षक खोज्न थाले ! शनिबारे डाक्टर ! शनिबारे स्वास्थकर्मी ! दुर्गमका बली ! कथावस्तुको कमी थिएन, बस शीर्षक खोज्नु थियो। मैले शीर्षक खोज्न मनलाई खुबै दौडनु पर्यो ।

    बली सर ! कान्छा अहेवबाट सुरु गरेको जागीरे जीवन मुगुम कार्मारिङ पालिकाको जनस्वास्थ्य निरीक्षकमा पदमा कार्यरत हुनुहुन्छ । उहाँ एउटा लगनशील , इमान्दार र अकर्मनिष्ठ स्वास्थकर्मी हो । आफ्नो पेशाप्रति दत्तचित्त भएर लाग्ने बली सर न कसैको उत्प्रेणाको खाँचो पर्यो न राज्यको पुरस्कारकाे नै ! बिदाको दिन रमाउने , परिवारसँगै रमाइलो गर्ने र साथीहरू सँगसँगै घुम्न जाने रहर नभएका होइनन् । अहिले सेवामा भएको बेला मात्रै हैन सेवानिवृत भएपछि पनि गाउँगाउँमा पुगेर स्वास्थ सेवालाई निरन्तरता दिने उहाँमा प्रण छ । स्वास्थ सेवामा मात्रै हैन उहाँका सहयोगी हात निरन्तर सेवामा छ्न । असाहाय ,दुखी ,टुहुरा र गरिबहरुको सहारा हो बली सर । ओढाररमा बसेकाहरूकाे उद्दारदेखि टुहुरालाई साथ दिन उहाँ पछाडि हट्नु हुँदैन । उहाँ भन्नू हुन्छ -‘समाजसेवाले आत्मासन्तुष्टि मिल्छ, मेरो सानो सहयोगले कसैले खुसी पाउँछ भने मैले किन सहयोग नगर्ने ?’

    समाजसेवा गर्न धन मात्रै भएर हुन्छ भन्ने छैन मन हुनु पर्छ । हामीले आफ्नो विलाशी जीवनलाई मात्रै कम गर्यौँ भने पनि समाजसेवा गर्न सकिन्छ । समाजसेवा जस्तो पुण्य काम अरु कुनै छैन । हामी बिहान बिहानै मन्दिर, चर्च र गुम्बा धाउनु पर्दैन । समजसेवाले त्यो सबै पुण्यप्राप्ति हुन्छ । उहाँ आजको स्वार्थी समाजमा धेरै युवाका प्रेरणाका स्रोत हुनुहुन्छ । आफू मात्रै होइन अन्य समाजका सचेत युवालाई समाज सेवामा लाग्न उत्प्रेरित गर्नुहुन्छ । बली सरले आफैले अभाव र दु:खको जिन्दगी भोगेका कारण पनि होला, आफूजस्तो अभाव र दु:खको जिन्दगी अरु कसैले बिताउन नपरोस् भनेर पनि यो पुण्यको काम गर्दै हुनुहुन्छ । बली सर तपाईं जतिको इमान्दार, कर्तव्य निष्ठा र लगनशील स्वास्थकर्मी जन्म दिने बुबा आमाप्रति श्रद्धा ! दुर्गम जिल्लामा स्वास्थ समस्यालाई बुझेर तपाईंले चलाउनु भएको शनिबारे स्वास्थ शिविर कार्यक्रमका लागि सय तोपको सलाम ! तपाईं जतिको स्वास्थकर्मी पाउनु त्यो पनि दुर्गम क्षेत्रका लागि तपाईं जिउँदो भगवान हो । तपाईंका सेवा गर्ने हात कहिल्यै नथाकुन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया