• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय मुख्य समाचार

    मृत्युपछि पनि आयरल्याण्डमा ठुलो हलचल ल्याउने यी सविता को हुन् ?

    21.6K
    SHARES



    काठमाडौं, १७ जेठ ।

    आयरल्याण्डमा एउटा मुराल पेन्टिङ यो हप्ता निकै चर्चामा रहेको छ । आयरल्याण्डका नागरिकले त्यो मुराल पेन्टिङलाई पुष्पगुच्छा र शब्दमार्फत सम्मान व्यक्त गरेका छन् । त्यो मुराल आयरल्याण्डमा इतिहासकै एक अविस्मरणीय घटनाको प्रतिक बनेको छ ।

    आयरल्याण्डका नागरिकले यो हप्ता इतिहासकै ठूलो उपलब्धि पाएको भन्दै त्यो मुरालको सम्मान गरेका छन् । त्यो मुराल हो सविता हालाप्पानाभारको ।

    आयरल्याण्डको डब्लिन शहरमा जम्मा भएका त्यहाँका नागरिकले सवितालाई गर्भपतन गर्न पाउने कानुन ल्याउन गरेको योगदानको कदर स्वरुप सम्मान व्यक्त गरेका हुन् ।

    सविताको मृत्युपछि गर्भपतन अधिकारको मागसहितको आन्दोलनलाई निश्कर्षमा पुर्याउन त्यहाँको सरकारले गर्भपतन गर्न पाउने कि नपाउने भन्दै चुनाव गराएको थियो ।

    शुक्रबार भएको चुनावमा गर्भपतन गर्न पाउनुपर्ने पक्षमा बढी मतदान भएपछि त्यहाँ निकै ठूलो परिवर्तन भएको मानिएको छ । चुनावको आधिकारिक परिणाम भने शनिबार घोषणा गरिएको थियो ।

    डब्लिन शहरको भित्ताहरुमा सविताको पोट्रेट पेन्टिङ बनाइएको छ । त्यहाँ गर्भपतनको अधिकार पक्षका मतदाताहरुले सविताको सम्मान गरेका छन् ।

    धेरै मतदाताहरुले उनको तस्बिरमा पुष्पगुच्छा अर्पण गरेका छन् भने ‘उनको मृत्युले हामीलाई गर्भपतनको पक्षमा मतदान गर्न बाध्य बनायो’ जस्ता सहनुभूतिपूर्ण शब्दहरुले सवितालाई सम्झिएको छ । एउटा नोटमा लेखिएको छ, ‘हामी यो परिवर्तन गर्न ढिलो भएकोमा माफी चाहन्छौं तर हामी तपाईँसँगै छौं र तपाईँलाई हामीले बिर्सेका छैनौं ।’

    सविता हालाप्पानाभार सन् २०१२ मा आइरिस अस्पतालमा गर्भावस्थामा आएको समस्याका कारण अस्पताल भर्ना भएकी थिइन् । परिवारका अनुसार अस्पतालमा उनले गर्भमा समस्या आएकाले गर्भपतन गर्न माग गरेकी थिइन ।

    तर अस्पतालका कर्मचारीले गर्भपतन गर्न अस्वीकार गरेका थिए किनकी त्यहाँ गर्भपतनलाई भ्रूण हत्याको रुपमा हेरिन्छ । त्यसपछि उनको गर्भावस्थामा आएको समस्याकै कारण ज्यान गएको थियो । १७ हप्ताको गर्भ रहेको सविताको अस्पतालमै ज्यान गएपछि आयरल्याण्डको गर्भपतन अधिकार सम्बन्धीको कानुन संशोधन गर्नुपर्ने माग उठेको थियो ।

    उनको मृत्युपछि अन्तर्राष्ट्रिय रुपमा नै आयरल्याण्डको गर्भपतनको विषय विवादित बनेको थियो । सविताकोे मृत्युपछि आयरल्याण्डमा कानुन संशोधन गरेर गर्भपतन गर्न पाउनुपर्ने संविधान ल्याउनुपर्ने माग राखेर प्रदर्शनहरु भएका थिए ।

    उहाँका बुबाआमाले आइरिसहरुले गर्भपतन गर्न पाउनुपर्ने व्यवस्था भोटमार्फत ल्याएको भन्दै आफ्नी छोरीको चाहना पूरा भएको र उनको स्वर्गमा बास भएको बताएका छन् ।

    सविता बास्तवमा भारतीय नागरिक हुन् । उनी आयरल्याण्डमा दन्त चिकित्सकका रुपमा कार्यरत थिइन् । ३१ वर्षीया सविता अन्तमा आयरल्याण्डमा सामाजिक परिवर्तनकी प्रतिक बनेकी छन् ।

    उनको मृत्यु भएको ६ वर्षपछि मतदाताहरुले आयरल्याण्डको संविधानमा गर्भपतन गर्न पाउने अधिकारसहितको संशोधन गर्न सफल भएका छन् । अब बन्ने गर्भपतन गर्न पाउने अधिकारसहितको संशोधित कानुनको नाम ‘सविता ल’ राखिने भएको छ । भारतको कर्नाटक प्रदेशको बेलगममा रहेका सविताका बुबाआमले आफ्नी छोरीको जित भएको बताएका छन् ।

    ‘यो ६ वर्षदेखिको युद्ध थियो र यो युद्धममा छोरीको जित भएको छ’, सविताकी आमा अक्कामहादेवी येलालीले भनिन, ‘उनको आत्माको स्वर्गमा बास हुनेछ ।’

     

     

    आयरल्याण्डको संविधानले गर्भावस्थामा रहेको बच्चाले पनि बाँच्न पाउने अधिकार पाउने भन्दै गर्भपतनको अधिकार दिएको थिएन । त्यो कानुनकै कारण आयरल्याण्डमा भू्रण हत्यालाई गैरकानुनी मानिँदै आएको थियो । तर आयरल्याण्ड महिलाको स्वास्थ्य अवस्था गर्भावस्थाकै कारण गम्भीर अवस्थामा पुगेमा गर्भपतन गर्न पाइने प्रावधान रहेको छ ।

    सविताको मृत्यु भएका बेला उनका श्रीमान प्रविन हलाप्पानाभारले अस्पतालका कर्मचारीले आफूहरुले गर्भपतन गराउने भन्दा नमानेका कारण श्रीमतीको ज्यान गएको बताएका थिए । उनले भनेका थिए, ‘अस्पतालका कर्मचारीले त्यतिबेला आयरल्याण्ड क्याथोलिक देश भएको भन्दै गर्भपतन गर्न दिइएन ।’

    सन् २०१३ मा सविताको मृत्युको अनुसन्धानबारे सुँडेनी आन्ना मारिया बुर्केले आफूले त्यस्तो भनेकोमा क्षमा मागेकी थिइन् र उनले आफूले बाहिरी देशका नागरिकलाई आयरल्याल्डको कानुनबारे बुझाएको बताएकी थिइन् ।

    डाक्टरहरुले तीन दिनभित्र गर्भपतन गराएको भए उनको ज्यान नजाने बताएका थिए ।

    आयरल्याण्ड राष्ट्रिय प्रसुति अस्पतालका पूर्व प्रमुख तथा डाक्टर पिटर ब्याइल्याण्डले भनेका छन्, ‘त्यतिबेला सविताले गर्भपतन गराएको भए उनलाई कानुनी कारबाही हुने थियो किनकी त्यतिबेला उनको अवस्था त्यस्तो चिन्ताजनक थिएन । उनको अवस्था चिन्ताजनक भएको थाहा पाउँदा गर्भपतन गराएको भए पनि उनको अवस्था चिन्ताजनक नै भैसकेको थियो ।’

    उनको मृत्यु रक्तसञ्चारमा आएको इन्फेक्सन र उच्च रक्तचाप र अंगहरुको डाइफङ्सनका कारण भएको बताइएको थियो ।

    तर अहिले उनी आयरल्याण्डमा सामाजिक परिवर्तन गराउने ‘एक युग महिला’को रुपमा चर्चामा रहेकी छिन् । उनका प्रशंसकहरुले उनलाई आइरिस महिलाको इतिहासकै एक धरोहरको रुपमा सम्मान गरेका छन् ।

    -एजेन्सीकाे सहयाेगमा

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ