• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    डेल कम्पनी आर्थिक संकटमा, साढे ६ हजार कर्मचारी कटौती गर्दै

    2.1K
    SHARES

    काठमाडौं । पर्सनल कम्प्युटर निर्माता चर्चित अमेरिकी प्रविधि कम्पनी डेलले फेरि एकपटक कर्मचारी कटौती गर्ने भएको छ ।

    यसबाट डेल कम्पनीमा कार्यरत ६ हजार ६५० भन्दा धेरैले जागिर गुमाउने छन् । यो संख्या कम्पनीमा विश्वभर कार्यरत कूल कर्मचारीको ५ प्रतिशत हो । यसअघि सन् २०२० मा पनि कोरोना महामारीलाई कारण देखाउँदै डेलले केही कर्मचारी कटौती गरेको थियो ।

    उसो त कोरोना महामारी र पछिल्लो आर्थिक मन्दीलाई कारण देखाउँदै विश्वका चर्चित र ठूला कम्पनीहरुले व्यापक रुपमा कर्मचारी कटौती गरिरहेका छन् । त्यो सूचिमा डेलले आफूलाई पनि समावेश गरेको हो ।

    ब्लुम्बर्गका अनुसार डेल कम्पनीले यसअघि नै नयाँ कर्मचारी भर्ना बन्द गरिसकेको छ । त्यसका अलावा कम्पनीले कर्मचारीहरुको भ्रमणमा समेत रोक लगाएको थियो । तर त्यत्तिले मात्र पर्याप्त खर्च कटौती हुन नसकेको भन्दै डेलले कर्मचारी कटौती गर्ने भएको हो ।

    पछिल्लो कर्मचारी कटौतीबाट कम्पनीका कुन विभागमा कार्यरत कर्मचारीहरु बढि प्रभावित हुनेछन् भन्ने खुलेको छैन । उक्त कटौती पश्चात् डेलसँग ३९ हजार कर्मचारी मात्रै बाँकी रहनेछन् । कम्पनीमा कार्यरत कूल कर्मचारीमध्ये एक तिहाई अमेरिकामा छन् ।

    पर्सनल कम्प्युटरको बजारमा एउटा ठूलो तथा लोकप्रिय ब्राण्डको रुपमा रहेको डेलले पछिल्लो समय आर्थिक समस्या झेलिरहेको छ । बजार विश्लेषक गर्टनेरका अनुसार सन् २०२२ को चौथो त्रैमासिकमा विश्वव्यापी रुपमा पर्सनल कम्प्युटरको बिक्री अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.५ प्रतिशतले घटेको छ ।

    यसअघि अर्को पर्सनल कम्प्युटर कम्पनी एचपीले पनि कर्मचारी कटौतीको घोषणा गरेको थियो । सन् २०२५ सम्ममा कम्पनीमा ठूलो संख्यामा कर्मचारी कटौती गर्ने योजना एचपीले अघि सारेको छ । जस अनुसार एचपीले आफ्नो विश्वव्यापी जनशक्तिको १२ प्रतिशत अर्थात् करिब ६ हजार कर्मचारी कटौती गर्ने योजना बनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ