• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी राजनीति

    विप्लवको महासचिव पद खोसियो, नेकपाको बहुमत पक्षले गर्यो कारवाही, कञ्चन बने पार्टी संयोजक

    19.4K
    SHARES



    काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी अन्तत: बिभाजन भएको छ । आज चितवनमा सुरु भएको हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला ‘कञ्चन’ पक्षको बहुत्मत पार्टी केन्द्रीय समितिको विशेष राष्ट्रिय भेलाले विप्लव सिद्धान्तबाट विचलित भएर पार्टी र क्रान्तिलाई धोका दिएको भन्दै पार्टीबाट निष्कासन गरेको हो ।

    भेलाले विप्लव र प्रकाण्डलाई हटाउने निर्णय गरेको सो पार्टीका केन्द्रीय सदस्य गुणराज लोहनीले बताए । पार्टीको बहुमत केन्द्रीय सदस्यहरुको बैठकले विप्लवलाई महासचिवबाट हटाएर धर्मेन्द्र बास्तोला ‘कञ्चन’लाई जिम्मेवारी दिइएको लोहनीले बताए ।

    ‘पार्टीको बहुमत केन्द्रीय समिति बैठकले गरेको निर्णय विप्लवजीहरुले उल्टाउनुभयो । पार्टीको विधि विधान विपरित स्थानीय चुनावमा जान थाल्नुभयो । हामीले पार्टी निर्णयलाई समाएर बस्यौँ । उल्टै उहाँहरुले हामीलाई कारवाही गर्नुभयो’ लोहनीले भने, ‘हामीले विप्लवजीलाई महासचिवबाट हटाएर पार्टी संयोजक कञ्चन सरलाई बनायौ ।’

    पार्टी केन्द्रीय समिति सदस्यको बहुमत भएकाले आधिकारिकता आफूहरुले पाउने लोहनीले बताए । ३ दिनसम्म चल्ने सुदर्शन–कञ्चन पक्षको भेलाले पार्टीका सबै निर्णय सार्वजनिक गर्ने भएको छ । चितवन भेलामा ४० भन्दा बढी केन्द्रीय सदस्य उपस्थित भएको दाबी गरिएको छ ।

    कसले के भने ?
    विशेष राष्ट्रिय भेलाको अध्यक्षता गरिरहेका नेकपा केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे’ ले पार्टीले सिद्धान्तबाट विचलित भएर दलाल पुँजीवादी संसद्‌वादमा पतन हुँदै चुनावमा गएका विप्लवलाई कारबाही गरी निष्कासन गरिएको बताए ।

    भेला आयोजक समितिका संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले विप्लव दार्शनिक रुपले सारसङ्ग्रहवादी, राजनीतिक रुपमा संसदीय संशोधनवादी, सङ्गठनात्मक रुपमा निषेधात्मक अधिभूतवादी र विसर्जनवादी, सङ्घर्षका दृष्टिले आत्मसुरक्षावादी र आर्थिक दृष्टिले जुझारु अर्थवादी हुँदै क्रान्तिलाई विसर्जन गर्ने बाटोमा लागेपछि निष्कासनको कारबाही गर्नुपरेको बताए ।

    नेकपाका संयोजक कञ्चनले दलाल संसद्‌वादी राज्यसत्ताले गराएको चुनाव कार्यनीतिक मात्र नभएर रणनीतिक विषय भएकाले यसको उपयोगले पुँजीवादलाई सहयोग गर्ने बताए ।

    देशका ७७ जिल्ला, जवस/मोर्चा, विभाग, प्रवासलगायत क्षेत्रबाट विशेष राष्ट्रिय भेलामा सहभागी तीन सयभन्दा बढी प्रतिनिधिलाई स्वागत गर्दै नेकपाका नेता सुदर्शनले क्रान्तिकारी विचारको रक्षाले मात्र क्रान्ति सम्भव हुने प्रष्ट पारे ।

    विप्लवलगायत नेकपाको एउटा सानो झुण्ड क्रान्तिका विरुद्ध दलाल पुँजीवादलाई सहयोग गर्ने गरी गम्भीर रुपमा विचलित भएकाले विचार त्याग गर्नेहरुलाई कारबाही गरेर क्रान्तिकारीहरुको केन्द्रीकरणमार्फत क्रान्तिलाई सम्भव बनाउनेतर्फ आफूहरु अघि बढेको उनले बताए।

    क्रान्तिमा विचार प्रमुख हतियार रहेको र विप्लवहरुले विचार नै समाप्त पारेकाले पार्टीको विशेष राष्ट्रिय भेला आयोजना गर्नुपरेको उनको भनाइ थियो ।

    पार्टी केन्द्रीय सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेले कार्यक्रम सञ्चालन गरिरहेका छन् । विशेष राष्ट्रिय भेलामा संयोजक कञ्चनले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि छलफल सुरु हुनेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ