काठमाडौं । लगातार दुई संस्करणको फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम रोयल्सले तेस्रो प्रयासमा नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जितेको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलोपटक एनपीएल च्याम्पियन बनेको हो ।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्यो । उसका ओपनर जर्ज मन्सेले विस्फोटक ब्याटिङ गर्दै ५४ बलमा अविजित १२५ रन बनाए । उनले आफ्नो इनिङ्समा १२ छक्का र ८ चौका प्रहार गरे ।
अर्का ओपनर विनोद भण्डारी २७ बलमा ३० रन बनाउँदै अविजित रहे । यी दुईबीच पहिलो विकेटका लागि १५८ रनको अविजित साझेदारी भएको थियो । मन्से एनपीएलको फाइनलमा शतक प्रहार गर्ने पहिलो खेलाडीसमेत बने ।
यसअघि टस जितेर पहिले बलिङ गरेको सुदूरपश्चिमले लुम्बिनीलाई निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रनमा रोकेको थियो । लुम्बिनीका दिलीप नाथले अविजित ४०, कप्तान रोहित पौडेलले ३०, निरोसन डिकवेलाले २८ तथा अलि शेखले २४ रन बनाए ।
सुदूरपश्चिमका स्कट कुगलेनले दुई विकेट लिए भने थरिन्दु रत्नायके र दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट हात पारे ।
तीन संस्करणदेखि फाइनल, बल्ल उपाधि
सुदूरपश्चिमले एनपीएलका तीनवटै संस्करणमा फाइनल पुग्ने पहिलो टोलीको इतिहास बनाएको छ । पहिलो संस्करणमा लिग चरणको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको टोली जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।
दोस्रो संस्करणमा पनि लिग चरणको शीर्ष स्थानमा रहँदै फाइनल पुगेको सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित हुँदै उपविजेतामा सीमित भएको थियो ।
तेस्रो संस्करणमा पनि सुदूरपश्चिमको सुरुवात सुखद रहेन । पहिलो खेलमै लुम्बिनीसँग पराजित भएको टोलीले त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै लिग चरणमा लगातार चार खेल जित्यो । दोस्रो स्थानमा रहेर प्लेअफ पुगेको उसले पहिलो क्वालिफायरमा लुम्बिनीसँग हार बेहोरे पनि दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई हराउँदै लगातार तेस्रोपटक फाइनलमा स्थान बनाएको थियो ।
फाइनलमा फेरि लुम्बिनीसँगै भेट भएपछि सुदूरपश्चिमसँग अघिल्लो संस्करणको फाइनलसहित यस सिजन लिग चरण र पहिलो क्वालिफायरमा बेहोरेको हारको बदला लिने अवसर थियो । त्यसलाई सदुपयोग गर्दै उसले १० विकेटको शानदार जित निकाल्यो ।
एनपीएलको पहिलो संस्करण जनकपुर बोल्ट्स र दोस्रो संस्करण लुम्बिनी लायन्सले जितेका थिए । तेस्रो संस्करणमा भने सुदूरपश्चिमले च्याम्पियनको सूचीमा आफ्नो नाम लेखाएको छ ।
प्रतिक्रिया