• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    पार्टीको कारबाहीपछि सांसद खगेन्द्र सुनार संसदीय उपसमितिको बैठकमा अनुपस्थित

    313
    SHARES



    काठमाडौँ । एक महिलालाई लक्षित गरी आपत्तिजनक भाषा र धम्कीपूर्ण संवाद प्रयोग गरिएको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कारबाहीमा परेका सांसद खगेन्द्र सुनार संसदीय उपसमितिको बैठकमा अनुपस्थित भएका छन्।

    पार्टीले उनीमाथि आन्तरिक छानबिन सुरु गर्दै प्रक्रिया नसकिएसम्म कुनै पनि सार्वजनिक पद, औपचारिक कार्यक्रम तथा सार्वजनिक गतिविधिमा सहभागी हुन रोक लगाएको छ। सोही प्रतिबन्धका कारण उनी बिहीबार सिंहदरबारमा बसेको संसदीय उपसमितिको दोस्रो बैठकमा उपस्थित नभएका हुन्।

    बिहीबार बिहान बसेको निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको पोशाक खरिदसम्बन्धी अध्ययन उपसमितिको बैठकमा समितिको कार्यविधिबारे छलफल भएको छ। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गत १६ असोज २०८३ मा रास्वपा सांसद मनिष झाको संयोजकत्वमा ९ सदस्यीय अध्ययन उपसमिति गठन गरेको थियो।

    दुई महिनाको समयसीमा पाएको उक्त उपसमितिमा सांसदहरू ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही सदस्य छन्। उपसमितिको सचिवालयले आगामी ३० कात्तिकसम्म प्राप्त विवरण र उजुरीहरूको संकलन तथा प्रारम्भिक अध्ययन सम्पन्न गर्ने गरी कार्यविधि बनाएको छ।

    नेपाल प्रहरीले गत वर्ष माघमा निर्वाचन प्रहरीका लागि पोशाक खरिद गर्दा ठूलो अनियमितता भएको भन्दै सांसद सुनारले नै संसद्‌मा निरन्तर आवाज उठाउँदै आएका थिए। गत २१ फागुनको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल प्रहरीतर्फ १ लाख ३३ हजार ९८० र सशस्त्र प्रहरीतर्फ १५ हजार ११० गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना गरिएको थियो।

    भौगोलिक क्षेत्र अनुसार प्रतिव्यक्ति ५० हजार ९५४ रुपैयाँदेखि ८६ हजार ४८४ रुपैयाँसम्म खर्च गरेर ४० दिनका लागि नियुक्त गरिएका ती प्रहरीलाई अत्यन्तै कमसल सामग्री दिइएको भन्दै संसदीय छानबिन सुरु गरिएको हो।

    सरकारले निर्वाचन प्रहरीको पोशाक शीर्षकमा मात्रै करिब १ अर्ब रुपैयाँ निकासा गरेको थियो। जसमा हिमाली क्षेत्रका लागि प्रतिव्यक्ति ११ हजार ५ सय, पहाडमा ७ हजार ९४५ र तराईमा ६ हजार १७० रुपैयाँका दरले रकम छुट्याइएको थियो।

    यसबाहेक तयारी खर्च बापत ८४८ रुपैयाँ र तालिमको खाजा बापत १२ सय रुपैयाँसमेत दिइएकोमा अहिले मुख्य विवाद भने पोशाक बापत निकासा भएको रकम र उपलब्ध गराइएको सामग्रीको गुणस्तरमा केन्द्रित रहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ