काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच भेटवार्ता भएको छ । भेटमा दुवै पक्षले नेपाल र अस्ट्रेलियाबीच लामो समयदेखि कायम रहेको मैत्रीपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा सहकार्यलाई थप विस्तार गर्ने विषयमा जोड दिएका थिए ।
मन्त्री खनालको सचिवालयका अनुसार मेलबर्नमा बिहीबार भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो ।
भेटवार्ताका क्रममा अस्ट्रेलियाकी विदेशमन्त्री वङले नेपालमा हालै आएको बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति दु:ख व्यक्त गर्दै विपद्पछिको उद्धार, प्रारम्भिक पुनर्लाभ र पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा रहेको बताइन् ।
उनले बाढी तथा विपद् प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरिन् । यसअघि अस्ट्रेलियाले आपत्कालीन प्रतिकार्यका लागि घोषणा गरेको ११ मिलियन अस्ट्रेलियन डलरमा उक्त रकम थप हुनेछ । नयाँ सहयोग राहत तथा प्रारम्भिक पुनर्लाभका काममा केन्द्रित हुने जनाइएको छ ।
मन्त्री खनालले विपद्को समयमा अस्ट्रेलिया सरकार र अस्ट्रेलियाली जनताबाट प्राप्त मानवीय सहयोगप्रति आभार व्यक्त गरे । संकटका समयमा प्राप्त सहयोगले दुई देशबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाएको उनले बताए ।
भेटमा जलवायु परिवर्तनका कारण नेपाल र प्रशान्त क्षेत्रका मुलुकले सामना गरिरहेको साझा जोखिमबारे पनि छलफल भएको थियो ।
खनालले अन्तर्राष्ट्रिय तहमा अस्ट्रेलियाको नेतृत्वदायी भूमिकाको उपयोग गर्दै आगामी कोप–३१ मा हिमाली पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनले पारिरहेको असमान र गम्भीर प्रभावलाई विश्वसामु थप प्रभावकारी रूपमा उठाउन आग्रह गरे ।
उनले जलवायु अनुकूलन, पूर्वसूचना प्रणाली, विपद् जोखिम न्यूनीकरण, विपद् तयारी तथा जलवायु–उत्थानशील पूर्वाधार निर्माणका क्षेत्रमा नेपाल–अस्ट्रेलिया सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया