काठमाडौँ । नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक आज बस्ने भएको छ । एमाले सचिव तथा कार्यदल सदस्य डा.राजन भट्टराईले बिहान ११ बजे बस्नेगरी बैठक बोलाइएको जानकारी दिए ।
बैठकमा महासचिव शंकर पोखरेलले यसअघि तयार पारेको ‘पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरण’ सम्बन्धी प्रतिवेदनलाई उपाध्यक्ष रामबहादुर थापा(बादल)ले पुनर्लेखनसहित पेस गर्ने एक नेताले बताए ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा एमालेले व्यहोरेको लज्जास्पद पराजयपछि जेठ पहिलो साता बसेको केन्द्रीय सचिवालय बैठकले उपाध्यक्ष बादलको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो।
उक्त कार्यदलले विभिन्न प्रदेश र विभागहरूबाट राय सङ्कलन गरेपछि प्रतिवेदन लेखनको जिम्मा सदस्य सचिवसमेत रहेका महासचिव पोखरेललाई दिएको थियो। तर, पोखरेलले तयार पारेको प्रारम्भिक मस्यौदामा चुनावी पराजयको सम्पूर्ण दोष नेतृत्वमाथि थोपर्दै नेतृत्व हस्तान्तरण र पुनर्गठनको वकालत गरिएपछि अध्यक्ष ओली क्रुद्ध बनेका थिए। ओलीले उक्त मस्यौदालाई अस्वीकृत गर्दै संयोजक बादललाई नै नेतृत्वको प्रतिरक्षा हुने गरी प्रतिवेदन पुनर्लेखन गर्न लगाएका हुन्।
‘पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरणका लागि नेकपा (एमाले) को साझा सङ्कल्प’ शीर्षक दिइएको बादलको पुनर्लिखित प्रतिवेदनमा महासचिव पोखरेलको मस्यौदामाथि गम्भीर सैद्धान्तिक तथा राजनीतिक प्रश्न उठाइएको छ। प्रतिवेदनमा महासचिवको मस्यौदा चुनावी समीक्षामा भन्दा पनि अध्यक्षलाई पदबाट हटाउने र पार्टी पुनर्गठनका नाममा नेतृत्व विस्थापन गर्ने दूषित मनसायबाट प्रेरित रहेको निष्कर्ष निकालिएको छ।
यस प्रकारको बहसलाई पार्टीलाई विवाद र अन्तर्ध्वंसतर्फ धकेल्ने ‘बेमौसमी बाजा’ को संज्ञा दिँदै प्रतिवेदनले वि.सं. २०७७ मा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले ओलीविरुद्ध ल्याएको १९ पृष्ठ लामो आरोपपत्रसँग पोखरेलको मस्यौदाको नियत तुलना गरेको छ।
पुनर्लिखित प्रतिवेदनले फागुन २१ को निर्वाचनलाई सामान्य राजनीतिक घटनाका रूपमा नभई भदौ २३ र २४ गते भएका रक्तपातपूर्ण घटना र मुलुकविरुद्ध रचिएको ‘रङ्गक्रान्ति’ (कलर रिभोल्युसन) को सह-उत्पादन (बाइ-प्रोडक्ट) का रूपमा व्याख्या गरेको छ।
तत्कालीन अवस्थामा जेनजी आन्दोलनका नाममा भएको हिंसा, संसद् विघटन, गैरदलीय सरकार गठन र निर्वाचित प्रधानमन्त्री ओलीलाई सेनाको नियन्त्रणमा राख्ने कदमहरू देशी-विदेशी शक्तिकेन्द्रको योजनाबद्ध षड्यन्त्र भएको प्रतिवेदनमा उल्लेख छ। यस्तो असाधारण र प्रतिकूल परिस्थितिमा भएको निर्वाचन परिणामलाई लिएर व्यक्तिगत रूपमा पार्टी अध्यक्षलाई मात्र जिम्मेवार ठहर्याउनु गैरजिम्मेवार र राजनीतिक पूर्वाग्रहपूर्ण हुने तर्क प्रतिवेदनमा गरिएको छ।
प्रतिवेदनमार्फत कार्यदल संयोजक बादलले अध्यक्ष ओलीको भूमिकाको खुलेर प्रतिरक्षा गरेका छन्। संविधान जारी गर्ने निर्णय, भारतीय नाकाबन्दीविरुद्धको प्रतिरोध, चीनसँगको पारवहन सम्झौता, नयाँ नक्सा प्रकाशन, भूकम्पपछिको पुनर्निर्माण र पूर्वाधार विकासमा ओलीको नेतृत्व अद्वितीय रहेको स्मरण गराउँदै एघारौँ राष्ट्रिय महाधिवेशनबाट करिब ७५ प्रतिशत मतसहित निर्वाचित अध्यक्षलाई एउटा निर्वाचनको पराजय देखाएर हटाउन खोज्नु जनादेश विपरीत हुने ठहर गरिएको छ।
प्रतिक्रिया