• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    संसद्‌मा सम्बोधन गर्दै रवि लामिछानेले के-के भने ?

    260
    SHARES



    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको विनाशकारी बाढीलाई केवल प्राकृतिक विपत्ति मात्र भन्न नमिल्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सभापति लामिछानेले उक्त घटना जलवायु सङ्कटको असमान भारका कारण उत्पन्न क्षति भएको बताए ।

    सभापति लामिछानेले भने– ‘भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूलाई केवल प्राकृतिक विपत्तिमा मृत्यु भएका भन्न सकिन्न। यो जलवायु सङ्कटको असमान भारका कारण उनीहरूले ज्यान गुमाउनु परेको हो।’ नेपालजस्ता मुलुकहरूले आफूले नगरेको अपराधको सजाय जलवायु परिवर्तनका नाममा भोगिरहेको उनको भनाइ छ।

    सभापति लामिछानेले अब नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्याय माग्नुपर्नेमा जोड दिए । ‘हामी अब जलवायु न्याय माग्छौँ । यसका लागि हामी विश्वको ढोका–ढोका ढकढक्याउने छौँ,’ उनले भने । उनले जलवायु परिवर्तनको मुद्दामा नेपालले आफ्नो आवाज सशक्त बनाउनुपर्ने र यसको क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय समुदायलाई जिम्मेवार बनाउनुपर्ने धारणा राखे ।

    विपद्को यो घडीमा प्रभावित क्षेत्रका बासिन्दाले देखाएको एकताको उनले उच्च प्रशंसा गरे । लामिछानेले भने– ‘यति ठुलो सङ्कट र अपूरणीय क्षति व्यहोर्दा पनि उहाँहरू एक अर्काको हात समातेर उभिइरहनु भएको छ, यो साहस र एकता नै हाम्रो शक्ति हो।’

    सभापति लामिछानेले भोटेकोशी लगायत देशभरका बाढी पहिरो पीडितहरूको राहत, उद्धार र पुनर्स्थापनामा सरकार गम्भीर हुनुपर्ने र यो मुद्दालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्राथमिकताका साथ उठाउनुपर्ने बताए ।

    राज्य कहालीलाग्दो सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ

    लामिछानेले राज्यले केही गरेन भन्नेहरूका लागि पनि जवाफ दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले राज्य कहाँ छ ? भन्नेहरूलाई जवाफ दिएका हुन् ।

    ‘राज्यले केही गरेन, राज्य कहाँ छ ? भन्ने गरेको मैले सुनेको छु । राज्यले गरेन भन्ने कुराको सबैभन्दा शक्तिशाली खण्डन भनेको राज्य कहाँ छ ? भनेर दृश्यसहित प्रष्ट्याउनु हो,’ उनले भने । साथै, उनले केही बुँदामा राज्य कहाँ छ ? भन्ने प्रष्ट पारे ।

    उनले भनेका छन्– ‘राज्य यतिबेला त्यो कहालीलाग्दो भग्नावषेश र सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ । राज्य यतिबेला सर्वस्व गुमाएर खुला आकाशमुनी पुगेका आफ्ना दाजुभाइ तथा दिदीबहिनीको छाहरी बन्न दिनरात खटिएको छ । राज्य यतिबेला भेलले बगाएका सडक र चुँडिएका पुलमात्रै होइन विपद्ले टुटाएका नागरिकको भरोसालाई जोड्ने प्रयास गरिरहेको छ । राज्य यतिबेला भविष्यमा यस्तो विपद् कहिल्यै भोग्न नपरोस् भनेर बदिलयो पूर्वतयारी र सुरक्षित संरचनाको खाका कोरिरहेको छ । राज्य यतिबेला आफ्ना सीमा, स्रोतको अभाव र थकानलाई पन्छाएर नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिएको छ ।’

    हवाई उद्धारको यति ठूलो र व्यवस्थित अभियान विरलै भएको थियो

    लामिछानेले बाढीपछिको प्रतिकार्यबारे सरकारको बचाउ गरेका छन् ।  ‘यो विपत्तिमा पनि सरकारको कामलाई सरकार र विपक्षीको परम्परागत चस्माले हेर्नुपर्ने म देख्दिनँ । विपत्तिको सुरुकै घण्टामा सरकारले सम्पूर्ण शक्ति परिचालन गरेर उद्धार, उपचार र राहतको काम सुरु गरेको थियो,’ लामिछानेले भने, ‘हज्जारौं सुरक्षाकर्मी प्रभावित क्षेत्र खटिए । तथ्यसहित भन्न सकिन्छ हवाई उद्धारको यति ठूलो व्यवस्थित अभियान यसअघि विरलै भएको थियो ।’

    घाइतेहरूका लागि उद्धार र उपचार, विस्थापितहरूका लागि अस्थायी बसोबास र खाद्यान्नका लागि सरकारको तत्परताका लागि आफूले सरकारलाई प्रश्न गर्ने ठाउँ नदेखेको उनले बताए ।

    चोटमा परेका व्यक्तिले भगवानलाई त सराप्छ, सरकार र रास्वपा के हो ?

    लामिछानेले शोकको घडीमा नागरिकबाट राज्यमाथि पोखिएको आक्रोशलाई स्वभाविक रुपमा लिनका लागि राज्य संयन्त्र र पार्टी पंक्तिलाई आग्रह गरेका छन् । आशा निराशामा बदलिँदा उत्पन्न हुने आक्रोश उनीहरूको नेसर्गिक अधिकार भएको उनको भनाइ छ ।

    ‘सरकारका सम्पूर्ण संयन्त्र र पार्टी पंक्तिलाई यही रोस्ट्रमबाट स्मरण गराउन चाहन्छु, जब मानिस गहिरो चोटमा पर्छ, उसले अप्रत्याशित शोक भोग्छ । उसले भगवानलाई त सराप्छ भने यो सरकार के हो ? रास्वपा के हो ?,’ उनले भनेका छन् ।

    नागरिकको त्यो आक्रोशलाई प्रहारको रुपमा नबुझ्न पनि उनले आग्रह गरे । ‘नागरिकको त्यो आक्रोशलाई हामीले हाम्रो विरुद्धको प्रहार होइन, हामीप्रतिको अपेक्षा, राज्य गुहार्ने अन्तिम चित्कारको रुपमा बुझ्नुपर्छ । त्यो आक्रोश सुन्ने, सहने र उनीहरूको आँशु पुछ्ने फराकिलो छाती नै आजको साँचो राज्यसत्ता हो,’ लामिछानेले भने ।

    तुच्छ टिप्पणी गर्नेहरूलाई पार्टीबाट निकालिने 

    सभापति लामिछानेले विपत्तिमा परेका नागरिकलाई होच्याउने अन्ध समर्थक नचाहिएको बताएका छन् । साथै उनले शोक र पीडामा परेका भुईमान्छेको पक्षमा उभिने र उनीहरूको आँसु पुछ्ने सदस्य चाहिएको बताए ।

    ‘नागरिकको आक्रोश र चित्कारलाई गलत व्याख्या गर्ने, सामाजिक सञ्जालको आडमा ओठे जवाफ फर्काउने र साइबर बुलिङ गर्ने छुट कसैलाई छैन’, लामिछानेले भने,‘यदि रास्वपाको कुनै पनि तहको सदस्य वा पदाधिकारीले विपद्‌मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्नेलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निकालिनेछ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ