धनगढी । सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्ट नयाँ मुख्यमन्त्री बन्ने भएका छन्। निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढाएका हुन्।
प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि शुक्रबार बिहान ११ बजेसम्म मुख्यमन्त्री पदमा दाबी पेस गर्न समय दिएका छन्। सोही समयसीमाभित्र नेकपाका नेता भट्टले एमालेको समर्थनमा मुख्यमन्त्री पदका लागि दाबी पेस गर्ने तयारी गरेका छन्।
दाबी पेस भएपछि प्रदेश प्रमुखले भट्टलाई शुक्रबार नै मुख्यमन्त्री नियुक्त गर्ने तयारी रहेको बताइएको छ। नेकपाका एक सांसदका अनुसार बिहान ११ बजे नियुक्तिको प्रक्रिया पूरा भएपछि दिउँसो ३ बजे शपथग्रहण कार्यक्रम तय गरिएको छ।
मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेपछि भट्टले शुक्रबार नै सीमित संख्यामा मन्त्रिपरिषद् गठन गर्ने सम्भावना रहेको नेताहरूले बताएका छन्।
नेकपा र एमालेबीच सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रालयको भागबन्डासमेत टुंगिसकेको जनाइएको छ। सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार मन्त्रालय र एमालेले तीन मन्त्रालयको जिम्मेवारी पाउनेछ।
एमालेले आर्थिक मामिला मन्त्रालय, सामाजिक विकास मन्त्रालय तथा वन वा कृषि मन्त्रालयमध्ये एक मन्त्रालयको नेतृत्व लिने स्रोतको दाबी छ।
यसअघि गत असार ३१ गते एमालेले बजेटप्रति असहमति जनाउँदै कमलबहादुर शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। त्यसपछि राजनीतिक रूपमा अल्पमतमा परेका शाहले बिहीबार प्रदेशसभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिने घोषणा गरेका थिए।
लगत्तै उनले प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र बुझाएपछि नयाँ सरकार गठनका लागि संवैधानिक प्रक्रिया सुरु गरिएको हो।



प्रतिक्रिया