गाजा । इजरायल–हमास युद्ध सुरु भएको दुई वर्ष पूरा हुन लाग्दा गाजामा बेपत्ता हुनेको संख्या ९ हजार ५०० नाघेको गाजास्थित नागरिक सुरक्षा निकायले जनाएको छ। निकायका प्रवक्ता महमुद बसालले शनिबार एक विज्ञप्ति जारी गर्दै यो तथ्य सार्वजनिक गरेका हुन्।
उनका अनुसार, युद्धविराम लागू भएयता मात्र नागरिक सुरक्षा कर्मचारीहरूले १५० भन्दा बढी शव फेला पारेका छन्। तर, सीमित स्रोत र उपकरणका कारण खोजी तथा उद्धार कार्यमा ठूलो कठिनाइ भइरहेको उनले बताए।
बसालले अन्तर्राष्ट्रिय रेडक्रस समितिलाई इजरायली अधिकारीहरूसँग समन्वय गरी बेपत्ता व्यक्तिहरूको अवस्थाबारे छानबिन गर्न आग्रह गरेका छन्।
युद्धविराम लागू भएयता करिब तीन लाखभन्दा बढी विस्थापित बासिन्दा दक्षिणी गाजाबाट गाजा सिटी र उत्तरी क्षेत्रमा फर्किएका छन्। तर, अस्थायी आश्रयको अभाव र पूर्वाधारको नष्ट अवस्थाका कारण उनीहरू गम्भीर मानवीय संकटमा परेका छन्।
प्यालेस्टिनी सरकारी सञ्चारमाध्यमका अनुसार, युद्धका कारण गाजामा करिब ३० हजार आवास एकाइ ध्वस्त भएका छन् र ९० प्रतिशतभन्दा बढी नागरिक पूर्वाधार जस्तै—विद्यालय, अस्पताल, बिजुली र खानेपानी प्रणाली—ध्वस्त अवस्थामा पुगेका छन्।
गाजामाथि लगाइएको नाकाबन्दी तत्काल हटाउन र मानवीय सहयोग सहज बनाउन गाजाका अधिकारीहरूले अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेका छन्।
यसबीच, इजिप्टका विदेश मन्त्री बद्र अब्देलाट्टी र अमेरिकी विदेश मन्त्री मार्को रुबियोबीच शुक्रबार राति टेलिफोन वार्ता भएको छ। दुबै मन्त्रीहरूले इजिप्टको शर्म अल शेखमा हुन लागेको गाजा शिखर सम्मेलन सम्बन्धी तयारीबारे छलफल गरेका हुन्।
उक्त सम्मेलन इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसी र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पको सह–आयोजनामा हुनेछ। सम्मेलनमा युद्धविराम सम्झौताका पहिलो चरणको कार्यान्वयन र गाजाको पुनर्निर्माणका लागि विश्वव्यापी सहयोग जुटाउने विषयमा केन्द्रित हुने बताइएको छ।
प्रतिक्रिया