काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नैतिकताको कुरा गर्दै भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग राख्दै संसद् अवरोध गरिरहेका बेला आफ्नै पार्टी सभापति रवि लामिछानेको नैतिकताका बारेमा प्रश्न उठेपछि रास्वपाले सरोकार राख्दै आन्तरिक छलफल थालेको छ ।
आइतबारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले रवि लामिछाने कुन नैतिकताले पार्टी सभापतिमा रहिरहेका छन् ? र उनको पार्टीका सांसदहरूले अन्य पार्टीलाई कुन आधारमा नैतिकताको कुरा गरिरहेका छन् भन्दै प्रश्न गरेका थिए ।
‘सार्वजनिक रूपमा प्रश्न उठेपछि उठेका प्रश्नबारे कसरी जवाफ दिने भनेर हामी आन्तरिक छलफलमा छौँ’, रास्वपाका कार्यबाहक प्रवक्ता मनिष झाले भने, ‘आइतबार पनि एक चरण छलफल भएको छ । आज सोमबार थप छलफल गर्छौँ ।’
विभिन्न सहकारीबाट गैरकानुनीरूपमा रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने रुपन्देही जिल्ला कारागार कार्यालयमा थुनामा छन् ।
उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत छानबिन भइरहेको छ । सोही जानकारी प्रहरीले संघीय संसद् सचिवालयलाई गराएपछि गत पुस ८ गते सभामुख देवराज घिमिरेले लामिछानेको सांसद पद निलम्बनमा रहेको जानकारी गराएका थिए ।
प्रतिक्रिया