• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    महिला टी–२० विश्वकप छनोट : हङ्कङसँग सात विकेटले हार्‍यो नेपाल

    879
    SHARES



    काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोट प्रतियोगितामा मङ्गलवार नेपाली टोली हङ्कङसँग सात विकेटले पराजित भएको छ । जारी प्रतियोगितामा नेपालको यो पहिलो हार हो ।

    टस हारी ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाएर २९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको हङ्कङले भने ४.३ ओभरमै केवल तीन विकेट गुमाएर विजयलक्ष्य पूरा गर्‍यो ।

    वर्षाका कारण खेल निर्धारित समयभन्दा निकै ढिलो सुरु भएको थियो । सोही कारणले खेल पाँच–पाँच ओभरमा झारिएको हो । हङ्कङको जितमा ओपनर सान्जिन सहजादले अविजित १५ रनको योगदान गरिन् । उनले १२ बलमा एक छक्का पनि हिर्काइन् ।

    चौथो नम्बरमा क्रिज समाल्न आएकी मारिको हिलले पनि ११ बलमा ११ रनको योगदान गरिन् । यासविन दसवानी तीन रनमा अविजित रहिन् । हङ्कङले खेलको प्रारम्भमै दुई ब्याट्रलाई गुमाएको थियो । नेपाली टोलीकी बलर कविता कुँवरले दुई विकेट लिइन् ।

    त्यसअघि, नेपालका लागि ओपनर सम्झना खड्काले सात बलमा १० रन बनाएकी थिइन् । उनले एक चौका पनि हिर्काइन् । कप्तान इन्दू वर्माले पनि १० बलमा अविजित नौ रन जोडिन् । रुविना क्षेत्री भने चार रनमा अविजित रहिन् ।

    कविता कुँवरले दुई र पूजा महतोले तीन रन बनाए । नेपालले अतिरिक्त रूपमा एक रन मात्र पाएको थियो । हङ्कङकी बलर मेई वाई सिउले तीन विकेट लिइन् ।

    जारी प्रतियोगितामा समूह ‘सी’ मा रहेको नेपालले खेलेको यो तेस्रो खेल हो । तीन खेलबाट चार अङ्क बटुलेको हङ्कङ तालिकाको पहिलो स्थानमा आसिन छ । तीन खेलबाट तीन अङ्क जोडेको नेपाल दोस्रो स्थानमा छ । दुई खेलबाट एक अङ्क हात पारेको बहराइन तेस्रो स्थानमा छ ।

    यसअघि, नेपाल र हङ्कङबिचको खेल वर्षाका कारण रद्द भएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले बहराइनलाई नौ विकेटले हराएको थियो । नेपाली टोलीले आफ्नो चौथो तथा अन्तिम खेल मे १५ तारिखमा बहराइनसँग खेल्नेछ ।

    प्रारम्भिक चरणको खेलपछि तीन वटै समूहबाट एक–एक टोली प्रतियोगिताको ‘सुपर–३’ चरणमा प्रवेश गर्नेछन् । ‘सुपर–३’ चरणमा भने तीन वटै टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् ।

    प्रतियोगिताको समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड रहेका छन् । समूह ‘बी’ मा भने मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन् । यो प्रतियोगिताबाट दुई टोलीले आगामी महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाउने छन् ।

    विश्वस्तरीय छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । हालसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने तीन टोलीको मात्र टुङ्गो लागेको छ । बङ्गलादेश, स्कटल्यान्ड र अमेरिकाले विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाइसकेका छन् ।

    विश्वस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने सात टोलीको भने टुङ्गो लाग्न बाँकी छ । विश्वस्तरीय छनोट प्रतियोगिताका लागि अब एसियाबाट दुई, युरोपबाट दुई, अफ्रिकाबाट दुई र पूर्वी एसिया–प्यासिफिक क्षेत्रबाट एक टोलीको टुङ्गो लाग्न बाँकी छ ।

    विश्वस्तरीय छनोट प्रतियोगितामा चार टोलीले सन् २०२६ मा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् । त्यसैले एसियाली क्षेत्रको यो छनोट प्रतियोगिता सहभागी टोलीका लागि आगामी विश्वकपमा स्थान बनाउने महत्त्वपूर्ण खुड्किलो हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ