• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    पहलगाम हमला : भारतले सिन्धु जलसन्धि निलम्बन गरेपछि पाकिस्तानले गर्‍यो द्विपक्षीय सम्झौता रद्द

    4.3K
    SHARES



    Pakistan India Kashmir Attack

    काठमाडौं । पाकिस्तानले भारतसँगको व्यापार, हवाइ उठान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरेको छ ।

    जम्मु–कश्मिरस्थित पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले बुधबार चालेको कदमको प्रतिक्रिया स्वरुप पाकिस्तानले बिहीबार यस्तो निर्णय लिएको हो ।

    भारतसँगका सबै द्विपक्षीय सम्झौता स्थगित गर्ने निर्णयअघि पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको थियो । बैठकपछि प्रधानमन्त्री शहबाज शरिफको कार्यालयबाट जारी विज्ञप्तीमा भारतसँगको व्यापार, हवाइ उडान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरिएको उल्लेख छ ।

    पहलगाममा मंगलबार आतंकवादीहरूले २४ पर्यटकसहित २६ जनाको हत्या गरेका थिए । सो आक्रमण पाकिस्तानद्वारा संरक्षित आतंकवादीहरूबाट गराइएको भन्दै भारतले बुधबार पाकिस्तानसँगको सिन्धु जलसन्धि निलम्बन गर्ने निर्णय लिएको थियो ।

    पाकिस्तानले भारतको सो निर्णय अस्वीकार गर्दै पानी रोक्ने वा मोड्ने प्रयासलाई युद्धको कार्य मानिने भन्दै पूर्ण शक्तिका साथ प्रतिक्रिया दिने चेतावनी दिएको छ ।

    पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तान र यसका सशस्त्र सेनाहरू आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न पूर्ण रूपमा सक्षम र तयार छन् ।’

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद्को सुरक्षा मामिला समिति बैठकले सिन्धु जल सन्धि स्थगित गर्ने निर्णय गरेको हो । बैठकले सार्क भिसा छुटअन्तर्गत भारतमा रहेका पाकिस्तानी नागरिकलाई ४८ घण्टाभित्र भारत छाड्न निर्देशन दिएको थियो ।

    यस्तै, नयाँदिल्लीस्थित पाकिस्तानी दूतावासका रक्षा, सैन्य, नौसेना र वायुसेनाका कूटनीतिज्ञलाई अवाञ्चित व्यक्ति (पर्सन नन ग्रान्टा) ठहर्‍याउँदै ७ दिनभित्र देश छाड्न आदेश दिएको थियो । इस्लामावादस्थित भारतीय दूतावासमा रहेका आफ्ना रक्षा, नौसेना र वायुसेनाका सल्लाहकारलाई फिर्ता बोलाउने निर्णयसमेत लिएको थियो ।

    जवाफमा पाकिस्तानले कुनै पनि विश्वसनीय अनुसन्धान र प्रमाणित प्रमाणविना भारतले पहलगाम आक्रमणलाई पाकिस्तानसँग जोड्ने प्रयास गरेको दावी छ । उसले भारतीय कदमलाई एकपक्षीय, अन्यायपूर्ण, राजनीतिक रूपमा प्रेरित, अत्यन्तै गैरजिम्मेवार र कानुनी योग्यतारहित भन्दै टिप्पणी गरेको छ ।

    भारतीय कदमको जवाफमा पाकिस्तानले पनि सार्क भिसा छुट योजनाअन्तर्गत भारतीय नागरिकलाई जारी गरिएका सबै भिसा निलम्बन गरेको छ । इस्लामाबादमा भारतीय उच्चायोगमा कूटनीतिज्ञको संख्या घटाएर ३० पुर्‍याएको छ भने भारतीय रक्षा, नौसेना र हवाई सल्लाहकारलाई ३० अप्रिलअघि पाकिस्तान छोड्न आदेश दिएको छ ।

    यस्तै, पाकिस्तानले सबै भारतीय स्वामित्व वा भारतीयद्वारा–संचालित एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र बन्द तथा भारतसँगको सबै व्यापार निलम्बन गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ