• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    यू–१९ विश्वकपको टिकटका लागि नेपाल र अफगानिस्तान भिड्दै

    885
    SHARES



    काठमाडौँ । सन् २०२६ मा जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुने आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटका लागि स्थान सुरक्षित गर्न नेपाल र अफगानिस्तानको यू–१९ टोली शनिबार निर्णायक भिडन्तमा उत्रने भएका छन्। खेल काठमाडौँको तल्लो मुलपानी मैदानमा बिहान ९:३० बजे सुरु हुनेछ।

    यस खेलमा विजयी टोलीले विश्वकप खेल्ने अन्तिम टिकट पक्का गर्नेछ। एसियाली छनोट अन्तर्गत पाँच टोली सहभागी रहेको प्रतियोगितामा नेपाल र अफगानिस्तान मात्र अपराजित रहँदै शीर्ष स्थानको प्रतिस्पर्धामा उत्रेका हुन्। अन्य टोलीहरू यूएई, ओमान र हङ्कङ प्रतियोगिताबाट बाहिरिइसकेका छन्।

    हालसम्म तीनै खेलमा विजय हासिल गरेका नेपाल र अफगानिस्तानको समान ६ अंक भए पनि नेट रन रेटका आधारमा अफगानिस्तान शीर्ष स्थानमा छ। अफगानिस्तानको नेट रन रेट ४.८१७ रहेको छ भने नेपालको ३.५७६ रहेको छ। यस्तो अवस्थामा नेपालका लागि जित बाहेक अर्को विकल्प छैन।

    बल्लेबाजी र बलिङमा उत्कृष्ट प्रदर्शन
    यस प्रतियोगितामा दुवै टोलीले ब्याटिङ र बलिङमा सन्तुलित प्रदर्शन गर्दै आएका छन्। सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा अफगानिस्तानका खालिद अहमदजाई शीर्ष स्थानमा छन्। उनले तीन खेलमा २०२ रन बनाएका छन्, जसमा एक शतक (१३२ रन) पनि सामेल छ।

    नेपालका नरेन भट्ट र साहिल पटेलले पनि समान ११८ रन बनाएका छन्। निरज कुमार यादवले ८७ रन बनाएका छन् भने अफगानिस्तानका उजैरुल्लाह खानले पनि तीन खेलमा ८७ रन बनाएका छन्।

    बलिङतर्फ नेपालको प्रभुत्व देखिएको छ। नेपालका युवराज खत्रीले तीन खेलमा ९ विकेट लिँदै शीर्ष स्थानमा छन्। उनले ओमानविरुद्ध ५ विकेट लिएका थिए। सन्तोष यादवले ६ विकेट लिएका छन्। अफगानिस्तानका हाफिजुल्लाह जदरान र नुरिस्तानी ओमरजाईले ५–५ विकेट लिएका छन्।

    वर्षाले थपिएको चुनौती
    काठमाडौँमा निरन्तर भइरहेको वर्षाले शनिबारको खेल प्रभावित हुनसक्ने सम्भावना छ। वर्षा अवरोध भएमा नेपाल बढी दबाबमा पर्नेछ किनभने नेट रन रेटमा पछि परेको अवस्थामा नेपाललाई पूर्ण खेल आवश्यक छ।

    विश्वकप छनोटअघि दुवै टोलीबीच तीन एकदिवसीय खेलको शृंखला भएको थियो, जसमा अफगानिस्तानले दुई खेल जितेको थियो भने नेपालले एक खेल डकवर्थ–लुइस प्रणालीमा जितेको थियो।

    १६ टोली सहभागी हुने यू–१९ विश्वकपका लागि अहिलेसम्म १२ टोलीको छनोट भइसकेको छ। आयोजक जिम्बाबे र नामिबिया सहित अघिल्लो संस्करणका आधारमा अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, इङ्ल्यान्ड, न्युजिल्यान्ड, आयरल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले विश्वकपमा स्थान पक्का गरिसकेका छन्। बाँकी चार स्थानका लागि एसिया, अमेरिका, युरोप, र पूर्वी एसिया–प्यासिफिकबाट टोली छनोट हुनेछ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ