काठमाडौँ । हङकङमा जारी चार देशीय टी–२० क्रिकेट शृंखलामा नेपालले पहिलो खेलमै प्रभावशाली जित निकालेको छ। बुधबार सम्पन्न खेलमा नेपालले कतारलाई आठ विकेटको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो।
टस हारेर पहिले ब्याटिङ गरेको कतारले २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रन बनाएको थियो। जवाफमा नेपालले उत्कृष्ट ब्याटिङ प्रदर्शन गर्दै १७ ओभरमै लक्ष्य भेट्टायो।
नेपालका लागि ओपनर कुशल भुर्तेल र आसिफ शेखले सशक्त सुरुवात गरे। दुबैले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गरे। भुर्तेलले केवल १९ बलमा ३८ रन बनाउँदा, आसिफले २१ बलमा ३३ रन जोड्दै टोलीलाई बलियो जग दिए।
दुबै ओपनर आउट भएपछि कप्तान रोहित पौडेल र बसिर अहमदले पारीलाई सन्तुलित ढंगले अगाडि बढाउँदै नेपाललाई जितसम्म पुर्याए। रोहितले अविजित ३७ रन (२९ बलमा) बनाए भने बसिरले ३० रन (३३ बलमा) जोड्दै जित सुनिश्चित गरे।
कतारका लागि कप्तान इक्रमुल्लाह खानले ५४ रनको अर्धशतकीय पारी खेले। उनले ५४ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे। जमिलले ३१ रन, मजिब उर–रहमानले अविजित २० रन, र इर्शादले अविजित १८ रनको योगदान दिए।
नेपालका करण केसी, सोमपाल कामी, नन्दन यादव, गुलसन झा र ललित राजवंशीले समान एक–एक विकेट लिए।
चार देशीय शृंखलामा नेपालसहित हङ्कङ, कतार र कुवेत सहभागी छन्। नेपालले अब बिहीबार कुवेतसँग र शनिबार आयोजक हङ्कङसँग प्रतिस्पर्धा गर्नेछ। लिग चरण सकिएपछि शीर्ष दुई टोलीबीच आइतबार फाइनल खेल हुनेछ।
प्रतिक्रिया