काठमाडौँ । संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति छान्न आगामी नोभेम्बर ५ मा (कार्तिक २० गते) मतदान हुन लागेको छ। तर त्यहाँ राष्ट्रपति निर्वाचित सर्वाधिक मत ल्याएर मात्र पुग्दैन।
अमेरिकामा मतदाताको प्रत्यक्ष मतबाट नभई ‘इलेक्टोरल कलेज’ भनिने निर्वाचक मण्डलले राष्ट्रपति छान्छ। त्यहाँ राज्यहरूलाई मतभार दिइएको हुन्छ, अनि त्यसकै आधारमा परिणामको छिनोफानो हुन्छ।
तसर्थ धेरै सर्वसाधारण मतदाताको समर्थन पाउने उम्मेदवार पनि निर्वाचनमा पराजित हुने सम्भावना रहन्छ। उक्त प्रणाली र राष्ट्रपति निर्वाचित हुने प्रक्रियाबारे हामीले यहाँ चर्चा गरेका छौँ।
इलेक्टोरल कलेज के हो ?
यो निर्वाचनमा अधिकांश अमेरिकीहरूले डेमोक्र्याट उम्मेदवार कमला ह्यारिस वा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पलाई भोट हाल्ने छन्।मतदाताले दिएको मत सीधै उनीहरूलाई जाँदैन। अर्थात् उम्मेवारहरूबीच राष्ट्रव्यापी प्रत्यक्ष प्रतिस्पर्धा हुँदैन, प्रत्येक राज्यमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुन्छ।
जनताले दिएको मत उनीहरूलाई प्रतिनिधित्व गर्ने ‘इलेक्टोरल कलेज’ अर्थात् निर्वाचक मण्डलमा रहने व्यक्तिहरूलाई जान्छ। यो समूहमा रहेका व्यक्तिलाई ‘इलेक्टर’ अर्थात् निर्वाचक भनिन्छ। उनीहरूको काम राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नु हो।
कुनै राज्यमा निर्वाचन जित्नु भनेको उम्मेदवारले सो राज्यसँग भएका सबै इलेक्टोरल कलेज मत हात पार्नु हो। अमेरिकामा ५० राज्य छन्। ती राज्यसँग भएको इलेक्टोरल कलेज मतको कुल सङ्ख्या ५३८ छ।
इलेक्टोरल कलेजको भेला प्रत्येक चार वर्षमा हुने निर्वाचन सकिएपछि केही सातामा आयोजना हुन्छ। त्यही भेलाले राष्ट्रपति र उपराष्ट्रपति छान्छ।
कम्तीमा २७० इलेक्टोरल कलेज मत पाउने उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छन्। निजसँगै उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेको व्यक्ति स्वतः निर्वाचित हुन्छन्।
“कलेज” शब्दले राज्यका तर्फबाट मत दिने निर्वाचकहरूको समूहलाई बुझाउँछ। अमेरिकामा ती व्यक्तिलाई “इलेक्टर” भनिन्छ। यो प्रणाली राष्ट्रपति निर्वाचनमा मात्र प्रयोग हुन्छ। अरू निर्वाचनमा लोकप्रिय मतका आधारमा नै परिणाम आउँछ।
इलेक्टोरल कलेजले कसरी काम गर्छ?
प्रत्येक राज्यमा त्यहाँको जनसङ्ख्याको आकारका आधारमा इलेक्टोरल मतको सङ्ख्या तोकिएको हुन्छ। क्यालिफोर्निया राज्यसँग सर्वाधिक ५४ इलेक्टोरल मत छ। कम जनसङ्ख्या भएका वाइओमिङ, अल्यास्का, नोर्थ डकोटा र वाशिङ्टन डीसीसँग न्यूनतम तीन-तीन मत छ।
सामान्यतया प्रत्येक राज्यमा सबैभन्दा धेरै मतदाताको प्रत्यक्ष मत पाउने पार्टीले राज्यभरिको इलेक्टोरल कलेज मत पाउँछ। उदाहरणका लागि, यदि रिपब्लिकन उम्मेदवारले टेक्सस राज्यमा ५०.१ प्रतिशत मत ल्याए भने निजले उक्त राज्यका सबै ४० इलेक्टोरल कलेज मत हात पार्छन्। राज्यमा ठूलो मतान्तरले जित्ने उम्मेदवारले भनेको निर्धारित सङ्ख्याको इलेक्टोरल कलेज मत नै हो।
तसर्थ उम्मेदवारहरू देशभरि धेरै मतदातालाई आफ्नो पक्षमा उभ्याउनेभन्दा पनि मत जता पनि ढल्किन सक्ने भएकाले कडा प्रतिस्पर्धा हुने ‘स्विङ स्टेट’ भनिने राज्यहरूमा विशेष मेहनत गर्छन्।
उम्मेदवारले केही राज्यहरूमा निकै कम मतान्तरबाट चुनाव जितेको र देशभरिको समग्र मत कम पाएको अवस्थामा पनि राष्ट्रपति बन्ने सम्भावना रहन्छ।
सन् २०१६ मा डोनल्ड ट्रम्पले देशभरिबाट पाएको मतको सङ्ख्या हिलरी क्लिन्टनको भन्दा ३० लाख कम थियो। सन् २००० मा जोर्ज डब्ल्यू बुशले एल गोरलाई पराजित गरेको भए पनि गोरले पाएको मत बुशकोभन्दा झन्डै पाँच लाख बढी थियो।
उन्नाइसौँ शताब्दीमा तीन उम्मेदवारहरू आफ्ना निकटतम प्रतिद्वन्द्वीको भन्दा कम लोकप्रिय मत पाएर पनि राष्ट्रपति निर्वाचित भएका थिए। बीबीसी नेपाली
प्रतिक्रिया